रोजगारीका लागि यूकेमा नर्स लैजाने तयारी अन्तिम चरणमा, केही दिनमा आवेदन खुल्ने

Posted on: 19 Jul, 2023

साउन ३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि हेल्थ केयर एसिस्टेन्ट (स्वास्थ्य सेवा सहायक) लाई बेलायत लैजाने पूर्व तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागले आवश्यक तयारी गरेको हो । विभागले अबको केही दिनभित्रमा अनलाइन आवेदन खोल्नेछ ।

विभागका महानिर्देशक मदन दहालले अबको केही दिनमा अनलाइन आवेदन आह्वान गरिने बताए ।

दहालले भने ‘३/४ दिनमा आवेदन खुल्छ होला । त्यसका तयारी भइरहेको छ । सफ्टवेयरको लन्च २० तारिखमा गर्ने भनेर समय मिलाएका छौँ । सफ्टवेयरको परीक्षण सफल भयो भने ढिलोमा ४ दिनमा आवेदन आह्वान गर्छौ’ । उनका अनुसार  पहिलो चरणमा बढीमा २०० जना नेपाली नर्सलाई बेलायत लैजाने गरी तयारी भइरहेको छ भने पहिलो चरणमा पठाएका नर्सहरूको कार्यक्षमता राम्रो देखिएको खण्डमा दोस्रो चरणमा थप पठाउने तयारी रहेको छ ।

नेपाल र बेलायत सरकारबिच भएको द्विपक्षीय श्रम सम्झौता कार्यान्वयनसम्बन्धी कार्ययोजना (इम्प्लिमेन्टेसन प्रोटोकल) केही दिन अगाडि मात्रै मन्त्रिपरिषद्बाट पारित भएको थियो । प्रोटोकल पारित भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको हो ।

कस्ता व्यक्ति लैजाने भन्ने विषयमा प्रोटोकलले विभिन्न मापदण्डहरू तय गरेको छ । उक्त मापदण्ड पुरा गरेका नेपाली नर्सहरू बेलायत जान पाउनेछन् ।

२० वर्ष पुरा गरेर ४५ वर्ष ननाघेका स्टाफ नर्स, बिएससी नर्सिङ, एमएससी नर्सिङ गरेका व्यक्ति जान पाउनेछन् । त्यस्तै २ वर्ष कार्य अनुभव गरेको, नेपाल नर्सिङ काउन्सिलबाट लाइसेन्स लिएको व्यक्ति हुनुपर्नेछ । कुनै आपराधिक रेकर्ड नभएको, बेलायत प्रवेशमा रोक लगाइएको व्यक्ति नहुनुपर्ने र कुनै शारीरिक तथा मानसिक समस्या नभएको व्यक्ति हुनु पर्नेछ ।

इन्टरनेशन इङ्लिस ल्याङ्गवेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) मा ‘बी’ स्कोर ल्याउनुपर्नेछ । आईईएलटीएसको रिटनमा ६.५ अङ्क अनिवार्य ल्याउनु पर्नेछ । ओईटीमा रिडिङ, राइटिङ र लिस्निङ हुनेछन्, जसमा राइटिङमा ‘सी प्लस’ ल्याउनुपर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!