असोज १८, काठमाडौँ । सरकारले युरोपेली मुलुकहरु जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएसंगै श्रममन्त्री शरद सिङ भण्डारी नेतृत्वको टोली अहिले रोमानियामा छ ।
गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जर्मनी र रोमानियासँग श्रम सम्झौता गर्ने प्रयोजनमा स्वीकृति दिएको थियो । श्रम सम्झौताको कार्यक्रममा सहभागी हुन श्रममन्त्री भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार बिहान रोमानिया प्रस्थान गरेको हो । उनिसंगै मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी समेत रोमानिया गएका छन् । साथै श्रम सम्झौताको लागि जाने टोलीमा मन्त्रालयका सहसचिव तथा कर्मचारीसहित रहेका छन् ।
प्राप्त जानकारी अनुसार नेपाल र रोमानियाबीच भोली शुक्रबार द्विपक्षीय श्रम सम्झौता हुने कार्यक्रम छ । रोमानियासँगको श्रम सम्झौतापछि मन्त्री भण्डारी जर्मनी जानेछन् । जर्मनीसँग पनि श्रम सम्झौता हुँदैछ ।
श्रममन्त्री भण्डारी र समकक्षी सिमोना वुक्युरा–अप्रेस्क्युबीच श्रम सम्झौतामा हस्ताक्षर हुन लागेको हो । पछिल्लो समय रोमानिया नेपाली श्रमिकको रोजाइको श्रम गन्तव्य बन्दै छ । गएको तीन वर्षमा १० हजारभन्दा धेरै नेपाली श्रम स्वीकृति लिएर रोमानिया गइसकेका छन् ।
जर्मनीसँग श्रम सम्झौताको मिति जतिसक्दो छिटो तय हुने श्रम मन्त्रालयले जनाएको छ ।