रचना : धर्मानन्द भट्ट
राप्ती भेरि म लाग्छ है अझ भनूँ सेती र काली मणि
कर्णालीतिरको चिसो जल सबै मेची र नारायणी ।
सारा बागमती बनाउन खुशी कोशी तथा गण्डकी
राख्नेछौं सब यी सफा अब मिली दिन्नौं कुनै बन्धकी ।।
१
बारीभित्र सयौं सुगन्ध तनका चम्पा,चमेली,लिली
तिम्रा नेत्रहरू सुअङ्गहरुमा पर्दै गएमा मिली ।
भाला,बाण,खुणा,मुणा सब लिई औ रग्त जम्मै सकी
लड्छौं प्राण छँदा कुनै पल तिमी दिन्नौं कुनै बन्धकी ।।
२
डाँफे माथ हिमालको नजरले आत्माहरू जल्छ कि ?
हाम्रो यो तनको मिठो सुमनले हावा हुरी चल्छ कि ?
रोपे लाख गुलाफ बोट मुटुमा काँडा तिमी बिझ्छ कि ?
जेजे होस् नि हओस् कुनै पल तिमी दिन्नौं कुनै बन्धकी ।।
३
यो धौलागिरिको मुहार रसिलो हेर्दा उनैले मता
आत्मैबाट म भन्न लाग्छ तिनमा ए क्यान हेर्छौ बता ।
मैले आज दुबै छिमेक मनमा देख्दै छु है गन्धकी
बाँझो खेत रहोस् यहाँ तर तिमी दिन्नौं कुनै बन्धकी ।।
४
आमाकोख बसी हजार थरिका भाषा सिकौं है अब
सिक्दा मेलमिलापको घर यता देखेर हाम्रो सब ।
माया झिक्छ तथापि पाप मनमा झ्याप्पै लुकेको छ कि ?
मेरो यो अनुहार हो बुझ तिमी दिन्नौं कतै बन्धकी ।।
५
छन्द : शार्दूलविक्रीडित
ढाकारा,लेकम गाउँपालिका-०२,दार्चुला
रचना मिति : वि.सं. २०७४/०८/१३ गते ।