2026-09-13 07:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

खेमराज गौतम । असार २४, गलकोट। बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ ।  सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६/७७ मा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरी आव २०७७/७८ मा निर्माणकार्य थाल्न बजेटसमेत विनियोजन भएको छ ।  

जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले रु आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । रु २४ करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको जुलोजिकल पार्कलाई गण्डकी प्रदेश सरकारद्वारा विशेष अनुदानमार्फत बागलुङ नगरपालिकालाई आगामी आव २०७७/७८ मा रु ५० लाख बजेट विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो । 

जुलोजिकल पार्क हालसम्म प्रक्रियामा भए पनि आव २०७७/७८ मा निर्माण आरम्भ गर्नका लागि बजेटसमेत विनियोजन भएर आएको र थप बजेटका लागि केन्द्र सरकारसँग माग गरिएको नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो । “यो पार्क ठूलो परियोजना हो, विस्तारै निर्माण हुँदै जान्छ, बजेट आउँदै जान्छ”, पौडेलले भन्नुभयो, “शुरुमा पूर्वाधार निर्माणमा जोड दिन्छौँ, विस्तारै पार्क बन्दै जान्छ, पर्यटकहरु आउँदै जानेछन् ।”

नगरप्रमुख पौडेलका अनुसार धेरै बजेट लाग्ने परियोजना भएकाले निर्माण सम्पन्न हुनका लागि लामो समय लाग्ने भए पनि यही साउनबाटै निर्माणकार्य आरम्भ गरिनेछ ।  पशुपक्षी, जडीबुटीको संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जुलोजिकल पार्कको अवधारणा ल्याइएको नगरप्रमुख पौडेलको भनाइ छ । हालसम्म कानूनी प्रक्रिया सबै पूरा भइसकेको छ । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका विज्ञ नारायण रुपाखेतीको समूहले बागलुङ नगरपालिका वडा नं ५, ६ र ७ मा पर्ने पाँच सामुदायिक वनलाई जुलोजिकल पार्क बनाउन सकिने निष्कर्ष निकालेपछि यसको पहल थालिएको थियो । बीस वर्ग किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको सामुदायिक वनमा प्राकृतिक, पर्यटन, वन्यजन्तुलगायतका पाँच क्षेत्रलाई ध्यान दिएर जुलोजिकल पार्क निर्माण गरिने निर्माणको जिम्मा लिएको आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनका अध्यक्ष शेरसिंह ठकुन्नाले जानकारी दिनुभयो । उहाँले पार्क वरपर तीन किलोमिटर सडक, करिब दुई किलोमिटर पदमार्ग, दृश्यावलोकन स्तम्भ, रेष्ट्रो सेन्टर, जुलोजिकल पार्कभित्र र बाहिर बाटो निर्माण, ५० हेक्टर जमीनमा जङ्गल व्यवस्थापन केन्द्र र वन्यजन्तु उद्धार तथा जङ्गलको फायर निर्माणलगायतका संरचना निर्माण गर्ने गरी डिपिआर तयार गरिएको ठकुन्नाले बताउनुभयो ।

“जुलोजिकल पार्क नितान्त प्राकृतिक सम्पदालाई संरक्षण गर्दै निर्माण हुनेछ”, ठकुन्नाले भन्नुभयो, “त्यस वन क्षेत्रमा बाँच्न सक्ने तर त्यस ठाउँमा हाललाई नभएको जीवजन्तुलाई समेत त्यस क्षेत्रमा तारबार गरेर राख्न सकिन्छ ।” उहाँले पर्यटकलाई सडकमार्ग र पदमार्गमार्फत जङ्गल सफारी गराउँदै जीवजन्तुको अवलोकन गर्न सकिने बताउनुभयो । खासगरी जङ्गली जनवारको बासस्थान संरक्षण गर्नु मुख्य काम हुनेछ । मालिका क्षेत्रमा रहेको सामुदायिक वनमा जुलोजिकल पार्क निर्माण गरी बागलुङ आउने पर्यटकलाई जैविक तथा प्राकृतिक विविधतामा रमाउने लक्ष्य बागलुङ नगरपालिकाको छ  । 

जङ्गली जनवारको चोरी शिकार बढ्दै जानु तथा प्राकृतिक वातावरण नासिँदै जान थालेपछि प्राकृतिक तथा जैविक विविधताको संरक्षणसँगै नगरपालिकाले प्राणी उद्यानको परिकल्पना गरेको हो । सामुदायिक वन क्षेत्रमा १०० भन्दा बढी प्रजातिका वन्यजन्तु रहेको अध्ययन तथा अनुसन्धानका क्रममा  पाइएको छ । बागलुङमा पाँच कोटको सङ्गम मानेर निर्माण भइरहेको धार्मिक पर्यटकीयस्थल पञ्चकोट क्षेत्रमा पुग्ने पर्यटकलाई जुलोजिकल पार्क अवलोकनका लागि समेत लैजान सकिने छ । 

पाँच कोटमध्येका ताराजालकोट, कारिकोट, माझकोट, संसारकोट र रायँरायकोट क्षेत्रसमेत जुलोजिकल पार्क क्षेत्रमा पर्ने भएकाले नगर र जिल्लाको पर्यटन विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । पाँच कोटमध्ये प्राकृतिक तथा धार्मिक हिसाबले संसारकोट धेरै चर्चित छ । भौगोलिकलगायतका क्षेत्र यही वन क्षेत्रमा पर्ने भएकाले प्राणी उद्यानमा पर्यटक पु¥याउन सहज हुने नगरप्रमुख पौडेल बताउनुहुन्छ । पर्यटकलाई आकर्षित गरी आरामदायी आतिथ्यता प्रदान गर्ने व्यवस्थाका लागि सुविधासम्पन्न होटल, रिसोर्ट सञ्चालनका लागिसमेत पहल र प्रोत्साहित गर्ने नगरपालिकाको योजना रहेको उहाँको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले