पढ्न करिब 3 मिनेट लाग्छ

लोकेन्द्र प्रशाद जोशी | असार १७, दार्चुला । स्थानीय तहले वातावरणीय प्रभाव अध्ययन नगरी सडक निर्माण गरेपछि ठाउँठाउँमा पहिरो आउन थालेको छ । वातावरणीय प्रभाव अध्ययन गरेर मात्र सडक निर्माण गर्नुपर्ने व्यवस्था भएपनि दार्चुलाका कुनै पनि स्थानीय तहले ईआईए अद्ययन नगरीकनै सडक खनिरहेका छन् । दार्चुला जिल्लाका ७ स्थानीय तहले चालु आर्थीक वर्षमा मात्रै ४४ सडक निर्माण गरेका छन् ।

सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम थालिएपनि बिहीबार रातीबाट शुरु भएको वर्षाका कारणले जिल्लाको ठाउँ ठाउँमा पहिरो जान थालेको छ । सडकको कारण नौगाड गाउँपालिकाको विभिन्न क्षेत्रमा पहिरो आएको छ । नौगाड गाउँपालिका ३ खार क्षेत्रमा पहिरोका कारण तीन चार वटा पसल जोखिममा परेका छन् । सडक माथि रहेका पसलहरु जोखिममा रहेको गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए । तल सडक काटिएको छ, माथिबाट पहिरो खसेको छ । पहिरोको जोखिमको अवस्था अध्ययन गर्न गाउँपालिकाले इन्जिनियर खटाइएको धामीले बताए । यस्तै सिप्टी जाने सडकहरुमा पनि ठाउँ ठाउँमा पहिरो गएको छ । विकास गर्दा विनास हुने भएकोले ब्यबस्थापन गर्न गाउँपालिका तयार रहेको धामीको भनाइ छ ।

नौगाड गाउँपालिकाले पालिका भित्र यस आर्थिक वर्षमा छ वटा सडक योजना निर्माण गरेको थियो । स्थानीय तहले स्काभेटर मेसिनहरुको प्रयोग गरेर सडक निर्माण गर्दा स्थानीयले रोजगारी समेत नपाएको गुनासो गरेका छन । सडकको नाममा विकास देखिदै थियो, तर वर्खा लागेपछि विनास देखिन थालेको स्थानिय रघुबिरसिह ठगुन्नाले बताए ।

यस्तै १३ सडक निर्माणको योजना बनाएको शैल्यशिखर नगरपालिकाले १० सडकको निर्माण कार्य चालु आर्थिक वर्षबाट सुरु गरेको छ । शैल्यशिखरको निर्माणाधीन बगोरा–आगर सडकले सिंँचाइ नहर र सो क्षेत्रमा रहेको पानीको मुहानमा असर पुगेको स्थानीयले जनाएका छन । १५ लाखको सडकले करोड बढी लागतमा निर्माण गरिएको बृहत् खानेपानीको लाइनमा क्षति पुर्याएको ग्वानीका स्थानीय इन्द्रसिंह साउदले बताए ।

यस्तै मालिकार्जुन गाउँपालिकाले ११ मध्ये ६ सडकको चालु आवबाटै निर्माण सुरु गरेको छ । ऐरिछना सडक निर्माणका कारण उक्त क्षेत्रमा पहिरो जाने र महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्ड अवरुद्ध हुने सम्भावना बढेको छ । भने मालिकार्जुन गाउँपालिका ७ जौलजिवीमा सडक निर्माणले गाउँ नै पहिरोको जोखीममा परेका छन् । यस्तै, महाकाली नगरपालिकाले ६ ओटा , मार्माले ४, दुहुले २ र लेकम गाउँपालिकाले एक ओटा सडकको यो वर्षबाट निर्माण सुरु गरेका छन।

यति धेरै सडकको वातारणीय प्रभाव अध्ययन नगरीकन कार्यान्वयन गरिरहेकाले विकासको सट्टा विनाश निम्त्याउने खतरा बढेको छ । स्थानीय सरकारले डीपीआरको नाममा लागत इस्टमेट, लाभान्वित घरधुरी, कूल खर्च, दूरी आदिको मात्रै अध्ययन गरिएको र वातावरणीय अध्ययन नै नगरिएको स्थानीय सरकारका प्रतिनिधिहरू बताउँछन । चुनावताका गरेको वाचाअनुसार मतदातालाई विकासको अनुभूति चाँडो देखाउनका लागि यहाँका स्थानीय सरकारका प्रतिनिधिहरूले धमाधम सडक निर्माण गरिरहेका छन । काम छिटो छरितो गर्नुपर्ने र आवश्यक जनशक्तिको अभावमा वातावरणीय प्रभाव अध्ययन गर्न नसकिएको जनप्रतिनिधिहरुको भनाइ छ ।

विभिन्न ग्रामिण क्षेत्रमा बर्षातको समयमा पनि सडक निर्माणको काम भइरहदा त्यसले खानेपानी, खेतीयोग्य जमिन, अन्य सहायक बाटोघाँटोमा समेत प्रभाव पारेको छ । मेसिनले सडक निर्माण गर्दा जमिन कमजोर भई बर्षातको समयमा ठाउँठाउँमा पहिरो जानुका साथै कतिपय बस्तीहरुनै धरापमा परेको र बिपद्को जोखीम बढाएको स्थानिय बताउँछन् । दार्चुलाका मार्मा, मालिकार्जु, लेकम, नौगाड, दुहु गाउँपालिका लगायतले आफ्नै स्काभेटर डोजर खरिद गरेर सडक खनीरहेका छन् ।