कुवेतमा तीन महिनादेखि ११ नेपाली महिला अलपत्र

Posted on: 16 Jun, 2023

असार १, काठमाडौँ | वैदेशिक रोजगारीका लागि तीन महिना अघि कुवेत पुगेका ११ जना नेपाली महिला अलपत्र परेका छन् । मकवानपुर, काभ्रे, झापा, दाङ लगायतका जिल्लाका उनीहरू तीन महिनादेखि अलपत्र अवस्थामा रहेका छन् । 

बत्तिस पुतलीमा रहेको ब्लु ओसियन रिक्युटमेन्टमार्फत तीन महिना अघि पुगेका कुवेत पुगेका उनीहरूमध्ये ५ जना कामै नपाएर बस्न बाध्य भएका छन् । एक मस्जिदमा क्लिनरको रूपमा काम गर्दै आएका ६ जनाले समेत तीन महिनामा भनेअनुसार तलब नपाएको गुनासो गरेका छन् । 

नेपालबाट सम्झौताअनुसार तलब नदिएपछि घर फर्काउन अनुरोध गर्दै आएका उनीहरूलाई कम्पनीले घर फर्काउन आनाकानी गर्दै आएको छ ।  सम्झौतामा मासिक ११० कुवेती दिनार तलब दिने भनेर उनीहरूलाई पठाइएको थियो । तर, अहिले पहिलो महिनामा ५५ कुवेती दिनार र दोस्रो महिनामा ७५ कुवेती दिनार मात्र तलब दिएको एक महिलाले जानकारी दिइन् । 

‘म नेपाल जान्छु भन्दा जान दिएको छैन । काममा जाँदिन भन्दा पनि जबरजस्ती काममा लैजाने गरेको छ । जान नमान्दा गाली गर्छ । झम्टेलाझै गर्छन् । दैनिक ८ घण्टा काम गर्नुपर्ने भने लगेको थियो । अहिले १२ घण्टासम्म काममा लगाउँछन् ।’ ती महिलाले भनिन् ।  त्यसरी जानेहरुले कोहीले १ लाख ५० हजार तिरेर गएको बताएका छन् भने कोहीले १ लाख ८० हजारसम्म तिरेको बताएका छन् । 

नेपालस्थित म्यानपावर कम्पनीले आज भोलि भन्दा भन्दै टार्दै आएको उनीहरूको भनाई छ ।  ‘पहिलो महिनामा ५५ केडी तलब आउँदा हामीले मेनपावरको दाईसँग कुरा गर्यौं । अर्को महिना राम्रो तलब आउँछ होला कुर्नु भनियो,’ ती महिलाले भनिन्, ‘दोस्रो महिना झन कम दियो । यसरी हामी काम गर्न सक्दिन घर फर्काईदिनुपर्यो भनेको आज भोली भन्दा भन्दै झुलाइरहेको छ ।’ 


यस बिषयमा तपाइको प्रतिक्रिया...!