(कमल खत्री) | कात्तिक १३, म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकाद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

(कमल खत्री) | कात्तिक १३, म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकाद"/>

2026-09-18 08:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

सहयोग जुटाउन देउसी भैलो, मौलिकता जोगाउने कमै चिन्ता

(कमल खत्री) | कात्तिक १३, म्याग्दी । तिहारको सुरुवातसँगै देउसी भैलोको रौनक पनि सुरु भएको छ । यतिखेर सहरदेखि गाउँसम्म विभिन्न समूह देउसी भैलोमा झुमिरहेका छन् । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धालाई समेत देउसी भैलोले छोएको छ । यहाँ देउसी भैलोमा प्रस्तुत गरिने लोपोन्मुख परम्परागत संस्कृतिले सर्वसाधारणलाई आकर्षित गरेको छ । 

बेनीस्थित सुनचाँदी व्यवसायी कमल विश्वकर्माले थाली नाच, पुख्र्यौली नृत्य जस्ता परम्परागत संस्कृतिसहित बेनीमा देखाइने देउसी भैलो जिल्लाकै आकर्षक भएको बताउनुभयो । परम्परागत रुपमा रहेका विभिन्न जातजातिका लोपोन्मुख संस्कृतिहरुलाई देउसी भैलोमा समावेश गर्दा कला संस्कृति संरक्षणमा टेवा पुग्ने उहाँको धारणा छ । 

बेनीमा नेपाल मगर सङ्घ, छन्त्याल सङ्घ लगायत विभिन्न समूहले देउसी भैलो खेल्न सुरु गरेका छन् । अधिकाँश देउसी भैलोमा मौलिक संस्कृतिको प्रदर्शन हुँदा देउसी भैलोको अवलोकन गर्नेहरुको समेत भीड लाग्ने गरेको छ । देउसी भैलोमा जिल्लामै लोकप्रिय मानिने थाली नाच, मादले मारुनी, सालैजो, कौडा, सिरफुले पुख्र्यौली नृत्य लगायतलाई प्राथमिकता दिने गरिएको नेपाल मगर सङ्घ म्याग्दीका सचिव लोकेश पुनमगरले बताउनुभयो । 

“कला संस्कृतिकै जगेर्नाका लागि देउसी भैलो खेलिएको हो, हामीले देखाउने पुराना संस्कृतिले यहाँका बासिन्दालाई समेत प्रभावित बनाएको पाएका छौँ, यहाँबाट सङ्कलन हुने दान रकम समेत लोपोन्मुख संस्कृतिको संरक्षणसँगै सङ्घको भवन मर्मत र व्यवस्थापनमा खर्चिने योजना बनाएका छाँै,” सचिव पुनले भन्नुभयो । जिल्लामा रहेका जनजाति समुदायको देउसी भैलोमा उनीहरुले आफ्ना मौलिक संस्कृतिलाई बढावा दिइरहेको पाइएको छ । 

सामाजिक काममा सहयोग जुटाउन सहयोगी 

जिल्लाको पिप्ले गाविसको मौवाफाँटमा रहेको ज्ञानोदय माविले विद्यालयका निजी स्रोतका शिक्षकको तलब जुटाउन देउसी भैलो सुरु गरेको छ । विद्यालयका निजी स्रोतका शिक्षकलाई वार्षिक लाखौँ रुपैयाँ जुटाउन कठिन भएपछि विद्यालयले यो वर्ष तिहारको अवसरमा देउसी भैलो सुरु गरेको हो ।

तिहारको अवसरमा देउसी भैलो खेलेर सङ्कलन हुने रकम निजी स्रोतका शिक्षकको तलब जुटाउन उपयोग गरिने विद्यालयका प्रधानाध्यापक नीलकण्ठ सुवेदीले बताउनुभयो । ज्ञानोदय माविसँगै जिल्लाका दर्जनौँ विद्यालयले तिहारको अवसरमा देउसी भैलोमार्फत विद्यालयको आन्तरिक स्रोत जुटाउने गरेका छन् । 

परम्परागत रुपमा मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलो पछिल्लो समय कला संस्कृतिको जगेर्नासँगै सामाजिक कार्यका लागि आर्थिक सङ्कलनको प्रभावकारी माध्यम बनेको पाइएको छ । 

मनोरञ्जनका लागि मात्रै खेलिने देउसी भैलोमा सङ्कलन हुने दान दक्षिणाले मङ्सिर महिनामा वनभोज खाने चलन रहेपनि अहिले भने सामाजिक काममा खर्चिने चलन बढेको छ । 

पछिल्लो समय विशेष गरी सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घ संस्थाको संस्थागत विकास जस्ता उद्देश्य राखेर देउसी भैलो खेल्ने परिपाटीको विकास भएको छ । स्थानीय स्तरमा मात्रै होइन प्रवासमा रहेका म्याग्देलीहरुले समेत जिल्लाको विभिन्न क्षेत्रमा सहयोग जुटाउने उद्देश्यले भैलो खेलेका छन् । 

हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) हङकङले सामाजिक कार्यकर्ता महावीर पुनको नेतृत्वमा स्थापना हुन लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि देउसी भैलोबाटै करिब रु ४० लाख सङ्कलन गरिसकेको कार्यक्रम संयोजक दल शेरबुजाले जानकारी दिनुभयो ।

मौलिक संस्कृतिमा अतिक्रमण बढ्यो 

तिहारका अवसरमा खेलिने परम्परागत देउसी भैलोमा पछिल्लो समय आनुनिकीकरणको प्रभाव बढेको पाइएको छ । विशेष गरी युवायुवतीहरुको देउसी भैलोमा मौलिकपन हराउँदै जाँदा देउसी भैलोको मर्म नै मेटिने खतरा बढेको भन्दै बूढापाकाले चिन्ता प्रकट गर्न थालेका छन् । पछिल्लो समय रेकर्ड भएका गीत तथा पाश्चात्य संस्कृतिको प्रभाव देउसी भैलोमा ह्वात्तै बढेपछि देउसी भैलोमा मौलिकताको प्रश्न उठ्न थालेको हो । 

पहिलेको देउसी भैलो भावनात्मक हुने गरेपनि अहिलेको देउसी भैलो भने युवायुवतीहरुको मनोरञ्जनमा मात्रै सीमित भएको बेनीका ७७ वर्षिय प्रेमप्रकाश पौडेलले बताउनुभयो । 

“हाम्रो पालामा अहिलेको जस्तो प्रविधि थिएन, मादल र बाँसुरीको सङ्गीतमा भाइबहिनीका कथा व्यथाहरु देउसीमार्फत गाउने गथ्र्यौं, अहिलेको देउसी भैलोमा भावनात्मक कथा व्यथा भन्दापनि मनोरञ्जनलाई मात्रै बढी प्राथमिकता दिइएको छ,” पौडेलले आफ्नो अनुभव सुनाउनुभयो । 

पहिले कन्या र विशेष गरी महिलाहरु मात्रै देउसी खेल्ने र पुरुषहरु जुवा खेल्ने गरेको स्मरण गर्दै उहाँले अहिले महिला र पुरुष दुबै सहभागी भएर देउसी भैलो खेलेको देख्दा निकै खुसी लागेका बताउनुभयो । यहाँका अग्रज कलाकारहरु पनि देउसी भैलोमा आधुनिकीकरणको प्रभाव बढ्नु स्वाभाविक रहेपनि देउसी भैलोको खास महत्व र मर्मलाई भने हराउन दिन नहुने बताउँछन् । 

विशेष गरी घरघरमा पुगेर बालबालिकादेखि किशोरकिशोरी, युवायुवतीहरु सामूहिक रुपमा देउसी भैलो गाउँदै नाच्दै आशिष दिने र घरधनीले दिने दान रकम लिने चलन छ । धार्मिक ग्रन्थहरुका अनुसार भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको विश्वास गरिन्छ । 

देउसी भैलोलाई मनोरञ्जनसँगै पुराना संस्कृतिको संरक्षण र सामाजिक काममा सहयोग जुटाउने माध्यम बनाउनु सकारात्मक पक्ष मानिए पनि कहीँ कतै जबर्जस्ती चन्दा उठाउने गरेका गुनासाहरु पनि बढ्न थालेका छन् । त्यसैले परम्परागत चाडपर्वलाई आफ्नो मौलिकता नहराउने गरी मनाउने परिपाटी बसाल्न सकेमात्रै ऐतिहासिकताका जगेर्ना हुन्छ र साँस्कृतिक महत्वले जीवन्तता पाउँछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई