२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

कोरोना प्रभाव : बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा

२०७७, २३ कार्तिक आईतवार ०४:५४

कार्त्तिक २३, टीकापुर । पुख्र्यौली पेशाका रूपमा धानिएको बादी समुदायको मादल बनाउने पेशा पछिल्लो समय सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमण फैलिएपछि बादी समुदायले मादल बिक्री गर्न पाएका छैनन् । मादल बेचेर जीविका चलाउने बादी परिवारलाई कोरोना महामारीले आर्थिक सङ्कट निम्त्याएको छ । 

“आधुनिकताको प्रयोगसँगै मादल बनाउने पेशा लोप हुँदै गएको छ । त्यसमाथि कोरोनाको प्रभावले मादल बनाउने पेशा थप सङ्कटमा पर्यो”, सन्देश बादी भन्नुहुन्छ, “सबैभन्दा बढी व्यापार हुने समय दशैँ र तिहारमा पनि खासै कारोवार हुन सकेन । यो समयमा सबैभन्दा बढी मादल बिक्री हुन्थे, बनाएका मादल थन्किएका छन् ।”

कुनै समय मादल बनाउन भ्याइनभ्याई हुने बादी समुदायका नागरिक यतिबेला भने फुर्सदमै देखिन्छन् । विगतका वर्षजस्तो यसपालिको तिहारमा खासै काम नआएको गौरीगङ्गा नगरपालिका–१ माघी शिविरका खड्क बादीको भनाइ छ । “दशैँतिहारमा रातदिन मादल बनाउनुपथ्यो, यस वर्ष कामै छैन”, खड्क भन्नुहुन्छ, “मैले यही सिजनमा कमाएको रकमले घर चल्थ्यो, यस वर्ष त दशैँलाई लक्षित गरी तयार गरिएका मादल थन्किएका छन् ।”

कैलालीको टीकापुर–८ सत्तीमा बादी समुदायको पुख्र्यौली पेशा संरक्षणका लागि मादल व्यवसाय सञ्चालक समिति नै गठन गरी मादल बनाउने र बेच्ने गरिँदै आएको छ । विगतका वर्षमा थारू समुदायले दशैँमा धुमधाम नाचगान गर्थे । “थारू समुदायको नाचगानका कारण मादलको कारोवार ठीकै हुन्थ्यो तर यसपालि भने कोरोनाका कारण थारूगाउँमा पनि खासै दशैँको रौनकता भएन”, सञ्चालक समितिका सदस्य सुरज बादी भन्नुहुन्छ, “थारूगाउँमा नाचगान नहुँदा मादलको व्यापार भएन र तिहारमा देउसीभैलो खेल्नेले मादल किन्थे । यस वर्ष तिहारमा पनि बिक्री हुने छाँटकाँट छैन ।”

सुरज रु ८० हजार खर्च गरी बनाइएका मादल थन्किएका बताउनुहुन्छ । “यस वर्ष रु साढे दुई लाखसम्म कमाउने समितिको योजना थियो”, सुरजले भन्नुभयो, “कोरोना महामारीका कारण हाम्रो त लगानी पनि उठ्न सकेन ।”

बढ्दो आधुनिकतासँगै बादी समुदायको पुख्र्याैली पेशाको रूपमा रहेका सुल्फा र मादल बनाउने पेशासमेत लोप हुँदै गएका छन् । मानिसहरु आधुनिक बाजामा रमाउन थालेसँगै बादी समुदायको मादल बनाउने पेशा सङ्कटमा पर्न थालेको बादी समुदायका अगुवा अर्जुन बादीको बुझाइ छ । “पुख्र्यौली पेशा संरक्षण गर्नुपर्छ”, अर्जुनले भन्नुभयो, “तर आधुनिक बाजाले परम्परागत बाजालाई विस्थापन गर्ने देखिएको छ । यसको संरक्षणमा स्थानीय सरकारले सघाउन आवश्यक छ ।” अर्जुन मादल बनाउने पेशा बादी समुदायको पुख्र्यौली पेशामध्येको एक भएकाले नेपाली संस्कृतिको पहिचानका रूपमा जोगाउन जोड दिनुुहुन्छ ।

 पछिल्लोसमय नेपाली संस्कृतिमा मादलको साटो अन्य बाजा प्रयोग हँुदै आएका छन् तर पनि नेपाली संस्कृतिमा मादलको पहिचान र महत्व छुट्टै भएकाले मादलको संरक्षणमा जोड दिनुपर्ने खप्तड सांस्कृतिक परिवार टीकापुरका पूर्वअध्यक्ष तथा कलाप्रेमी नवराज रिमाल जोड दिनुहुन्छ । “मादल हाम्रो पहिचानसँग जोडिएको छ”, रिमाल भन्नुहुन्छ, “नेपाली संस्कृतिसँग मादलको सम्बन्ध गाँसिएको छ । यसको संरक्षण आवश्यक छ ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला