फागुन २८, काठमाडौँ | नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
२५ फागुनमा राष्ट्रपति चुनिएका पौडेलले कांग्रेसका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै केन्द्रीय कार्यालयसमक्ष आइतवार राजीनामा बुझाएका हुन् ।
‘हाम्रो दलबाट राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामचन्द्र पौडेलले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्नुभएको छ’ कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने ।
पौडेल कांग्रेसमा कार्यवाहक सभापति, उपसभापति, महामन्त्री भएका थिए । उनी २०४८ सालयता २०७४ बाहेक सबै चुनावमा जित्दै आएका थिए ।
उनी सभामुख र पटक–पटक मन्त्री पनि भए । पौडेलले भोलि चौथो कार्यकालको राष्ट्रपतिका लागि शपथ ग्रहण गर्दैछन् ।