पढ्न करिब 3 मिनेट लाग्छ

असोज २०, गलकोट । बागलुङको एउटै गाउँमा खसीबोका बिक्रीबाट झण्डै दुई करोड भित्रिएको छ ।

जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्रामका दुई सहकारीमा आबद्ध महिलाले उत्पादन गरेका खसीबोका बिक्रीमार्फत रु दुई करोड भित्र्याउन सफल भएका हन् । काठेखोला गाउँपालिका–४ तङ्ग्रामा सञ्चालित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थामा आबद्ध महिलाले सहकारीमार्फत विगत ६ वर्षदेखि बाख्रापालन व्यवसायमा गर्दै आएका हुन् ।

आर्थिक वर्ष २०७६/७७ मा सप्तरङ्गी सहकारीमार्फत ७१३ खसीबोका बिक्री गरी रु ८६ लाख ६८ हजार २५७ आम्दानी गरिएको संस्थाका सहप्रबन्धक नरमाया पुनले जानकारी दिनुभयो । यस्तै वसन्त सहकारीमार्फत ७१४ वटा खसीबोका बिक्री गरी रु ९२ लाख ९६ हजार ६५ आम्दानी गरिएको संस्थाका प्रबन्धक हेमा विकले जानकारी दिनुभयो । दुई सहकारीमा आबद्ध महिला शेयर सदस्यले उत्पादन गरेका खसीबोका बिक्रीबाटै आर्थिक वर्ष २०७६÷७७ मा मात्रै रु एक करोड ७९ लाख ६४ हजार ३२२ रकम भित्र्याएको हो ।

सप्तरङ्गी सहकारीले गत आर्थिक वर्षमा १९ हजार ९६४ केजी बराबरको खसीबोका बिक्री गरेर रु एक लाख दुई हजार ८३२ नाफा गरेको छ । त्यस्तै वसन्त सहकारीले २१ हजार १२७ केजी खसीबोका बिक्री गरेर रु ९७ हजार ९१५ नाफा गरेको छ ।

दुवै सहकारीले आफ्ना सदस्यहरुको खसीबोका प्रतिकेजी ४५० मा सङ्कलन गर्ने र ४५५ बिक्री गर्ने गरेका छन् । प्रतिकेजी जम्मा रु पाँच बढी लिएर सदस्यका उत्पादन सङ्कलन गरी बजारमा लगेर बिक्री वितरणको व्यवस्था गरिएको ती सहकारीले जनाएका छन् । सहकारीका शेयर सदस्यमध्ये कतिपयले २५ वटासम्म बोका बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारीका प्रबन्धक मनकुमारी पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार तङ्ग्रामका खसीबोका बागलुङ बजार र आसपासका क्षेत्रमा बिक्री हँुदै आएका छन् । हेफर इन्टरनेसनलको आर्थिक तथा प्राविधिक सहयोग र भीमापोखरा युवा क्लब (विवाइसी) बागलुङको व्यवस्थापनमा साबिक तङ्ग्राम गाविसमा विगत आठ वर्षदेखि पशु वस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सबलीकरण परियोजना सञ्चालनमा रहेको छ । उक्त परियोजनाबाट सप्तरङ्गी सहकारीमार्फत २९६ र वसन्त सहकारीमार्फत ६११ जना शेयर सदस्यलाई आयआर्जनका काममा केन्द्रित गरिएको विवाइसीका सहकारी क्षमता विकास सहजकर्ता रीता शर्माले जानकारी दिनुभयो ।

महिलालाई सदस्य बनाई आयआर्जनमा केन्द्रित गरेको र उनीहरुलाई परिवारका पुरुष सदस्यले सहयोग गरेका कारण विगत ५ वर्षदेखि एक सहकारीले मात्रै वार्षिक रु एक करोडभन्दा बढी रकम आम्दानी गर्न थालेका छन् । सहकारीका शेयर सदस्यलाई बाख्रापालन व्यवसायमा केन्द्रित गराउने र सहकारी संस्थाले खरिद गरेर बजारमा बिक्री वितरणको व्यवस्था गरेपछि बाख्रापालन गर्नेहरुको सङ्ख्या बढेको हो । प्रत्येक परिवारमा दुई÷चारवटा बाख्रा अनिवार्य पाल्ने गरेका छन्, व्यावसायिक रुपमा बाख्रा पाल्नेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको सप्तरङ्गी सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष थमकुमारी श्रीसले जानकारी दिनुभयो । “पाँच वर्ष पहिला घर खर्च चलाउन निकै समस्या थियो यहाँका महिलालाई”, श्रीसले भन्नुभयो, “अहिले बाख्रापालनमार्फत आयआर्जनमा जोडिएपछि दुईचार हजार निकाल्न यहाँका महिलालाई कुनै समस्या छैन ।”

घरका महिला सहकारीका सदस्य बनेका छन्, उनीहरुलाई पुरुषले पनि राम्रो सहयोग र समन्वय गरेका कारण वर्षमा एक हजार ४०० वटाभन्दा बढी खसीबोका तङ्ग्रामका दुईवटा सहकारीमार्फत बजारमा बिक्री हुने गरेका छन् । सहकारीका सदस्यले बाख्रा पाल्ने, सहकारी संस्थाले खरिद गरेर बिक्री गर्दै आएका छन् । रासस