२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पत्रपत्रिकाबाट

पाँच महिनामै ८ हजार कामदार कोरिया

२०८०, १९ जेष्ठ शुक्रबार ०६:३०

जेठ १९, काठमाडौँ | नेपालीको सबैभन्दा आकर्षक गन्तव्य मुलुक दक्षिण कोरियाले आफ्नो श्रम बजारमा जनशक्ति अभावलाई परिपूर्ति गर्न नेपाललाई थप कोटा बढाउँदै लगेको छ । त्यसका लागि चाहिने जनशक्ति उत्पादन गर्नसमेत नेपालसँग सहकार्यको प्रस्ताव अगाडि बढाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत स्रोत देशबाट कामदार ल्याउने नीतिअनुसार कोरियाले नेपाललाई उच्च प्राथमिकता राखेको हो । यो वर्ष मात्रै नेपालबाट झन्डै १९ हजार कामदार लैजाने कोरियाको तयारी छ । यो हालसम्मकै उच्च हो । कोरियाले अघिल्ला वर्षहरूमा प्रतिवर्ष औसत ८ हजार नेपाली कामदारको माग गरिरहेकामा गत जनवरीयता मात्रै ८ हजार २ सय ४१ जना गइसकेका छन् । सबैभन्दा बढी २०२२ मा १४ हजार नेपालीलाई लगिएको थियो ।


कोरियाको मानव स्रोत व्यवस्थापन सेवाका उपप्रमुख किम सङ जाले नेपालका लागि कोटा बढाउँदै जाने प्रतिबद्धता जनाए । ‘नेपालबाट छिटो कामदार आउने र इमानदार पनि रहेकाले हामीले नेपाललाई उच्च प्राथमिकतामा राखेका छौं, कोटा पनि बढाउँदै जानेछौं,’ राजधानी सोलमा पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालसमक्ष भने । ईपीएस मोडललाई थप प्रभावकारी बनाउन अध्ययन गर्न अर्यालको नेतृत्वमा सहसचिव उमाकान्त आचार्य, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, दक्षिण कोरियाका लागि श्रम काउन्सिलर चन्द्रकला वली चौलागाईं, उपसचिव दीपेन्द्र पौडेल र कोरिया शाखा प्रमुख पुष्पराज कटुवाल सोलमा (जेठ १२–१९) छन् ।

कोरियाका श्रम तथा रोजगार उपमन्त्री पार्क जोङपिलले गत डिसेम्बरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालसमक्ष नेपालबाट एक वर्षभित्र निर्माण, उत्पादन र कृषि क्षेत्रमा ४० हजारसम्म नेपाली लैजाने जानकारी दिएका थिए । कोरियाले त्यसयता हरेक महिना दुई हजारका दरले कामदार लैजान सुरु गरेको हो । कोरियाले ६ महिने मौसमी कामदार पनि लैजान थालेको थियो तर कामदार भाग्न थालेपछि स्थगन गरेको छ । कोरियाले पहिलो पटक जहाज बनाउनसमेत लैजाने प्रक्रिया थालेको छ । यसअघि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा मात्रै नेपाली लैजाने गरेको थियो । जहाज बनाउनमा रोस्टरमा छानिएको तीन हजारमध्ये असार पहिलो साता ७ सय २६ जना कोरिया जाँदै छन् ।

श्रम सचिव अर्यालले कोरियाको भर्ना प्रक्रिया निकै पारदर्शी भएको बताए । ‘कामदारको भर्ना प्रक्रिया निकै पारदर्शी छ, यसलाई पारदर्शी बनाउन दुवै सरकारले उच्च प्राथमिकता राखेको छ, यसलाई दुवै पक्षले निरन्तरता दिनुपर्छ,’ कोरियालीसमक्ष सचिव अर्यालको भनाइ थियो ।

कोरियाले आवश्यक जनशक्ति उत्पादन गर्न कोरिया सरकारको ग्लोवर इन्स्टिच्युट फर ट्रान्सफरिङ स्किल र नेपाल सरकारको व्यावसायिक सीप विकास तथा तालिम प्रतिष्ठानबीचमा समन्वयात्मक सम्बन्ध विकास गरी सीपयुक्त जनशक्ति तयार गर्ने जनाएको छ । सचिव अर्यालले ईपीएस प्रणालीमा देखिएका केही कमजोरी पक्षहरू भने सुधार गर्न आवश्यक देखिएको बताए ।

ईपीएस प्रणालीअन्तर्गत वार्षिक निश्चित कोटा नतोक्दा नेपाली पक्षलाई व्यवस्थापन गर्न कठिन भइरहेको छ । कोटा तोक्ने गरिए पनि कामदार लैजाने संख्या तलमाथि भइरहेको छ । नेपालले कोरियाली पक्षलाई वर्षभरि लैजाने संख्या यकिन भए व्यवस्थापनमा सहज हुने बताउँदै आएको छ । बायोमेट्रिकसमेत भइसकेपछि पनि रोजगारदाताले छनोट नगर्दा लामो समय पर्खनुपर्ने बाध्यता छ । बायोमेट्रिकमा उत्तीर्ण भई रोस्टरमा भएकामध्येबाट कोरियाली रोजगारदाताले कामदार छान्ने गर्छन् । कामदार छनोट गर्ने प्रक्रियालाई छरितो बनाउन र बहुपक्षीय सीप विकासमा जोड दिन नेपालले आग्रह गरेको छ । कोरियामा मृत्यु भएका नेपाली कामदारको शव ल्याउन पनि कठिन छ । शव ल्याउन लाग्ने खर्च पनि नेपाल सरकारले नै बेहोर्नुपर्छ । सचिव अर्यालले सबै रोजगारदाता कम्पनीले कामदारको २४ घण्टा नै बिमा हुने व्यवस्था गराउनुपर्नेमा जोड दिए । ‘दुई वर्ष पुगेपछि बिदामा घर जान दिइनुपर्छ,’ उनले कोरियाली पक्षसँग भने, ‘शव पठाउने जिम्मेवारी पनि रोजगारदाताले नै लिनुपर्छ ।’

सचिव अर्यालका अनुसार नेपालको यी चासोलाई कोरिया पक्षले सकारात्मक रूपमा लिएको छ । त्यस्तै ईपीएस प्रणालीबाट दक्षिण कोरियामा वैदेशिक रोजगारीमा गई फर्किएका नेपाली कामदारको दिगो पुनःस्थापनासम्बन्धी परियोजनाको प्रभावकारी कार्यान्वयन गर्नसमेत कोरिया पक्ष तयार भएको छ । कोरियाले आफ्नो फिर्ता भएका कामदारलाई विभिन्न उद्यम गर्न कोरियन सहयोग नियोग (कोइका) मार्फत करिब ८० करोड रुपैयाँको परियोजना सञ्चालन गरेको छ । ईपीएसअन्तर्गत ८९ हजार ८ सय १६ जना गइसकेका छन् । -कान्तिपूरबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण