२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र

१० मंसिर २०७७, बुधबार ०५:२२

मंसिर १०, मानाङ | हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ । कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर विद्यालय नगएको पनि वर्ष दिन हुन लागेको छ । हिमाली जिल्ला मनाङमा मङ्सिर महिनाको अन्तिम सातामा शैक्षिक सत्र सकिने र फागुन, चैतमा नयाँ शैक्षिक सत्र शुरु हुने गर्दछ ।

गत चैतमा शैक्षिक सत्र शुरु हुनासाथ कोरोना महामारीका कारण जिल्लाका सबै विद्यालय ठप्प भए । यो शैक्षिक सत्रमा मुस्किलले १५ दिन मात्र विद्यार्थी विद्यालयमा हाजिर भएका थिए । जिल्लाभरका २८ विद्यालयमा जम्मा ६०२ विद्यार्थी अध्ययनरत रहेको शिक्षा विकास तथा समन्वय एकाइ मनाङले जनाएको छ ।

“दुर्गम क्षेत्रमा पर्याप्त भौतिक पूर्वधारदेखि अन्य सामग्री पाउन फलामको चिउरा चपाएझैँ हुन्छ, तर बाध्यता र विवशताका बीच सबै कुरा नपुगे पनि पुगेझैँ गरी काम गर्नुपर्ने बाध्यता छ”, नार्पाभूमि गाउँपालिकास्थित फू आधारभूत विद्यालयका प्रधानाध्यापक मुखीय विक भन्नुहुन्छ । नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन् । यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ ।

त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन् । अघिल्लो वर्षको मङ्सिर मसान्तदेखि विद्यालय पूर्णरूपमा पठनपाठन हुनसकेको छैन । “गत मङ्सिर अन्तिम साता अन्तिम परीक्षा सकेर जाडो बिदामा रहेका विद्यार्थी नयाँ शैक्षिक सत्र शुरु हुन नपाउँदै कोरोना महामारीले विद्यालय बन्द भयो”, तिलिचो आधारभूत विद्यालयका प्रधानाध्यापक यमप्रसाद तिमल्सिनाले भन्नुभयो ।

 उहाँका अनुसार माथिल्लो भेगमा चैतदेखि शैक्षिक सत्र शुरु हुने र मङ्सिर मसान्तमा अन्त हुने गर्छ । “शैक्षिक सत्र शुरु भएसँगै विद्यार्थी भर्ना अभियन शुरु हँुदै थियो तर कोरोना महामरीले शुरु हुनै पाएन”, उहाँले भन्नुभयो, “अहिले कोभिड–१९ का कारण आफ्नो क्षेत्रभित्र रहेका विद्यार्थीलाई उपलब्ध जनशक्ति प्रयोग गरी गाउँगाउँमा परिचालित गरी सामान्य पढाउने काम भएको छ, अब शैक्षिक सत्र सकिने समय भइसकेको छ, केही समयमै हिमपात शुरु हुन्छ, घरबाहिर निस्कनै मुस्किल हुन्छ ।” 

केही सङ्घसंस्थाको सहयोगमा सो विद्यालयमा शिक्षक व्यवस्था गरिएको छ । सरकारी दरबन्दी र सङ्घसंस्थाको सहयोगमा कार्यरत शिक्षकको भरमा उपल्लो मनाङका विद्यालय सञ्चालनमा छन् । आवश्यक सामग्री चामेबाट खच्चडमार्फत ल्याउने गरिन्छ । केही हुनेखानेहरु चिसो छल्न तल झरे पनि गरिब परिवार आवश्यक सामग्री जुटाएर यहीँ बस्न बाध्य छन् । सरकारले उपलब्ध गराउँदै आएको खोपदेखि अन्य सुविधाबाट हिमपातको समयमा सेवाविहीन भएर बसिरहेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो ।

जिल्लाभित्र प्राकृतिक नाकाबन्दी हुँदा चाहेको कामसमेत गर्न नसकिने अवस्था रहेको छ । अघिल्लो वर्ष केही काम गर्न सकिएको भए पनि यो वर्ष भने विद्यालय खुल्ने समयमा बन्दाबन्दी हुँदा पढाइ रोकियो तर सरकारले ‘विद्यालय खोल’ भनी आग्रह गरेको समयमा प्राकृतिक नाकाबन्दी भयो । हिमाली जिल्ला मनाङको यसपटकको शैक्षिक सत्र किताब नै नखोली सकिएको अन्नपूर्ण माविका प्रधानाध्यापक आनन्द घिमिरेको भनाइ छ ।

अहिले अधिकांश विद्यालय बन्द छन् । आवासीय विद्यालयमा समेत विद्यार्थी नहुँदा पढाइमा समस्या भएको छ । बाहिर जिल्लामा भएका शिक्षक आउन पाएका छैनन्, जिल्लाभित्र रहेका शिक्षकले केही काम गरिरहेको विद्यालयले बताउँदै आएका छन् । कयौँपटक आफ्नै विद्यार्थी बिरामी हुँदा उपचारमा समेत सकस हुने गरेको घटनाले घिमिरेलाई झस्काउने गर्दछ । नजिकै स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा समेत पर्याप्त औषधि नहुँदा आफूजस्तै धेरै शिक्षकले सास्ती खेप्नुपर्ने भएको उहाँको भनाइ छ ।

उपल्लो मनाङको मौसमसँग पौँठेजोरी खेल्दै सो अनूकुल आफूलाई रूपान्तरण गर्नु चानचुने कुरा नभएको उहाँको भनाइ छ । भाषा नमिल्ने अर्को समस्या त छँदैछ तर यहाँको हावापानीसँग आफूलाई अभ्यस्त गराउनु सबैभन्दा ठूलो चुनौती शिक्षकहरुलाई छ । आफ्नै उत्पादनले थोरै महिना मात्र पुग्ने र जाडो मौसममा यातायातसमेत चल्न नसक्ने हुँदा बाहिरबाट यहाँ आएर पढाउने शिक्षकले कसरी खाद्यान्न आपूर्ति गर्ने भन्ने ठूलो समस्या रहँदै आएको छ ।

यस शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या यति नै छ भनेर यकिन तथ्याङ्क नै नभएको शिक्षा समन्वय एकाइ मनाङले जनाएको छ । यो वर्ष अब हिमपात शुरु हुने भएकाले प्राकृतिक नाकाबन्दी शुरु हुने गर्दछ । “प्रकृतिले नै नाकाबन्दी गरेपछि कसरी विद्यालयमा पढाइ हुनु ?”, स्थानीयवासीको प्रश्न छ । फागुन, चैतदेखि शैक्षिक सत्र शुरु हुने हिमाली जिल्लाका विद्यालयमा दशैँअघि नै विद्यार्थी अर्धवार्षिक परीक्षा भ्याएर अन्तिम परीक्षाको तयारीमा हुने गर्दथे ।

पाठ्यक्रम पनि आधाभन्दा बढी गइसकेको हुन्थ्यो । विश्वव्यापी कोरोना सङ्क्रमणको महामारीका कारण विद्यार्थीले किताबको पाना पल्टाउन नपाएरै झण्डै १२ महिना बितेको छ । हिमाली भेगका विद्यार्थीलाई नपढेरै शैक्षिक सत्र सकिन लाग्दा यस्तै चिन्ताले सताउने गरेको अन्नपूर्ण माविका प्रधानाध्यापक घिमिरेले बताउनुभयो । फागुनदेखि शैक्षिक सत्र शुरु हुने विद्यालयमा भदौ अन्तिम साता अर्धवार्षिक परीक्षा हुन्छ ।

दशैँतिहारलगत्तै करिब एक महिना पढाइ भएपछि मङ्सिर अन्तिम साता वार्षिक परीक्षा हुन्छ । पुस १५ सम्म वार्षिक परीक्षाको नतिजा प्रकाशन गरी फागुनसम्मका लागि हिउँदे बिदा दिने गरिन्छ । यस हिसाबले हेर्दा तिहारपछि विद्यालय खुलिहाले पनि हिमाली विद्यालयसँग पढाइ र परीक्षाका लागि एक महिना पनि समय छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता