२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पहिलोपटक बिजुली पुग्दा…

२०७६, २८ असार शनिबार ०५:२४

रामबहादुर थापा | असार २८, बाग्लुङ | “अँध्यारो गाउँ, उज्यालो भयो,” ताराखोला गाउँपालिका–३ हिल, काँक्राखोरका कर्णबहादुर भण्डारीले भन्नुभयो, “यतिपछि बल्ल बिजुली आयो, हामी खुशी छौँ ।” काँक्राखोरमा शुक्रबार पहिलोपटक बिजुली पुग्यो । ढिलै भएपनि गाउँलेको बिजुली बाल्ने सपना पूरा भएरै छाड्यो ।

काँक्राखोरका ११५ घरपरिवार बिजुलीबाट वञ्चित थिए । सक्नेले सौर्य ऊर्जा प्रयोग गर्थे, नसक्ने टुकीकै भरमा थिए । ताराखोला साना जलविद्युत् आयोजना निर्माण भएपछि काँक्राखोरलगायतका गाउँमा पहिलोपटक बिजुली पुगेको हो । वडा नं ४ अस्मुखे गाउँमा पनि यही साता पहिलोचोटी बिजुली बल्यो । यतिका वर्षपछि बिजुली पुग्दा गाउँमा खुशियाली छाएको छ । बिजुली नहुँदा दैनिकी असहज थियो । वर्षौंदेखि अस्मुखेवासी अँध्यारैमा बस्न बाध्य थिए । 

“वर्षाको पर्वाह नगरी, रातदिन नभनी वितरणको काम गरिरहेका छौँ”, आयोजनाका इञ्जिनीयर दिलबहादुर थापाले भन्नुभयो, “दशैँअघि गाउँपालिकाभरि बिजुली पुग्छ ।” ३८० किलोवाट क्षमताको सो आयोजनाले गत वैशाख दोस्रो सातादेखि परीक्षण उत्पादन शुरु गरेको थियो ।

मुख्य लाइन विस्तार र ट्रान्समिटर जडानको काम सकिएको आयोजनाले जनाएको छ । घरघरमा कालो तार विस्तार, मिटर जडानलगायतका काम तीव्र गतिमा भइरहेको इञ्जिनीयर थापाले बताउनुभयो । आयोजनाबाट गाउँपालिकाका झण्डै एक हजार ७०० घरधुरीमा बिजुली पुग्नेछ । रु १८ करोडको लागतमा निर्मित आयोजनाले ‘उज्यालो गाउँपालिका’ को लक्ष्य पूरा हुने ताराखोला जलविद्युत् लिमिटेडले जनाएको छ । आयोजना निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु नौ करोड १२ लाख अनुदान उपलब्ध गराएको थियो । 

यस्तै गाउँपालिकाका एक हजार ६९१ घरधुरीले न्यूनतम रु १५ हजारका दरले शेयर राखेका छन् । “सक्नेले बढी पनि शेयर हाल्नुभएको छ”, आयोजनाका अध्यक्ष हिमाल विकले भन्नुभयो, “गाउँपालिका बाहिरबाट कसैको शेयर छैन ।” गाउँपालिकाका पाँच वटै वडाका २२ सय घरधुरीमा विद्युत् पुर्याउने आयोजनाको शुरुको लक्ष्य थियो । वडा नं. १ को अमरभूमि र २ अर्गलको केही भूभागमा केन्द्रीय विद्युत् पुगेपछि उपभोक्ता घटेर एक हजार ७०० पुगेका हुन् । पहिले सामुदायिक ढाँचाको आयोजनापछि कम्पनीमार्फत अघि बढेको थियो । विसं २०६८ मा निर्माण शुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजना पछि धकेलिएको हो । 

कामै रोकिएर आयोजना अलपत्र परेपछि व्यवस्थापनसमेत फेरिएको थियो । स्थानीय धप्ल्याङ, करिमेला, मपेस र ठूलो खोलाको पानीलाई पाइपलाइनमार्फत वडा नं ५ कै धस्मरमा रहेको विद्युत्गृहमा ल्याइएको छ । आठ महीना ३८० किलोवाट विद्युत् उत्पादन हुने भएपनि सुख्खा याममा उत्पादन केही घट्ने जनाइएको छ ।

आयोजनाबाट उत्पादित बिजुलीलाई केन्द्रीय प्रसारण लाइनमा जडान गरिने इन्जिनियर थापाको भनाइ छ । “सबै उत्पादन यहाँ खपत हुँदैन, बिजुली खेर जान नदिन पनि केन्द्रीय ग्रीडमा जोड्नुपर्छ”, उहाँले भन्नुभयो । 

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले ताराखोला ‘उज्यालो गाउँपालिका’ उन्मुख भएको बताउनुभयो । ग्रामीण विद्युतीकरणका लागि गाउँसभाबाट रु ३५ लाख बजेटसमेत विनियोजन गरेको छ । “अहिलेसम्म बिजुली नै नपुगेका गाउँ थिए”, उहाँले भन्नुभयो, “अब त्यो अवस्था रहेन, उज्यालो गाउँपालिका बन्दैछ ।”

ताराखोलामा केही वर्षअघि साढे दुई मेगावाटको दरमखोला ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो । त्यस क्षेत्रमा अन्य जलविद्युत् आयोजना पनि निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी