श्रम स्वीकृति नै नलिई ९७५ जना डाक्टर कुवेत पठाउने विज्ञापन गरेपछि....

Posted on: 31 Aug, 2023

भदौ १४, काठमाडौँ | केही दिन अगाडि सामाजिक सञ्जालमा ९७५ नेपाली विशेषज्ञ डाक्टरलाई कम्तीमा ७ लाखदेखि १२ लाख ७० हजार रुपैयाँसम्म तलब दिने भन्दै एउटा विज्ञापन सार्वजनिक भयो। 

 यसका लागि सबै अनलाइनबाटै अन्तरवार्ता हुने भनेको थियो । दिनको ८ घण्टा काम, महिनामा २६ दिन काम गर्नुपर्ने भन्ने थियो । तीन वर्षको कार्यअनुभव गरेका, एमबीबीए तथा एमडी डाक्टरको लागि विज्ञापन गरिएको थियो । 

कुवेतको एक निजी अस्पतालमा रोजगारीका लागि भन्दै गरिएको विज्ञापनलाई लिएर सन्देह सिर्जना भयो। उक्त विज्ञापन सार्वजनिक भएसँगै धेरै नेपाली डाक्टरले चासो देखाए । कतिपयले थोरैको सङ्ख्यामा रहेको नेपाली विशेषज्ञ डाक्टर विदेश पलायन हुने भन्दै चिन्ता पनि व्यक्त गरे ।

खोजतलास गर्दै जाँदा उक्त विज्ञापन गर्ने ओमेगा इन्टरनेसनल रहेको पाइयो । त्यसपछि विभागले अनुसन्धान गर्दै जाँदा विभागको पूर्व स्वीकृति विनै सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइयो । 

१३५२/०७४/०७५ इजाजतपत्र नम्बर रहेको ओमेगालाई विभागले अर्को निर्णय नहुँदासम्मको लागि निलम्बन गरेको छ ।

वैदेशिक रोजगार ऐनको दफा ६१(४) बमोजिम निलम्बन गरिएको विभागले जनाएको छ । विभागलाई प्राप्त भएको सूचना अनुसार ओमेगाले यसअघि समेत व्यक्तिगत श्रम स्वीकृतिको आधारमा नेपाली विशेषज्ञ डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेको थियो । उक्त दफा अनुसार इजाजतपत्र बढीमा ६ महिनासम्म निलम्बन गर्ने सक्ने व्यवस्था छ ।


सोही आधारमा थप अनुसन्धान पुरा गरेर निर्णय नहुँदासम्मको लागि निलम्बन फुकुवा नहुने महानिर्देशक दहालले बताए ।

ओमेगाले यसअघि पनि कुवेतमा रोजगारीको अवसर भन्दै सामाजिक सञ्जालमार्फत विज्ञापन पटक पटक विज्ञापन गरेको देखिन्छ । ओमेगामाथिको अनुसन्धान नसकिएको र अनुसन्धानको क्रममा थप कुराहरू खुल्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!