पढ्न करिब 9 मिनेट लाग्छ

-मनहरि तिमिल्सिना

प्रचण्ड नेतृत्वको सरकारले सिंहदरबारको अधिकार गाउँ र नगरमा प्रत्यायोजन गरी स्थानीय तहको पूनर्संरचना भएपछि सबैको ध्यान गाउँपालिका र नगरपालिकामा केन्द्रित भएको छ । पूर्वमन्त्रीदेखि बहालवाला सांसद समेत गाउँपालिका र नगरपालिका प्रमूखका आकांक्षी देखिनुले विद्यमान गाउँ र नगरमा कति धेरै अधिकार छ भन्ने कुरा स्पष्ट गर्दछ ।

स्थानीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सहित सम्पूर्ण अधिकार केन्द्रित भएसँगै विकासको मार्गचित्र कस्तो हुने ? स्थानीय तहको नीतिगत संरचना, साधन स्रोतहरुको परिचालन र भौतिक पूर्वाधारहरुको अवस्था कस्तो हुने ? यसबारे गम्भीर बहस आवश्यक देखिन्छ । यद्यपि, आजको दिनसम्म पार्टीबाट टिकट लिने, चुनाव लड्ने, जित्ने र मेयर, उपमेयर भइछाड्ने आकांक्षा बाहेक विकास र समृद्धिको ठोस मार्गचित्रमा कमैको ध्यान गएको देखिन्छ । चुनाव जित्नेभन्दा विकास र समृद्धिको मार्गचित्रमा ध्यान केन्द्रित होस् भन्ने उद्धेश्यले मोदी गाउँपालिकामा विकासको नीतिगत मार्गचित्रमा बहस केन्द्रित गर्न आवश्यक ठान्दछु ।

मोदी गाउँपालिका नेपालका गाउँपालिकामध्ये धेरै सम्भावनायुक्त गाउँपालिका हो । यो जलस्रोत, जलविद्युत, पर्यटन, कृषि, जडीबुटी लगायतका प्राकृतिक साधन स्रोतका दृष्टिले अत्यन्तै अग्रस्थानमा छ । मोदीमा पूर्वाधारका दृष्टिले प्रत्येक टोल र बस्तीसम्म खानेपानी, सडक, सिंचाई, सञ्चार, शिक्षा लगायतका प्रारम्भिक पूर्वाधारहरु छन् । सामाजिक र मानव विकास सूचाकांकका दृष्टिले समेत मोदी गाउँपालिका अग्रस्थानमै मानिन्छ । शैक्षिक एवं सामाजिक जागरणका दृष्टिले समेत यसको आफ्नै गुरुत्व छ । तर, अब मोदीमा विकासको मार्गचित्र कस्तो हुने ? यतातिर सोच्नै पर्दछ ।

जतिसुकै साधन स्रोतले सम्पन्न होस्, पूर्वाधार विकास, स्थानीय साधन स्रोतको बहुआयमिक परिचालन र स्थानीय कानूनको तर्जुमामा गतिशील नेतृत्व भएन भने त्यस्ता गाउँ र नगरहरुको भविष्य नै धरापमा पर्न सक्छ । संघीय संरचनाको अभ्यास गरिएका छिमेकी भारतकै कैयौं प्रान्तहरुको बर्तमान अवस्थाबाट हामीले शिक्षा लिन सक्दछौं ।

भारतमै कतिपय प्रदेशहरु यस्ता छन्, जहाँ प्राकृतिक साधन स्रोत प्रशस्त छन् । तर, गतिशील नेतृत्व छैन । अनि, कतिपय प्रान्तमा साधन स्रोतको कमि भएर पनि गतिशील नेतृत्वका कारण विकासको यात्रामा निकै अगाडि बढिसकेका छन्, यो यथार्थता भोलि नेपालमा पनि देखिनेछ । त्यसैले आगामी दिनमा मोदीको विकासले उन्नतिको यात्रा तय गर्छ वा अवनतिको ? त्यो नेतृत्वकै ईच्छाशक्ति, गतिशीलता र विकासको दृष्टिकोणमा भर पर्नेछ ।

माटेको ढुङ्गा खानीको मोदीको महत्वपूर्ण प्राकृतिक स्रोत हो । यसको सदुपयोग र भविष्यमा निम्तिन सक्ने भौगर्भिक जोखिम मध्यनजर गरेर मात्रै यसको सही व्यवस्थापन गर्न सकिन्छ । निश्चित गुरुयोजना बिना बेहिसाब दोहनले ढुङ्गा खानीको आधुनिक प्रयोग र व्यवस्थापन असम्भव हुन्छ । त्यसका लागि माटेको ढुङ्गा खानीको उपयोग, दीर्घकालीन संरक्षण र आधुनिक बजारको ठोस योजना आवश्यक छ । स्थानीय आकांक्षीहरुको दृष्टि यतातिर पुग्नै पर्दछ ।

जलसम्पदाका दृष्टिले मोदी अग्रस्थानमा छ । मोदी खोलाबाट उत्पादन हुने विद्युतले देशकै अर्थतन्त्र र विकासमा महत्वपूर्ण टेवा पु¥याएको छ । निर्माणाधीन आयोजनाहरु सम्पन्न हुँदा त्यसले गाउँपालिकाकै आर्थिक परिचालनमा गुणात्मक अर्थ राख्दछ । हामीले मोदीबाट उत्पादित विद्युत नेपाली बजारमा बिक्री गरेर स्थानीय खोलाहरुबाट उत्पादन हुनसक्ने विद्युत मोदीका लागि खपत् गर्ने नीति लिन सक्दछौं ।

रतिखोला, पातिखोला, जरेखोला, भुरुङ्दी खोला लगायतका खोलाहरुमा लघु जलविद्युतको योजना अघि सार्न सक्यौं भने स्थानीय खोलाहरुबाट उत्पादन हुने विद्युतले मात्रै हाम्रो ग्राहस्थ विद्युतको माग पुरा गर्न सक्छ । औद्योगिक विद्युतको आपूर्तिमा समेत यसले केही योगदान गर्ने निश्चित छ । यसरी हेर्दा मोदीले स्थानीय खोलाबाट विद्युत उत्पादन गरी आफ्नो स्थानीय आवश्यकता परिपूर्ति गर्न र ठूला आयोजनाहरुबाट उत्पादन हुने विद्युतलाई नेपाली बजारमा बिक्री गर्न, आयोजनाहरुबाट प्राप्त रोयल्टीलाई विकासका अन्य कार्यमा उपयोग गर्न सक्दछ ।

पूर्वाधार विकासका दृष्टिले मोदी कमजोर छैन । तर, नयाँ संरचनामा गाउँपालिका कार्यालय पनि अस्थायी रुपमै सञ्चालन गर्नुपर्ने अवस्था छ । अर्कोतिर गाउँपालिकाको केन्द्रको रुपमा रहेको पातिचौर र आसपासका क्षेत्रमा सरकारी स्वामित्वको जमिन अभावले पूर्वाधार विकासमा केही अन्यौल देखिन्छ । तर, हामीसँग विकासको ठोस मार्गचित्र हुँदा त्यो कुनै ठूलो समस्याको विषय होइन । विद्युत लगायतका सबै सरकारी संरचना र अंगहरु गाउँपालिकाकै अधिनस्थ रहने हुँदा त्यसको परिचालनमा गाउँपालिका आफै स्वतन्त्र छ । अर्कोतिर, बजार क्षेत्रको आसपास रहेको कुनै पनि जमिनलाई गाउँपालिकाको प्रशासनिक पूर्वाधार विकासका लागि उपयोग गर्न सकिन्छ ।

यातायातका दृष्टिले सबै वडा र टोलहरुमा कच्ची सडक पुगेपनि गुणस्तर निकै कमजोर छ । पोखरा–बाग्लुङ राजमार्गको अवस्था समेत राजमार्गको जस्तो छैन । गाउँपालिकाका मूख्य सडक मानिएका पातिचौर, बाजुङ, क्याङ सडक, पातिचौर, मैदान, पूर्णागाउँ, क्याङ सडक, पातिचौर, टिमुरे, क्याङ सडक, डिमुवा, ठाना, गिज्यान सडक, नयाँपुल, लप्सीबोट, भुक, झिलिबर्याङ सडक, डिमुवा, तिलाहार, दराक, चित्रे सडक, दोविल्ला, पकुवा सडक, डिमुवा, तिलाहार, राम्जा सडक, भदौरे, चित्रे, राम्जा सडक, डिमुवा, तिलाहार, थामार्जुङ सडक, कुश्मा, दुर्लुङ, क्याङ सडक, पातिचौर, कंडेन, मोहरिया, भुक सडक जस्ता सडक योजनाहरु व्यवस्थित बनिसकेका छैनन् । यी सबै सडक योजनाहरुको कालोपत्रे गर्नुपर्ने अवस्था हाम्रासामू छ । यसको बजेट व्यवस्थापन कसरी गर्ने ? त्यसका स्थानीय स्रोतहरु के–के हुन सक्छन् ? यतातिर बहस आवश्यक छ ।

उल्लेखित सडक योजनाका अतिरिक्त मोदीमा थुप्रै सडकहरु छन्, तिनीहरुको स्तरोन्नति र केही नयाँ सडकहरुको निर्माण मोदीको आवश्यकता हो । गाउँपालिकाको चक्रपथ निर्माणको नीति पनि हामीले अघि सार्नुछ । दोविल्ला, पकुवा, राम्जा, चित्रे, तिलाहार, भुक, भमरकोट, लेसपार, बाजुङ हुँदै अम्बोट जोड्ने चक्रपथको अवधारणा अघि सार्न सकिन्छ । यसका लागि कतिपय स्थानमा पुरानै ट्रयाकलाई उपयोग गर्न सकिने र कतिपय स्थानमा नयाँ ट्रयाक पनि खोल्नुपर्ने हुन्छ । चक्रपथको अवधारणाले मोदीको विकासमा गुणात्मक महत्व र अर्थ राख्ने छ ।

पूर्वाधार विकासमा विद्यालय, खानेपानी, सिंचाई लगायतका क्षेत्रमा भौतिक निर्माणको काम सन्तोषजनक छैन । गाउँपालिकाका मूख्य शैक्षिक संस्थाहरु नवजागृत बहमूखी क्याम्पस, नवजागृत उ.मा.वि., पशुपति उ.मा.वि., जननेत्र उ.मा.वि., महेन्द्र शिखरी उ.मा.वि., जनसिद्ध मा.वि., मंगलोदय मा.वि., सरस्वती मा.वि., भूकताङ्ले मा.वि., सेराबेंशी मा.वि., सालिजा मा.वि., हिमालय मा.वि. मूख्य रहेका छन् । शैक्षिक गुणस्तर र अतिरिक्त ज्ञानका दृष्टिले विगतमा अग्रस्थानमा रहेपनि वर्तमानमा यी शैक्षिक संस्थाहरुको गुणस्तरमा सन्तुष्टि लिने अवस्था छैन । गुणस्तर, जनशक्ति व्यवस्थापन र पूर्वाधार विकासका दृष्टिले समेत यिनीहरुको स्तरोन्नति गर्नुपर्ने आवश्यकता हाम्रासामू छ ।

शैक्षिक दृष्टिले नवजागृत बहमूखी क्याम्पस नै मोदीको शैक्षिक केन्द्र हो । तर, यसलाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न बौद्धिक जनशक्तिको केन्द्रिकरण, कुशल व्यवस्थापन र प्रशासन, प्राज्ञिक जनशक्तिको व्यवस्था, प्राविधिक शिक्षाको व्यवस्था जस्ता आयामहरु जोड्न आवश्यक छ । यसका साथै गाउँपालिकामा कृषि, पशु र पर्यटनसँग सम्बन्धित विषयहरुलाई लक्षित गरी कलेज र प्राविधिक शिक्षालयहरुको स्थापना गर्नेतिर हाम्रो जोड हुनुपर्दछ, जसले मोदीको प्राकृतिक साधन स्रोतलाई जनताको जीवनसँग जोड्न र मानव विकास सूचाकांकमा गुणात्मक योगदान गर्न सक्दछ ।

मोदीको अर्को सम्भावना पर्यटन हो । पञ्चासे, माटे, हलहले, लेसपार, भमरकोट, जलजला र घोरेपानी मोदीका पर्यटकीय गन्तव्य हुन् । मोदीमा होमस्टेको अवधारणा अघि सारिएपनि आजसम्म परिणाममूखी हुन सकेको छैन । राम्जा, चित्रे, थामार्जुङ, भूक, देउराली, क्याङ लगायतका स्थानमा रहेका होमस्टेहरुलाई व्यवस्थित गर्ने योजना नेतृत्वमा जरुरी छ । मोदी गाउँपालिकाकै बृहत छाताभित्र विद्यमान होमस्टेहरुको स्तरोन्नति र नयाँ होमस्टेको अवधारणा अघि सारियो भने त्यसले पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान गर्न सक्छ । यसले मोदीको प्रतिव्यक्ति आय मात्रै नभएर गाउँपालिकाको विकासमा समेत योगदान गर्न सक्दछ ।

पर्यटनका दृष्टिले मोदीमा मूख्य चार योजना आवश्यक छ । पहिलो, पर्यटकीय गन्तव्य र सम्भावित नयाँ गन्त्यव्यहरुको खोजी गरी पर्यटकीय पदमार्गलाई व्यवस्थित गर्नु । दोस्रो, पर्यटकको आकांक्षा बमोजिम पूर्वाधार निर्माण, सुरक्षाको प्रत्याभूति र पर्यटनमैत्री संस्कारमा जोड गर्नु । तेस्रो, गाउँपालिकाभित्र होमस्टेको व्यवस्थित अवधारणा अघि सार्नु । चौंथो, पञ्चासे, माटे, जलजला, भमरकोट लगायतका स्थानमा केवुलकार लगायतका पूर्वाधार निर्माणको गुरुयोजना तयार गरी योजनावद्ध विकासमा जोड गर्नु । यी चार योजनालाई व्यवस्थित रुपमा अघि लैजान सकियो भने मोदीको पर्यटनले छलाङ हान्ने निश्चित छ ।

मोदीको अर्को महत्वपूर्ण सम्पदा जडीबुटी हो । सत्तुवा, हर्रो, बर्रो, चिराइतो, अमला, बोझो लगायतका बहुमूल्य जडीबुटी गाउँपालिकामा छन् । पञ्चासे, जलजला, थलथले लगायतका स्थानमा भएका जडीबुटीलाई प्रशोधन गरी बजारीकरण गर्न सक्दा मोदीकै मुहार फेरिन सक्छ । यसका लागि चित्रे, भूकताङ्ले वा लेसपारमध्ये एक स्थानमा जडीबुटी प्रशोधन केन्द्रको स्थापना गरी गाउँपालिकाका जडीबुटीहरुको प्रशोधन र बजारीकरण गर्ने नीति अघि सार्नु पर्दछ, जसले गाउँपालिकाकै समग्र संशाधन उपयोगको प्रतिनिधित्व गरोस् ।

कृषि र पशुपालनका दृष्टिले मोदी अहिले पनि जिल्लामै अग्रभागमा छ । कृषिजन्य उत्पादनका दृष्टिले धान, मकै, कोदो, गहुँ, आलु लगायतका खाद्यान्न बाली र सुन्तला, कफी, अलैंची लगायतका नगदे बाली यहाँका मूख्य बाली हुन् । तर, तिनीहरुको आधुनिक उत्पादन, भण्डारण र बजारीकरण हाम्रा चूनौति हुन् । समूहवद्ध र योजनावद्ध उत्पादनमा जोड गर्ने, त्यसको सुरक्षित भण्डारणको व्यवस्था गर्ने र बजारीकरणको व्यवस्थित प्रबन्ध गरेर हामीले कृषिमा आत्मनिर्भर मात्रै होइन, निर्यातको सामथ्र्य पनि राख्न सक्दछौं । त्यसका लागि गाउँपालिकाभित्र एक खाद्यान्न शीत भण्डार, एक आधुनिक डेरी, एक कृषि शिक्षालय वा तालिम केन्द्रको स्थापना गरेर कृषि क्षेत्रको प्रवद्र्धन गर्न सकिन्छ ।

मोदीको अर्को सम्भावना सूचना, प्रविधिको विकास हो । सूचना, प्रविधिमा आएको गुणात्मक विकासलाई हामीले राम्रोसँग पक्डेर मात्रै मोदीको विकासलाई तिब्रता दिन सकिन्छ । त्यसका लागि प्रत्येक वडा र टोलहरुमा सार्वजनिक पुस्तकालय, सूचना केन्द्र र सूचना, प्रविधि प्रशिक्षणशालाहरुको स्थापना हाम्रो योजनामा हुनैपर्दछ । वैदेशिक रोजगारीमा अधिकांश नागरिक रहेको हाम्रोजस्तो मुलूकमा यसले शिक्षा, चेतना, रोजगारी सिर्जना र सामान्य नागरिकलाई समेत यिनीहरुको उपयोग गरेर आफ्नो जीवनलाई व्यवस्थित गर्ने अवसर प्रदान गर्नेछ ।

गाउँपालिकाको भौतिक र मानवीय विकासका दृष्टिले हाम्रा प्रमूख तीन चुनौति छन् । पहिलो, रोजगारीको अवसर सिर्जना गर्नु, दोस्रो, भूक्षयबाट मानव बस्ती र खेतीयोग्य जमिनको संरक्षण गर्नु, तेस्रो, बिपन्न नागरिकलाई विकासको समान पहुँचको अवस्था सिर्जना गर्नु । यी तीन चुनौतिको व्यवस्थापन गरेर मात्रै हामीले अवसरलाई चुनौतिमा बदल्न सक्छौं ।

बैशाख ३१ को निर्वाचनपछि विकास र बजेटका लागि केन्द्र ताक्ने परम्पराको अन्त्य हुनेछ । त्यसपछिको सम्पूर्ण अवसर, चुनौति र कार्यभार गाउँपालिकाकै थाप्लोमा आउनेछ । पहिलो पाँच वर्षमा जनप्रतिनिधिहरुको काँधमा पूर्वाधार विकास, स्थानीय साधन स्रोतहरुको व्यवस्थित परिचालन र स्थानीय कानूनहरुको तर्जुमाको ठोस जिम्मेवारी थपिनेछ । यसलाई कसरी बहन गर्नेछन् ? गाउँपालिका र नगरपालिकाको भविष्य पनि त्यसैमा निर्भर रहनेछ ।

साधन स्रोत मात्रै सम्पूर्ण चीज होइन । फेरि पनि मूख्य कुरा नेतृत्व, नेतृत्वको ईच्छाशक्ति, विकासको दुरदृष्टि, इमान्दारिता र व्यवस्थित कार्ययोजना नै हो । के गाउँपालिकाका मेयर र उपमेयरका दाबेदारहरुले चुनाव जित्ने र कुर्सीमा बसिहाल्ने सोंचबाट माथि उठेर गाउँपालिकाको विकास र समृद्धिको तस्वीर कोर्न सक्छन् ? के संघीय व्यवस्थाको मर्मअनुसार स्थानीय साधन स्रोतको सदुपयोगको मार्गचित्र प्रस्तुत गर्न सक्छन् ? के संघीय व्यवस्थाअनुसार स्थानीय कानून तर्जुमामा आफूलाई अब्बल साबित् गर्न सक्छन् ? के राजनीतिलाई सेवाभावद्वारा प्रेरित मानव कर्मका रुपमा लिन सक्छन् ? यसैमा मोदीको विकास र भविष्य लुकेको छ ।