पढ्न करिब 2 मिनेट लाग्छ

दिनेश ठकुल्ला/चैत ७, धनगढी । आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा २ सय ३२ वटा मतदान स्थल निर्धारण गरिएका छन् । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने मतदान स्थल सिफारिस समितिले २ सय ३२ मतदान स्थल राख्ने तय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा रहेको सिफारिस समितिको धनगढीमा दुई दिनसम्म बसेको बैठकले १७ वटा निर्वाचन स्थल थप्ने तय गरेको छ ।

सोमबार बस्ने समितिको बैठकले निर्णयलाई औपचारिक रुप दिने सहमति भएको समितिका सदस्य सचिव क्षेत्रीय निर्वाचन अधिकारी मोहनप्रसाद अर्यालले बताउनुभयो । उहाले जनसंख्या र पायक पर्ने आधारमा १७ वटा मतदान स्थल थप गर्न लागिएको बताउनुभयो ।

२०७० सालमा भएको संविधान सभाको चुनावमा २ सय १५ मतदान स्थल रहेको कैलालीमा आगामी बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मतदान स्थल बढाइएका हुन् । राजनीतिक दलका प्रतिनिधिसमेत सहभागि भएको बैठकले मतदान केन्द्र तय गरेको हो ।

स्थानीय तहको पुनसंरचनामा कैलालीमा १३ वटा स्थानीय तह कायम गरिएका छन् । जिल्लामा रहेका १३ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी ३३ वटा मतदान केन्द्र धनगढी उपमहानगरपालिमा राखिने छन् । सबैभन्दा कम बर्दगोरिया गाउँपालिकामा १० मतदान स्थल तोकिएका छन् ।

गोदावरी नगरपालिकामा २२, जानकी गाउँपालिकामा २१, कैलारी गाउँपालिकामा २०, लम्की–चुहा नगरपालिका र भजनी नगरपालिकामा १८/१८ मतदान स्थल राख्ने सहमति भएको क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले जानकारी दिनुभयो ।

त्यस्तै, गौरीगंगा र घोडाघोड नगरपालिकामा १७/१७, टीकापुर नगरपालिकामा १६, मोहन्याल गाउपालिकामा १४, जोशीपुर र चुरे गाउपालिकामा १३/१३ मतदान स्थल राखिने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ ।

स्थानीय तहको नयाँ सरचनाअनुसार केही वडा परिवर्तन भएका कारण मतदान स्थल थप्नु परेको क्षेत्रीय निर्वाचन अधिकृत अर्यालले बताउनुभयो । धनगढीमा नयाँ केन्द्र थपिएका छैनन् । केही ठाउँमा केन्द्र परिवर्तन गरिएका उहाले बताउनुभयो ।

जिल्लामा ४ लाख ४ हजार ८ सय ९९ मतदाता संख्या रहेको क्षेत्रीय निर्वाचन कार्यायले जनाएको छ । सो कार्यालयका अनुसार बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि कैलालीमा २६ दल दर्ता भएका छन् ।