पुस २२, काठमाडौँ | दाङमा कोरोनाको उच्च्च जोखिम बढ्न थालेको छ । दाङ तुलसीपुरका तीन विद्यालयमा अध्ययतरत विद्यार्थी तथा शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तुलसीपुर– ८ स्थित अस्वारा मावि, तुलसीपुर– ६ स्थित राप्ती बाल एकाडेमी र जनता साँस्कृत माविका विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको हो । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीका अनुसार अस्वारामा तीन, सुस्तश्रवनमा ६ विद्यार्थी तथा पाँचजना शिक्षकमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै राप्ती बाल एकाडेमीमा अध्ययनरत दुई विद्यार्थी र जनता संस्कृत माविका एक शिक्षिकामा सङ्क्रमण पुष्टि भएको छ । उनीहरुलाई ‘ओमिक्रोन’ भएको हो वा होइन् भनी परीक्षणका लागि टेकुमा पठाइएको र आइतबार रिपोर्ट आइपुग्ने उहाँको भनाइ छ । विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएपछि अस्वारा माविलाई एक हप्ताका लागि बन्द गरिएको छ ।

पछिल्लो समय शिक्षक र विद्यार्थीमा सङ्क्रमण देखिएको भन्दै यसका लागि सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो । “विद्यार्थी र शिक्षकमा नै कोरोना देखिएको छ”, जनस्वास्थ्य निरीक्षक केसीले भन्नुभयो “यसले स्थिति भयावह ल्याउन सक्छ, त्यसैले सचेतना फैलाउन आवश्यक छ ।” केही समयका लागि विद्यालय बन्द गर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो ।

मेट्रो अस्पतालका ६ स्वास्थ्यकर्मीमा कोरोना देखिएको उहाँले जानकारी दिनुभयो । साथै दुईजना उपमहानगरपालिकाका कर्मचारीमा पनि कोरोना देखिएको छ । प्रायः कोही भारतबाट आएका हुन्, भने कोही पोखरा, काठमाडौंँलगायतका स्थानमा ‘टुर’ गएका रहेको निरीक्षक केसीले बताउनुभयो ।

उनीहरुमा घाँटी दुख्ने, ज्वरो आउने, जिउ दुख्ने समस्या देखिने गरेको छ । प्राय ः भेरोसिल, कोभिसिल्ड खोप लगाएकालाई नै सङ्क्रमण देखिएको र लक्षण पनि देखिने गरेको छ । अहिलेसम्म तुलसीपुरमा ३९ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ११ मात्रै खोप नलगाएका हुन् । राप्ती बाल एकाडेमीका प्राचार्य ठाकुर डाँगीका अनुसार ती सङ्क्रमित भनिएका विद्यार्थी केही दिनदेखि विद्यालय नआएको जानकारीदिनुभयो ।

Related News