२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल–भारत जोड्ने झोलुङ्गे पुल सञ्चालन हुन सकेन

२०७६, १८ बैशाख बुधबार ०८:०७

नरेन्द्रसिंह कार्की | वैशाख  १८, दार्चुला | लेकम गाउँपलिका–३ लालीस्थित छिरबिला भन्ने ठाउँमा नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण भएको झण्डै पाँच महीना पुग्न लाग्दा पनि सञ्चालन हुन सकेको छैन । पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले अहिले पनि ट्युबमार्फत् खोला तरेर आवतजावत गर्न बाध्य छन् । 

पुल निर्माणपछि आवतजावतमा सहज होला भन्ने सोचेका स्थानीयवासीले अहिलेसम्म त्यसको प्रयोग गर्न पाएका छैनन् । झोलुङ्गे पुल सञ्चालनका लागि दुवै देशको सहमति आवश्यक भएको हुँदा यसमा केही ढिलाइ भएको हो । केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा देशभरका तुइन विस्थापन कार्यक्रमअन्तर्गत महाकाली नदीमा नेपाल भारत जोड्ने झोलुङ्गे पूल निर्माण भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ ।

शुरुमा प्रहरीको सुरक्षार्थ विट नभएको भनेर शुरु हुन सकेको थिएन । दुवै देशका अधिकारीले पुलको निरीक्षण गरेपछि दुवैतर्फ लेकम गाउँपालिकाले सुरक्षा पोष्ट, शौचालय बनाइदिने सहमति भयो । सहमति अनुरुप लेकम गाउँपालिकाले नेपाल भारत दुवैतर्फ प्रहरी पोष्ट, शौचालय, पर्खाल बनाइदिएको छ । दुवैतिर सुरक्षाकर्मीको मागअनुसार काम सम्पन्न भएको छ । नेपालतिर प्रहरीका लागि प्रहरी विट, शौचालय निर्माणमा रु दुई लाख खर्च भयो भने भारतीय पोष्ट, शौचालय र बाटो निर्माण गर्दा रु सात लाख ५० हजार खर्च भएको गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले बताउनुभयो । 

जोशीले भन्नुभयो, “हामीले उहाँहरुको मागअनुसार काम गरिदिएका छौँ, नागरिकले दुःख पाएका छन् । बिरामी हुँदा अहिले पनि ट्युबको जोखिम मोल्नुपरेको छ । वारीपारी रोटिबेटीको सम्बन्ध छ । विवाहवारी त्यही ट्युबमार्फत् गर्नुपरेको कारण छिटो पुल नियमित सञ्चालनको लागि माग गरेका छौँ ।” 

लेकम गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयलाई झोलुङ्गे पुलको नियमित सञ्चालनका लागि आग्रहसहितको पत्रचार गरिएको उहाँले बताउनुभयो । काम सम्पन्न भइसकेको अवस्थामा पनि पुल बन्द गरेर राख्दा लेकम क्षेत्रका नागरिकले समस्या झेल्नुपरेको छ । 

जिल्ला प्रशासन कार्यालयले लेकम गाउँपालिकाबाट आएको पत्रको आधारमा भारतीय प्रशासनलाई पत्रचार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनुभयो । हामीले गाउँपालिकाको पत्रलाई आधार मानेर भारतीय प्रशासनलाई पत्रचार गरेका छौँ, अबै छिट्टै दुवैतर्फबाट पुल निरीक्षणपछि नियमित आवागमन गरिने छ । 

आवश्यक पहल भइरहेको छ, दुवैतर्फका प्राविधिकको अनुगमनपछि पुलमा नियमित आवतजावत हुने उहाँले बताउनुभयो । दुई देशका मामला भएको कारण केही ढिलाइ भएको हो, उहाँले भन्नुभयो । पुल निर्माण भए पनि आवतजावत गर्न नदिँदा स्थानीय अहिले पनि पुलको तलबाट ट्युबमार्फत वारपार गर्ने गरेका छन् । बिहानदेखि बेलुकीसम्म स्थानीयवासी त्यही पुल तलबाट वारपार गर्छन्, स्थानीय प्रेमराम पार्कीले भन्नुभयो । 

उहाँले पुल बने पनि प्रयोग गर्न नपाउँदा ट्युबबाट पुल हेर्नुको विकल्प छैन भन्नुभयो ।

लेकम गाउँपालिकालाई भारतसँग जोड्ने गरी ०७३ असोज ४ गते कूल रु एक करोड ३२ लाख लागतमा मनोमालिका कन्र्सटक्सनसँगले झोलुङ्गे पुल निर्माण गरेको हो । ढिलै भए पनि पुल निर्माणपछि स्थानीय हर्षित भएका थिए तर पाँच महीनासम्म पुलमा आवतजावत गर्न नपाउँदा स्थानीयवासी निराश भएका छन् । लेकम क्षेत्रकै व्यापारी मार्गको रुपमा प्रयोग हुने उक्त पुल निर्माणले यहाँको आर्थिक कारोवार भारतसँग बढी जोडिने छ । 

गाउँमै नागरिकता वितरण

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले दुर्गम मानिएको अपि हिमाल गाउँपालिका पुगेर नागरिकता वितरण गर्नुभएको छ । सदरमुकाम खलङ्गाबाट दुई दिनको दूरीमा पुगिने अपि हिमाल गाउँपालिकामा तीन दिनमा ३५० नागरिकता वितरण गर्नुभएको हो । 

स्थानीयलाई नागरिकताकै लागि जिल्ला धाउनुपर्ने बाध्यता अन्त्य गर्न उहाँ आफैँ गाउँ पुगेर नागरिकता वितरण गरेका हुन् । एकीकृत घुम्ती शिविरमार्फत् उहाँले अपि हिमाल गाउँपालिकाका स्थानीयलाई नागरिकता वितरण गर्नुभएको छ । जसअनुसार गाउँपालिकाभरिका २२७ ले नयाँ नागरिकता लिएका छन् भने १११ ले नागरिकताको प्रतिलिपी लिएको प्रमुख जिल्ला अधिकारी विष्टले बताउनुभयो ।

अपि हिमाल गाउँपालिकासम्म सडक सञ्जालले जोडिएको छैन । सडक सञ्जालमा नजोडिएको दुर्गम क्षेत्रका स्थानीयले गाउँमै नागरिकता पाएपछि खुशी भएका छन् । “दुर्गम क्षेत्रबाट खलङ्गा आउँजाउँ गर्दा दशौँ हजार खर्च हुन्छ । त्योभन्दा हामी आफैँ दुःख गरेर भए पनि गाउँमा नागरिकता वितरण गर्न आएका छाँै”, उहाँले भन्नुभयो, स्थानीय सरकारले गाउँमै सेवा पु¥याएको बेला सङ्घीय सरकार पनि गाउँमै पुगेर जनताको सेवामा लागेका छन् ।” 

नागरिकता लिनेमा युवा समूहका बढी छन् । अपि हिमाल गाउँपालिकाका छवटै वडाका स्थानीयवासीको शिविरमा भीड लागेको छ । प्रमुख जिल्ला अधिकारी नै गाउँ पुगेर नागरिकता वितरण गरेको यो पहिलोपटक हो, अपि हिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भन्नुभयो । स्थानीय सरकारको आग्रहलाई स्वीकार गर्दै प्रमुख जिल्ला अधिकारीसहितको टोली अपि हिमाल पुगेर नागरिकतालगायतका सार्वजनिक सेवा दिएका छन् । 

नागरिकता वितरण कार्यक्रममा अपि हिमाल गाउँपालिका–५ का देउमति ठगुन्नाले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाण पत्र पाउनुभएको छ । हालसम्म नेपाली नगारिकता पाउनबाट वञ्चित भएका ठगुन्नाले गाउँमै प्रमुख जिल्ला अधिकारी विष्टबाट नागरिकता पाएको हो । 

यस्तै अपि हिमाल गाउँपालिका ४ का ९० वर्षीय वीरभान ठेकरे र ९० वर्षीया विसु टमटाले पनि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएका छन् । वर्षांैदेखि नागरिकता झुत्रो भएको तथा फोटो समेत नदेखिने हुँदा समस्या थियो, गाउँमै शिविरपछि आफन्तको सहयोगमा नागरिकताको नयाँ प्रतिलिपि पाए उनीहरुले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार शिविरमा २२७ ले नेपाली नागरिकता, १११ ले नागरिकताको प्रतिलिपि लिएका छन् । यस्तै स्वास्थ्यतर्फ ५५८ को स्वास्थ्य परीक्षण, ४३० ले आयुर्वेदिक सेवा र २८६ ले पशु स्वास्थ्य सेवा लिएका छन् । 

यस्तै गत महीना असिनापानीका कारण क्षति पु¥याएका ४२० परिवारलाई तरकारी बीउविजन वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योगअन्तर्गत ४३ वटा उद्योग दर्ता, नौ वटा वाणिज्य दर्ता, आठ वाणिज्य नवीकरण, कारोवार थप, पूँजी वृद्धि र प्रतिलिपि एक एक जनाले लिएका छन् । भने अपि नाम्पा संरक्षण क्षेत्रअन्तर्गत यार्सागुम्बा सङ्कलनको लागि छ जनाले मात्रै परिचयपत्र लिएका छन् ।

घरेलु तथा साना उद्योग विकासअन्तर्गत उद्योग वाणिज्य दर्तालगायतका सिफारिसबाट रु एक लाख १६ हजार ७०० राजश्व सङ्कलन भएको प्रजिअ विष्टले जानकारी दिनुभयो । शिविरमा जिल्ला अदालत दार्चुलाका न्यायाधीश गिरीराज गौतम, प्रमुख जिल्ला अधिकारी विष्ट, दुर्गादल गुल्म दार्चुलाका गुल्मपति गणेश रावल, सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्द, सारथी अस्पताल प्रालि धनगढीका वरिष्ठ फिजिसियन डा रुपेशकान्त मिश्रलगायत विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिले अपि हिमाल गाउँपालिकामा पुगेर सेवा दिएका हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ