वैदेशिक रोजगार विभागको अनलाइन श्रम स्वीकृति दिने सिस्टममा एक सातादेखि समस्या

Posted on: 07 Aug, 2023

साउन २२, काठमाडौँ | अनलाइन मार्फत श्रम स्वीकृति प्रदान गर्ने प्रणालीमा एक सातादेखि समस्या आएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको फेमिसमा प्राविधिक समस्या आएको हो । जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ ।

एक सातादेखि आएको समस्या अझै सल्टिन सकेको छैन् । विभागका महानिर्देशक मदन दहालले प्राविधिक समस्या आएको र टेक्निकल टिमले सल्टाउने काम गरिरहेको बताए । ‘हिजोबाट अलि अलि चलिरहेको छ । आईटीका साथीहरूले समस्या समाधानका लागि लागिरहेका छन् । चाँडै बन्छ होला ।’ दहालले भने ।

अनलाइन सिस्टम बन्द हुँदा हजारौं व्यक्तिहरूको टिकट खेर गएको व्यवसायीहरूको भनाई छ । ‘हजारौं जनाको टिकट काटेर राखिएको थियो । तर, श्रम स्वीकृतिको काम नहुँदा टिकट नै खेर जाने अवस्था आयो । सिस्टम इरर भनेर व्यवसायीलाई दुःख दिने काम भयो ।’ एक व्यवसायीले भने ।

विभागले हाल अनलाइन मार्फत नै श्रम स्वीकृति, तथा पुनः श्रम स्वीकृतिको काम गर्दै आएको छ । सिस्टममा आएको प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जान लागेका हजारौं श्रमिकहरू समस्यामा परेका छन् । कतिपयको टिकट नै रद्ध गर्नुपर्ने अवस्था आएको छ । विभागले चाडै समस्याको समाधान हुने बताएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!