सञ्चिता घिमिरे । असार २८, मेलम्ची (रासस)। राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पुर्याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो साताको बाढीले के कति क्षति पुर्यायो भन्ने अनुमान गर्न अहिले नै कठिन भए पनि प्राविधिक आयोजनामा पुगेर र ड्रोन क्यामरामार्फत अध्ययन गरी क्षतिको अनुमान गर्न थालिएको हो ।

धेरै संरचना नदीजन्य पदार्थले पुरिएको भए पनि कतिपय पदार्थ पुनः नदीले बगाएकाले क्षति बाहिर देखिन थालेको अध्ययनका क्रममा पाइएको छ । प्राविधिक टोलीले घटनास्थल पुगेर र मेलम्ची खानेपानी विकास समितिले ड्रोनमार्फत गरेको सर्वेक्षणमा केही संरचनामा क्षति पुगेको देखिएको छ । बाढीले ल्याएको ठूलो ढुङ्गा मुख्य बाँधको ‘इनटेक’को भागमा ठोकिएको र त्यसले क्षति पुर्याएको पाइएको छ । मेलम्ची खानेपानी विकास समितिका इञ्जिनीयरसहितको टोलीले यहाँ पुगेर यसको अध्ययन थालेको छ । यो अध्ययनबाट ठूलो ढुङ्गाले संरचनामा क्षति पुर्याएको देखिएका छ ।

‘हेडवर्क’ को संरचना निरीक्षण गर्दा बाढी आउनासाथ मेलम्ची नदीले १० देखि २० मिटर नदीजन्य पदार्थ थुपारेर संरचना पुरेको पाइएको आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँका अनुसार अहिले नदीले नै लेदो बगाएकाले त्यहाँका संरचना केही देखिएको छ । उहाँले भन्नुभयो, “निर्माणस्थलमा नदीले थुपारेको सबै नदीजन्य लेदोहरु उपकरण लगेर हटाएपछि सबै क्षति यकीन हुन्छ र हामीले थप काम गर्न सजिलो हुनेछ ।”

मेलम्ची नदीमा आएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको झण्डै एक महिनापछि इञ्जिनीयरद्वय शेखर खनाल र निरज गुप्ता, परामर्शदाता कम्पनी र निर्माण कम्पनीका प्रतिनिधिसँग निर्माणस्थल पुग्नुभएको थियो । केही सातादेखि ‘हेडवर्क’ पुग्न प्रयास गरिएकामा यस पटक सम्भव भएको हो ।

अहिलेसम्म हेर्दा सो आयाजनामा झण्डै रु एक अर्ब ८० करोडको क्षति भएको छ । अब त्यहाँ कति समयपछि काम गर्न सकिन्छ र कसलाई काम गराउने भन्ने निर्णय गर्न बाँकी रहेको प्रवक्ता पन्तले बताउनुभयो । यो काम कसरी गर्न सकिन्छ भन्ने छलफल भइरहेकोे छ । उहाँले भन्नुभयो, “तर सडक र पुल बनाउने काम पहिले हुनुपर्ने भएकाले कहिलेसम्म गर्न सकिन्छ भन्न सकिने अवस्था छैन ।”

पहिले निर्माणस्थलमा पुग्न सडक नै बन्नुपर्छ भने त्यसपछि मात्रै पुरिएका संरचना सफा गर्न सकिने समितिले जनाएको छ । अहिले धेरै नदीजन्य पदार्थ थुपारिएकामा त्यो सफा गर्ने काम कति समयमा सकिन्छ भनी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “अहिले त्यसको लेखाजोखा भइरहेकाले अन्तिम प्रतिवेदन एकदुई दिनमा आउनेछ ।”

आयोजनामा दुईपटक ड्रोनबाट सर्वेक्षण भइसकेको छ । पहिलोपटक बाढी आएको भोलिपल्ट असार २ गते समितिले र पछिल्लो पटक परामर्शदाता कम्पनीले सर्वेक्षण गरेको हो । सामान्यतया अरु आयोजनामा त्यसको पूर्व सर्वेक्षणमा ड्रोन क्यामराको प्रयोग हुँदै आएको छ । आयोजनामा तत्काल मान्छे जाने अवस्था नभएकाले र आयोजनाको क्षतिको विवरण जानकारी पाउन प्रविधिको प्रयोग गरिएको थियो ।

सो स्थानमा लामो समयसम्म नदीले धार कहिले दायाँ र कहिले बायाँ गरेर जोखिम भएकाले प्राविधिक पठाएर परीक्षण गरिएको थियो । पहिले समितिले ड्रोनलाई हेलिकप्टरबाट राखेर अपरेटरसहित निरीक्षण गरेको थियो । पछिल्लोपटक परामर्शदाताबाट अर्काे चरणमा निरीक्षण भएको छ । उहाँले भन्नुभयो, “अहिले क्षतिको यकीन गरेर त्यसअनुसार योजना बनाउन खोजिएको हो ।”

निर्माणस्थलमा रहेका संरचना सफा गर्न धेरै उपकरण लैजानुुपर्ने अनुमान गरिएको छ । त्यसका लागि पहिले प्रवेशमार्गको निर्माण अघि बढ्नुपर्ने प्रवक्ता पन्तले बताउनुभयो । सडक र पुल बनाउनका लागि सडक विभागसँग समन्वय भइरहेको छ ।

आयोजनामा पुगेको क्षति र सडक तथा पुलमा पुगेको क्षतिको स्थलगत अवलोकनका लागि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगै खानेपानी मन्त्रालय सम्हाल्दै आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ सो स्थानमा पुग्नुभएको थियो । उहाँहरुसँगै मन्त्रालय, विभाग, समितिका प्रतिनिधि पुगेर स्थलगत अध्ययन भएको थियो ।

वर्षा सकिएपछि तत्काल अस्थायी वा स्थायी सडक र पुल सकेसम्म चाँडो निर्माण गरेर निर्माणस्थल पुगेमा आयोजनाको पुनःनिर्माण शुरु गर्न सकिनेछ । अस्थायी संरचना बनाउँदा आयोजनामा आवश्यक उपकरण लैजान सकिने उहाँले बताउनुभयो । सडक विभागले विशेष महत्वका साथ स्थायी संरचना नै बनाउन चाहेमा आयोजना र स्थानीयवासी दुवैलाई सजिलो हुनेछ । सडक तत्काल खुलाउने विषयमा स्थानीय सरकारको समेत सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरुसँग भएका डोजर र तारजालीलगायत प्रयोग गर्न सकिनेछ ।”

अहिले नदीमा बाढी आउनसक्ने र यसले दायाँबायाँ धार बदल्न सक्ने देखिएको छ । वर्षा कम भएपछि आयोजना पुनःनिर्माण काम शुरु गर्न सकिन्छ । सामान्यतया भदौ महिनासम्म वर्षा हुने भएकाले त्यसपछि काम शुरु गर्न सकिने समितिले जनाएको छ । अहिले तत्काल स्थायीरुपमा सडक निर्माण गर्न नसकिने भए खोलाबाट सडकको ट्र्याक राखेर भए पनि हेडवर्कसम्म पुग्न सकिन्छ । उहाँले भन्नुभयो, “असोजसम्ममा हेडवर्कमा पुग्न सकेमा के कति काम छन् त्यसको लेखाजोखा गरेर त्यसपछि काम शुरु हुन्छ ।”

अझै पनि कहिलेसम्ममा उपकरण लिएर निर्माणस्थल पुग्ने भनी टुङ्गो नभएको प्रवक्ता पन्तले बताउनुभयो । उहाँका अनुसार बाढी पहिरोका कारण अहिले भर्खर खोलामा गएर काम शुरु गर्ने अवस्था छैन । अहिले सडक बनाउँदा नदीले बगाउने हुँदा अस्थायी बाटो बनाउन पनि वर्षा सकिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । कम्तीमा असोजमा काम शुरु गर्न सकिन्छ । निर्माणस्थलसम्म पुग्ने करिब सात किमी सडक बगाएको छ । उहाँका अनुसार खोलाबाट ढुङ्गा हालेर पनि ट्र्याक बनाएर उपकरण लैजान सकियो भने हेडवर्क सफा गर्ने काम शुरु हुनेछ ।

हेडवर्कमा क्षति कम भएमा र सुरुङ सफा गरे पुग्ने अवस्थामा काठमाडौँमा पुनः पानी ल्याउन लामो समय नलाग्ने अनुमान गरिएको छ । ‘हेडवर्क’ भन्दा माथिल्लो भागमा रहेको ‘कफर ड्याम’ लाई अस्थायीरूपमा निर्माण गरेर पानी सञ्चालन गर्न सकिने अनुमान गरिएको प्रवक्ता पन्तले बताउनुभयो । ‘कफर ड्याम’ नभई डाइभर्सन नसकिने तर अहिले त्यो हेर्दा त्यो पूरै भत्किएको देखिएको छ । तराईमा नदीमा काम गर्दा बोरामा बालुवा राखेर पनि अस्थायीरूपमा ‘कफर ड्याम’ बनाउने गरिए पनि पहाडमा बाढीको जोखिम भएकाले ध्यान दिनुपर्ने हुन्छ । अस्थायीरूपमा बोरामा ढुङ्गा राखेर बनाउँदा बगाउन सक्ने भए पनि पुनः त्यसलाई बनाउन सकिन्छ । उहाँले भन्नुभयो, “जोखिम अनुमान गरेर र खोलामा बाढी आउँदैन भन्ने भएपछि वर्षा पछि गर्न सकिन्छ ।”

हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी आएको दिनदेखि नै समितिले सुरुङको निरीक्षण शुरु गरेको थियो । त्यसले गर्दा सुरुङमा धेरै क्षति हुन पाएको छैन । त्यसको निरीक्षण भने अघि नबढेको प्रवक्ता पन्तले बताउनुभयो । सुन्दरीजल, सिन्धु, ग्यालथुम हुँदै अम्बाथानबाट ‘डिवाटरिङ’ गरेर खण्डखण्डमा हेर्नुपर्ने उहाँले बताउनुभयो । अहिले पहिरोले गर्दा अम्बाथान ‘अडिट’ को मुखबाट टालिएको छ । त्यसलाई खोलेर त्यो खण्डको पानी निकाल्न सकियो भने सुन्दरीजल सिन्धु ग्यालथुमबाट हेरेर सुधार गर्न सकिने उहाँले बताउनुभयो ।

नदीमा बाढी कम भएर पानी सफा भएपछि वैकल्पिक माध्यमबाट पानी पुनःकाठमाडौँ ल्याउन सकिन्छ । पानी पुनःसुन्दरीजल ल्याउन ‘हेडवर्क डाइभर्सन’ सुरुङ सफा हुनुपर्छ । ‘कफर ड्याम’ को विकल्प भए पनि त्यहाँसम्म पुग्न कठिन दखिएको छ । उहाँले भन्नुभयो, “हेडवर्कको संरचनाको दायाँबाट जान सकिँदैन त्यहाँ संरचना बनेका छन्, बायाँतर्फ पहिरो छिचोल्दै डोजर लगेर कफर ड्याम बनाउन सकिन्छ ।”

अहिले पनि ‘हेडवर्क’ को संरचना पुरिएको अवस्थामा रहेकाले ठ्याक्कै यति क्षति भयो भन्न सकिने अवस्था नभएको समितिका प्रमुख रामकुमार श्रेष्ठले बताउनुभयो । अहिले हेर्दा डाइभर्सन टनेल र अम्बाथानको अडिट पोर्टलको टनेलमा लेदो जमेको उहाँले बताउनुभयो । अम्बाथानमा निर्माण कम्पनीको र मेलम्ची पुलबजारस्थित समितिको क्याम्पमा क्षति पुगेको छ । त्यसको निर्माण र पुनःस्थापना पहिले गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पहँुचमार्गका लागि दुईदेखि तीन बेलिब्रिज हुँदा आमनागरिक र आयोजना दुवैलाई माथिसम्म जान सजिलो हुन्छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिब्रिज प्रदान गर्ने भने पनि आइनसकेको प्रमुख श्रेष्ठले बताउनुभयो । पहुँचमार्ग बनेपछि मात्रै आयोजनाको निर्माणस्थलसम्म पुग्न सकिने उहाँले बताउनुभयो । सुरुङ खाली गराएर परीक्षण गर्ने काम निरन्तर हुनेछ । उहाँका अनुसार अहिले अम्बाथानको पोर्टलबाट पानी बाहिर पठाउन सकिएको छैन । त्यो पठाएपछि निरीक्षण सम्पन्न हुन्छ र त्यसपछि मात्रै क्षति भएका ड्याम र वैकल्पिक ‘डाइभर्सन टनेल’ सफा गरिनेछ । उहाँले भन्नुभयो, “त्यो सबै काम भएपछि मात्रै पुनःकाठमाडौँमा पानी ल्याउन सकिनेछ ।”

राज्यका सबै संयन्त्र परिचालन भएमा कम्तीमा माघभित्र पानी सुरुङभित्र पठाउन सकिन्छ भनेर कार्यतालिका बनाइएको प्रमुख श्रेष्ठले बताउनुभयो । आयोजनामा अल्पकालीन र दीर्घकालीन गरी दुवै किसिमका काम गर्न आवश्यक देखिएको छ । पहुँचमार्ग निर्माण र क्षति भएका संरचनाको निर्माणको काम सबैभन्दा पहिले गर्न आवश्यक छ । दीर्घकालीनरूपमा लाङटाङ क्षेत्रको एकीकृत जलाधार संरक्षण गर्नुपर्ने छ । स्थानीयवासी र आयोजना दुवैका लागि विपद्को पहिले नै सूचना दिने उपकरण जडान गर्न आवश्यक छ । उहाँले भन्नुभयो, “स्थानीयवासीका लागि एकीकृत बस्ती विकासका लागि छुट्टै परियोजना आवश्यक छ भन्ने माग गरिएको छ ।”

निर्माण शुरु भएको दुई दशकपछि सम्पन्न सो आयोजनाको पानी गत फागुनमा परीक्षणका लागि सुरुङमा पठाइएको थियो । त्यसअघि गत वर्ष असारमा सुरुङको परीक्षण गरिएको भए पनि गेट निस्कँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । पछिल्लो पटक काठमाडौँ उपत्यकाका धेरै स्थानमा मेलम्चीको पानी वितरण शुरु भएको थियो । कार्यतालिकाका आधारमा असार १ गतेदेखि सुरुङको निरीक्षण थालिएको थियो । तीन महिनामा निरीक्षण सकेर असोजदेखि पुनः पानी सुन्दरीजल झारिने लक्ष्य लिइएको भए पनि अहिले भएको प्राकृतिक विपत्तिले अब काठमाडौँमा मेलम्चीको पानी कहिले झर्छ भन्न सकिने अवस्था भने छैन ।

Related News