२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

सन्दर्भ अन्तर्राष्ट्रिय नारी दिवस: पुरुषसँग समान काम, ज्याला भने आधा कम

२०७७, २४ फाल्गुन सोमबार ०४:४३

ध्रुवसागर शर्मा । फागुन २४, म्याग्दी । “मैले सात वर्षदेखि आधारभूत तह (कक्षा १–८) मा अङ्ग्रेजी विषय पढाउँदै आएकी छु, तर मेरो तलब सोही तहमा पढाउने शिक्षक (सर) को भन्दा आधा कम छ ।” म्याग्दीको एक निजी तथा संस्थागत विद्यालयमा पढाउने शिक्षिकाले भन्नुभयो, “समानता त नारामा मात्रै हो, व्यवहारमा भने अझैसम्म देखिएको छैन ।

“मसला बनाउने, रड र इँटा बोक्ने, बालुवा ल्याउने सबै काम गर्छु”, म्याग्दी सदरमुकाम बेनीमा भवन निर्माणको काममा मजदूरी गर्दै आउनुभएकी ३७ वर्षीया तिला किसानले भन्नुभयो, “पुरुष कामदारसँगै काम गर्नुपर्छ, उनले गर्ने सबै काम मैले पनि गर्छु तर, ज्याला पाउँदा पुरुष कामदारले दैनिक रु एक हजार पाउँछन् भने मैले रु ६०० मा चित्त बुझाउनुपर्छ ।” “काम भने पुरुषले भन्दा बढी गर्नुपर्छ, ज्याला भने थोरै पाउँछौँ”, बेनी नगरपालिका–२ बगरफाँटमा मकै रोप्नका लागि मलको डोको बोकेर खेततर्फ जाँदै गरेकी चन्द्रा विकले भन्नुभयो, “एउटै कामको अलगअलग ज्याला थाप्ने गरेको धेरै भयो ।” 

आज मार्च ८ अर्थात्, १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘महिला सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै गर्दा ग्रामीण भेगका महिलाको अवस्था भने दशकौँअघिकै जस्तै रहेको छ । कृषि, औद्योगिक तथा विकास निर्माणका क्षेत्रमा मात्रै होइन, शैक्षिक क्षेत्रमा समेत महिला पारिश्रमिकमा ठगिँदै आएका छन् । यी महिलाका भनाइ त प्रतिनिधि मात्रै हुन्, म्याग्दीका हजारौँ महिला समान कामको समान ज्याला पाउनबाट वञ्चित छन् ।

दिनभरी खेतबारी, नदी खोला, भवन वा भौतिक निर्माण भइरहेका ठाउँमा ज्याला मजदूरी गरेर गुजारा गर्ने महिलाले पुरुषले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिने गरेका छन् । पुरुष कामदारसँगै दिनभरी काममा घोटिने र पुरुषले भन्दा बढी काम गर्ने महिला श्रमिकले ज्याला बुझ्दा भने पुरुषको तुलनामा आधा कम बुझ्न बाध्य भएका छन् । जिल्लाका धेरै महिला श्रमिक पुरुषको तुलनामा बढी काम गर्ने दाबी गर्छन् । “सँगै काम गर्ने पुरुष कामदारले चुरोट खाने, मोबाइलमा लामो समयसम्म कुरा गरेर समय कटाउने र कोही मान्छे देखे कुराकानी गर्ने गर्छन्”, म्याग्दी नदी किनारमा ग्याबिन जाली भर्न ढुङ्गा बोक्दै गर्नुभएकी सविना परियारले भन्नुभयो, “हामीले खुरुखुरु काम गर्छौं । लगाएको काममा पूरै ध्यान दिन्छौँ तर, ज्यालामा ठगिन्छौँ ।”

 लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीको कृषि, उद्योग, पूर्वाधार निर्माणदेखि लिएर शैक्षिक क्षेत्रसमेत महिलाकै बल बुतोमा धानिएको छ । यहाँका अधिकांश पुरुष वैदेशिक रोजगारमा छन् तर जिल्लालाई नै धानेका तिनै महिला पारिश्रमिकमा भने वर्षौंदेखि ठगिँदै आएका महिला अधिकारकर्मी जमुना आचार्यले बताउनुभयो । कृषि क्षेत्रको ७५ प्रतिशत काम महिलाले नै गर्दै आएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ तर, तिनै महिला पुरुषको तुलनामा आधा कम ज्याला लिएर काम गरिरहेका छन् ।

पुरुष कामदारले भन्दा बढी श्रम गरे पनि ज्यालामा भने ठगिनुपरेको महिला श्रमिकको भनाइसँग जिल्लाका महिला अधिकारकर्मी पनि सहमत छन् । बेलाबेलामा हुने महिला अधिकार र श्रमका कार्यक्रमको भाषण गरे पनि श्रमिक महिलाको अधिकारका बारेमा महिला अधिकारकर्मीले खासै केही गर्न नसकेको जिल्लाका श्रमिक महिलाले बताएका छन् । जिल्लाका महिला अधिकारकर्मी र मानवअधिकारकर्मीलगायतको संयुक्त पहलमा समान कामको समान ज्याला दिनुपर्ने भनि विभिन्न राजनीतिक दलका भ्रातृसङ्गठन, उद्योगी, व्यवसायीलगायत कृषि ज्ञान केन्द्रमा जानकारी गराइए पनि श्रमिक महिलाको ज्यालामा वृद्धि हुन नसक्नु दुःखद् पक्ष रहेको महिला अधिकारकर्मीको भनाइ छ ।

महिला अधिकारकर्मी हीरा पौडेलका अनुसार कानूनमा नै ‘समान कामका लागि समान ज्याला’को व्यवस्था गरिएकाले त्यसविरुद्ध लैङ्गिकरुपमा ज्यालामा तलमाथि गर्नेलाई कडा कारवाही गरिनुपर्ने बताउनुभयो । महिला अधिकारकर्मी एवं नेपाल महिला सङ्घ म्याग्दीका अध्यक्ष विमला गौचनले महिला र पुरुष दुवैको सोचमा परिवर्तन आउन नसकेको र शारीरिक तथा प्राकृतिकरुपमा पुरुषभन्दा महिला कमजोर हुन्छन् र उनीहरुले पुरुष बराबर काम गर्न सक्दैनन् भन्ने मानसिकता नहटेकाले ज्यालामा एकरुपता हुन नसकेको हो भन्नुभयो ।

म्याग्दीको भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा कूल श्रमिक सङ्ख्याको ४२ प्रतिशतभन्दा बढी महिला संलग्न रहेका निर्माण व्यवसायीले बताएका छन् । जिल्लाभित्र र बाहिरका गरी ४२ प्रतिशत महिला मजदूरले पुरुषको भन्दा आधा कम ज्यालामा नै काम गरिरहेका भए पनि उनीहरुको बारेमा आवाज उठाउने निकाय भने मौन छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !