सबैभन्दा धेरै कामदार पठाउने म्यानपावर क्रमश: द रिभर, इन्टरनेशनल र नीलकमल, (टप-२५ मा कुन कुन ?)

Posted on: 31 Jul, 2023

साउन १५, काठमाडौँ । गत आर्थिक बर्ष २०७९/८० को १२ महिनाको अवधिभर बिभिन्न देशमा बिभिन्न ८६७ म्यानपावर कम्पनीहरुले कामदार वैदेशिक रोजगारमा पठाएका छन् । जस मध्ये सबैभन्दा बढी कामदार बत्तीसपुतली गौशाला स्थित द रिभर ओभरसिसले पठाएको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष २०७९/८० मा मात्र ५३१३ जना पुरुष कामदार र २३३ महिला कामदार गरि ५५४६ जनालाई वैदेशिक रोजगारमा पठाएको छ । 


वैदेशिक रोजगार विभागले तयार पारेको गत वर्ष वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएका कम्पनीको सूचीमा दोश्रो नम्वरमा ललितपुरस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्षमा ४८१७ जना पुरुष कामदार र ५१८ जना महिला कामदारलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति पाएको छ । त्यस्तै तेश्रो नम्वरमा सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत आर्थिक बर्ष मात्र २६८५ पुरुष कामदार र १५५२ महिला कामदार गरि ४२३७ जनाको अन्तिम श्रम स्वीकृति लिएको छ । 


गत आर्थिक बर्षको रेकर्ड अनुसार सबैभन्दा बढी महिला कामदार पठाउने म्यानपावर कम्पनी सिनामंगल स्थित स्थित निलकमल ह्युमन रिसोर्स प्रालि (१५५२ जना) रहेको छ । त्यस्तै महिला कामदार धेरै पठाउनेमा दोश्रो नम्बरमा ललितपुर स्थित एअरकिङ्ग प्लेसमेन्ट प्रालि (१०५३ जना) रहेको छ । त्यस्तै महिला कामदार धेरै पठाउने म्यानपावरहरुको तेश्रो सूचिमा सिनामंगल स्थित सपोर्ट ह्युमन रिसोर्स प्रालि (७४९ जना) रहेको छ । 

तल गत आर्थिक बर्ष सबैभन्दा बढी कामदार पठाउने टप २५ म्यानपावर कम्पनीहरुको सूचि दिईएको छ । यो सूचि अनुसार परेका सबै म्यानपावर कम्पनीहरुले गत आर्थिक बर्षभारीमा २ हजार भन्दा बढी कामदार वैदेशिक रोजगारमा पठाएका छन् । 

डाटा स्रोत: वैदेशिक रोजगार बिभाग

बिभागको तथ्यांक अनुसार गत आर्थिक बर्षको १२ महिनामा ८६७ म्यानपावर कम्पनीबाट वैदेशिक रोजगारमा जानेहरुको संख्या ४ लाख ३ हजार ६४१ जना रहेका छन् । यो कुल संख्या मध्ये ३६ हजार ७०२ जना महिला कामदारहरु वैदेशिक रोजगारमा गएका हुन् । बैदेशिक रोजगारमा जाने कुल संख्याको हिसावमा महिलाको संख्यालाई तुलना गर्दा हरेक १०० जना वैदेशिक रोजगारमा जाँदा महिलाको संख्या ९ जना रहेको छ । 

तथ्यांक अनुसार गत आर्थिक बर्ष पुन:श्रम स्वीकृति नवीकरण, व्यक्तिगत तथा संस्थागत गरि कुल ७ लाख ७१ हजार ३२७ जनाले वैदेशिक रोजगारको लागि श्रम स्वीकृति लिएका छन् । यसै संख्या अनुसार २ लाख २ हजार ६१६ जान अनस्किल्ड, ५ लाख ६ हजार ७४६ जना स्किल्ड, ६० हजार ५५५ जना सेमी स्किल्ड, एक हजार १५३ जना प्रोफेसनल र २५७ जना हाइस्किल्ड कामदारको रुपमा वैदेशिक रोजगारमा गएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!