रोजगारीको सिलसिलामा मलेसिया पुगेका क्षेत्रीको मृत्यु, मलेसियामै गरियो अन्त्येष्टि

Posted on: 01 Aug, 2023

साउन १६, काठमाडौँ | रोजगारीको सिलसिलामा मलेसिया पुगेका रूपन्देहीका भरत बहादुर क्षेत्रीको मलेसियामा नै मृत्यु भए पश्चात आइतबार मलेसियाको पेनाङ्गमा अन्तिम संस्कार गरिएको छ ।       

रोजगारीका लागि मलेसिया पुगेका उनी विगत १९-२० वर्ष अगाडि देखि नै परिवार र आफन्तहरूसँग सम्पर्क विहीन रहेको जनउद्धार केन्द्र मलेसिया जनाएको छ । गत डिसेम्बर २२ मा मृत्यु भएका उनको पार्थिव शरीर लामो समयदेखि त्यहाँको पेराक राज्यको इपो शहरस्थित एक अस्पतालमा बेवारिसे अवस्थामा थियो ।

अस्पताल प्रशासन, नेपाली दूतावास र जनउद्धार केन्द्रको अथक प्रयासमा परिवार सम्पर्कमा ल्याएर परिवारको अनुमति तथा दूतावासको स्वीकृती पछि जनउद्धार केन्द्र मलेसियाले सम्पूर्ण व्यवस्थापन सहित अन्तिम संस्कार गरिएको केन्द्रका अध्यक्ष किशु थापाले जानकारी दिए ।

अन्तिम संस्कार कार्यमा लागेको सम्पूर्ण खर्च समेत जनउद्धार केन्द्रले व्यवस्थापन गरेको जनाएको छ । अवैधानिक रुपमा बसोबास गर्दै आएको , लामो समयसम्म घरपरिवारसँग सम्पर्कमा नरहेको र साथमा कुनै परिचय खुल्ने कागजात नभेटिएको हुँदा शवको पहिचान गर्न डिएनए परिक्षण समेत गर्नुपरेको थियो ।

विद्धुतिय शवदाह गृहमा अन्तिम संस्कार गर्ने बेला उनका परिवार र आफन्त भिडियो कल मार्फत जोडिएर सहभागिता जनाएको अध्यक्ष थापाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!