२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्माण शुरु भएको ६ वर्ष हुदाँ समेत पुल निर्माण अधुरै

२०७६, १३ असार शुक्रबार ०९:३८

 दीपक बोहरा | असार १३, दाङ | दाङको लमही–तुलसीपुर सडक खण्डबीचमा पर्ने नदी तथा खोलाहरुमा ६ वटा पुल निर्माणको काम पूरा हुन सकेको छैन । निर्माण शुरु भएको ६ वर्ष पुग्नै लाग्दा पनि पुल निर्माणको कामले पूर्णता पाउन सकेको छैन । पुल निर्माण अधुरै हुँदा यात्रुहरुलाई बर्खामा आवत–जावत गर्न निकै समस्या हुने गर्छ । 

समयमै पुल नबन्दा र उचित डाइभर्सन नहुँदा यात्रुहरु त्रसित बनेका छन् । विगतका वर्षहरुमा पुल निर्माणले पूर्णता नपाउँदा बर्खामा आएको बाढीले गाडी नै बगाएको  तथा मान्छेको समेत मृत्यु हुने गरेको थियो । यस वर्ष पनि पुल निर्माण अधुरै हुँदा आफूहरु त्रासमा रहेको  मोटरसाइकल चालक नारायण डिसीले बताउनुभयो । “विगतका वर्षहरुमा पनि समयमै पुल निर्माण नहुँदा बाढीको सास्ती खेप्नु परेको थियो, यस वर्ष पनि पुल निर्माण भएका छैनन्,”उहाँले भन्नुभयो –विगत जस्तै सास्ती खेप्नु पर्ने अवस्था हुन्छ होला ।”तर यस वर्ष विगतका वर्षहरु जस्तो सास्ती नहुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ । 

यस वर्ष बर्खा शुरु हुनुभन्दा पहिले चारवटा पुल निर्माणको कार्यले पूर्णता पाउने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी  लिलाबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार बबई, कटुवा, गुर्जे र सक्राम खोलाको काम सकिने छ । अन्य दुईवटा पुलको काम भने यो वर्षको बर्खासम्म पनि नसकिने उहाँको भनाइ छ ।

 विसं २०७१ भदौ ११ गते सम्झौता भएको कटुवा खोलाको पुल निर्माणको काम ८० प्रतिशत पूरा भएको छ । शंकरमाली निर्माण कम्पनीले उक्त पुल ४ करोड १० लाख रूपैयाँमा ठेक्का लिएको थियो। समयमै पुल निर्माणको काम पूरा नभएपछि दुई पटक १-१ वर्ष म्याद थप गरियो । अन्तिम पटक थप गरिएको समय २०७४ असोज १० गते सकियो । अन्तिम पटक तोकिएको समयमा पनि काम पूरा नभएपछि अहिले १० प्रतिशत जरिवाना तिराइएको सूचना अधिकारी भण्डारीले बताउनुभयो । 

 उहाँका अनुसार बाँँकी काम अबको असार महिनाभित्रमा पूरा गर्ने गरी काम अगाडि बढाइएको छ । अब दुबैतिर माटो पुर्ने र ग्रावेलको काम मात्रै बाँकी छ । उक्त पुल ४० मिटर लामो र ११ मिटर चौडा छ ।

दाङको लमही–तुलसीपुरअन्तर्गत पर्ने गुर्जेखोलाको पुल निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । पुलको ढलानका सबै काम सकिएको र अबको एक महिनामै पुलबाट गाडी चल्ने सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७२ माघ ५ गते रौताह कन्स्ट्रक्शनले  ठेक्का पाएको थियो । विसं २०७५ वैशाख १६ गते सक्ने गरी सम्झौता भए पनि समयमै काम पूरा भएन । 

पुल १०५  मिटर लामो र ११ मिटर चौडा छ । दाङमा बन्ने फरक स्वरुपको उक्त पुल निर्माणका लागि चाहिने सामानहरु भारतबाट मात्रै ल्याउनु पर्ने उहाँको भनाइ छ । भारतबाट सामान आउनै ढिला भएकाले पनि समयमै काम पूरा हुन नसकेको बताइएको छ । 

 दाङको सिस्ने खोलामा निर्माण भइरहेको पुलको काम तीव्र गतिमा अघि बढेको छ । आव २०७६-७७ सम्झौता मुताबिक समयमै काम सम्पन्न हुने सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अब जग र स्लाबको काम बाँकी रहेको छ । यो पुलको लम्बाइ ६० मिटर र चौडाइ ११ मिटर रहेको छ ।

कुल ११ करोड रूपैयाँ लागतमा बनाउन शुरु गरिएको बबई नदीमाथिको पुलको निर्माण कार्य भने अन्तिम चरणमा पुगेको सूचना अधिकारी भण्डारीले बताउनुभयो । दोस्रो पटक म्याद थपिएपछि निर्माण यही वर्षको असारभित्र पूरा हुने गरी काम अघि बढिरहेको छ । 

पत्रेखोलाको पुल निर्माणको कार्य भने अलपत्र छ ।  विसं २०७५ भदौ ९ गते काम पूरा गर्ने सहमति भएको भए पनि अहिलेसम्म निर्माणको काम अघि बढेको छैन । पाँच करोडको लागतमा निर्माण हुने भनिएको  उक्त पुल डिजाइन नै नमिलेकाले विगत दुई वर्षदेखि काम ठप्प छ । नयाँ डिजाइन अझैसम्म पनि आउन सकेको छैन ।  

तुलसीपुर–घोराही सडकखण्डअन्तर्गत ग्वारखोलामा निर्माण भइरहेको पुलको काम एक वर्षमा ५० प्रतिशत पूरा भएको छ । 

कालिका रसुवा जेवी निर्माण कम्पनीले आर्थिक २०७६ -७७ मा काम सक्ने गरी पुलको जिम्मा लिएको थियो  ।  इञ्जिनीयर वसन्त ज्ञवालीका अनुसार हालसम्म पुलको स्ट्रक्चरको काम ५० प्रतिशत र सुपरस्ट्रक्चरको काम  ४० प्रतिशत पूरा भएको छ ।  पुल २२० मिटर लामो र १०.५ मिटर चौडा छ । आगामी कात्तिक महीनासम्म निर्माण सम्मन्न गर्ने लक्ष्य राखिएको छ । ग्वारखोलाबाट करीब दुई किलोमिटर तल अर्को पुल बनाउने ठेक्का पनि यही कम्पनीले लिएको हो । यो पुल २०० मिटर लामो र १०.छ मिटर चौडा छ । कम्पनीले ४७ करोडमा दुबै पुल बनाउने ठेक्का पाएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा