जब मेरो शरीर मर्यो
तब शरीरबाट म निस्केँ यानी आत्मा
हौ म त्यही आत्मा हुँ, म मरेको छुईँन
जस्लाई तिमीहरु मर्यौ भन्ठान्छौ
त्यो त केवल
मेरो म बस्ने मान्छेको स्वरूपको एक ढाँचा हो
जस्लाई सँसारले मान्छे भन्छन्
हो म मर्ने त्यही मान्छेको एक शरीर हो म होइन ।
***
मत टुलुटुलु हेरिरहेको छु सबैलाई
तर मलाई कसैले देख्न सक्दैन यति खेर
मेरो घरको प्राङ्गणमा सबै गाउँलेहरुले भरिएको छ
मेरो लास उठाउन तयारी गर्दैछन् मलामीहरु
मेरी अर्धाङ्गिनी रुँदै छे मूर्छा परी परी
मेरो राजा, मेरो बाबा भन्दै
पटक पटक अङ्गालो हाल्छे
मेरो पार्थिव शरीरलाई ।
***
म कसरी सम्झाउँकी
मेरी आफ्नी अर्धाङ्गिनीलाई म मरेको छुँइन भनेर
मलाई घृणा गर्नेहरु पनि यति खेर
मेरो मृत्युको शोकमा सबै चिन्तित
र गह भरी आँसु पारेका छ्न्
मलाई जन्म दिने मेरी आमा
मेरो बूढापाको सहारा खोसी लग्यौ हे दैव !
तिमीले भन्दै छाती पिटी पिटी रुँदै छिन् ।
***
म कसरी सम्झाउँकी मेरी आमालाई
म मरेको छुईँन भनेर
बिचरी मेरी पत्नी बोक्सी बनेकी छे आजको दिन
जस्ले सात जन्मसम्म साथ हुने गरी
अग्नि देवतालाई साक्षी राखी लगन गाँठोको
बन्धनमा बाँधिइन्
आज उनीले यै बोक्सीले खायो
मेरो छोरालाई भनेर आरोप सहनु परेको छ
मेरी आमाको ।
***
म कसरी सम्झाउँकी मेरी आमालाई
ए आमा, हजुरको बुहारीले मलाई कसरी खान
सक्छे उनी त आफै आधा प्राण भएकी छे
जसरी तिमी मेरो बाउ मर्दा आधा प्राण भएकी थ्यौ
तिमी आफ्नो पतिको मृत्यु वियोगमा बारबार
बेहोस भई पानी छम्के पछि होस्मा आउँथ्यौरे
के तिमी पनि बोक्सी थियौत ?
के तिमीलेनै मेरो बाउलाई खाएका हौत ?
फेरि कसरी भन्न सक्छ्यौ तिमी ए आमा
आफ्नै बुहारीलाई छोरा खाईस् भनेर ।
***
म त बस् एक आत्मा हुँ
जस्लाई तिमी खायौ भन्छौ त्यो त मेरो
एक मृत शरीर हो मात्रै, म त जिउँदै छु
न म कहिल्यै मर्छु न म कहिल्यै जन्मन्छु
तर आज दु:ख लागेर आयो
मलाई कसैले माया न गर्दो रहेछ
रहेछ त केवल नासिने शरीरलाई
केवल जलेर जाने मुर्दा लासलाई
म त जिउँदै छु
र त टुलुटुलु हेर्दै छु ।
***
ए आमा !
म कसरी सम्झाउँ तिमीलाई ?
ए अर्धाङ्गिनी !
म कसरी सम्झाउँ तिमीलाई ।
राजबाबु श्रेष्ठ 'सागर'
महोत्तरी, गौशाला न. पा. वडा न. १