आन्दोलनरत कोरिया रिटर्नीहरूसँग ५ बुँदे सहमति

Posted on: 28 Jul, 2023

साउन १२, काठमाडौँ | आन्दोलनरत कोरिया रिटर्नीहरू र ईपीएस कोरिया शाखाबीच पाँच बुँदे सहमति भएको छ । गत असार १० गतेदेखि आन्दोलन गर्दै आएका रिटर्नीहरूसँग एचआरडी सर्भिस अफ कोरिया, ईपीएस सेन्टर नेपालको रोहबरमा सहमति भएको हो ।

विगत केही महिनादेखि ईपीएस प्रणालीबाट कोरिया गएका रिटर्नीहरूले रोस्टरमा भएका कामदारहरूलाई पुनः कोरिया जान पाउने वातावरण बनाउन माग गर्दै आएका थिए ।

सहमती भएसँगै आन्दोलनलका कार्यक्रम फिर्ता लिएका छन् । सहमति अनुसार सीबीटी परीक्षा सम्बन्धी सूचनाको आधारमा ईपीएस कोरिया शाखा र रिटर्नी समूहबीच असार १० गते भएको सहमति कार्यान्वयन गर्न पहल गर्ने तथा सीबीटी परीक्षा रिटर्नीहरूको लागि भएकाले स्वस्फूर्त रूपमा सहभागी हुने निर्णय गरिएको छ ।

त्यस्तै परीक्षा सञ्चालनमा कोही कसैले कुनै किसिमको बाधा अवरोध नगर्ने नगराउने तथा विभिन्न खालका मित्थ्या समाचारहरूको दुवै पक्षले प्रतिबाद गर्ने सहमति भएको छ ।

कोरिया रिटर्नी समूहले कार्यालयमा पेश गरेका मागहरूलाई श्रम मन्त्रालय मार्फत कूटनैतिक पहल गरी कार्यान्वयनको पहल गर्न अनुरोध गर्ने सहमति भएको छ ।

कोरिया रिटर्नीहरूले समयमै कोरिया नपठाएको तथा आर्थिक चलखेल गर्दै आफूहरूको फाइल अगाडि नबढाएको भन्दै उनीहरूले प्रदर्शन गर्दै आएका हुन् । पाँच वर्ष कोरियामा काम गरेर फर्केर आएकाहरूले सन् २०२२ मा पुनः परीक्षा दिएर पास भई कोरिया जान प्रतीक्षारत थिए । तर, अहिलेसम्म उनीहरूको नाम नआएपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।

कोरियाबाट फर्किएका ३५०० देखि ४ हजारको हाराहारीमा रिटर्नीहरू छन् । २०२२ मा युबीटी परीक्षामा पास भएका परीक्षार्थीहरूले ईपीएस कोरिया शाखामा प्रदर्शन गर्दै आएका हुन् ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!