पढ्न करिब 3 मिनेट लाग्छ

साउन १०, काठमाडौँ | गत बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको सुनको तौल अझै निक्र्योल भएको छैन। मोटरसाइकल र स्कुटरको ब्रेकसुमा लुकाएर ल्याइएको उक्त सुनको परिमाण थाहा पाउन सकिएको छैन। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुनलाई नेपाल राष्ट्र बैंकको टक्सार विभागमा बुझाइएको छ। सुन ८० देखि १०० केजी हुनसक्ने अनुमान गरिए पनि निश्चित तौल भने गरिएको छैन।

राष्ट्र बैंकको टक्सार महाशाखामा निर्देशक थानेश्वर आचार्यका अनुसार गालेपछि मात्रै सो सुनको परिमाण तौलिन मिल्छ। गाल्ने प्रक्रिया सुरु गर्न राजस्व अनुसन्धान विभागको पत्र पठाउनुपर्छ। विभागको पत्र आएपछि मात्रै प्रक्रिया अघि बढाइने छ। अहिलेसम्म सुन गालेर परिमाण निकाल्नको लागि राजस्व विभागबाट पत्र आइसकेको छैन। राजस्व विभागका महानिर्देशक नवराज ढुंगानाले भने, ‘पत्र विस्तारै जान्छ।’ यसलगत्तै अन्य सुनपनि बरामद भएकाले अनुसनधान भइरहेको छ। अनुसन्धान सकिएपछि गाल्ने प्रक्रियाका लागि पत्र लेख्छौं।

विमानस्थलबाट गत मंगलबार साँझ ठूलो परिमाणको सुन बरामद भएको छ। एक क्विन्टल बढी परिमाण छ भनिएको उक्त सुन अहिले नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा राखिएको छ।

टक्सार महाशाखा प्रमुख थानेश्वर आचार्यका अनुसार स्कुटरको व्रेकशुसहित सुनको तौल १५५ केजी छ। परीक्षण रिर्पोट आउन बाँकी छ।

यस्तै, अघिल्लो महिना पनि विद्युतिय चुरोट, भेपमा लुकाएर ल्याएको अवस्थामा ९ किलो सुन विमानस्थलबाटै गायब भएको थियो। यसमा भरियामार्फत ल्याएको र मात्राभन्दा बढी ल्याएको ५४१ किलोग्राम सुनको राजश्व तिराएर छाडिएको छ। कानुन बमोजिम ल्याउन पाउने तर भन्सार तिर्नुपर्ने परिमाणको हकमा राजस्व तिरेर उक्त सुन फिर्ता गर्ने गरिन्छ।

विभिन्न बहानामा देशभर सयौं केजी सुन समातिने गरेको प्रहरी तथ्यांकले देखाउँछ। एक तोलामै लाखौं रकम पर्ने सुन बरामद भएपछि कहाँ जान्छ त ? गैरकानुनी तरिकाले ल्याइएको तथा अवैध सामाग्री, नगद, सुनलगायतका बहुमूल्य सामाग्री सरकारी ढुकुटीमै जाने गरेको छ। निश्चित प्रक्रिया पूरा गरेपछि उक्त सुन सरकारी खातामा जाने गरेको छ।

विमानस्थलमा बरामद भएको होस या देशका सिमानाकामा जफत भएको सुन होस् या प्रहरी प्रशासनले बरामद भएको सुन होस्, निश्चित प्रक्रियापछि नेपाल राष्ट्र बैंकले सरकारसँग किन्ने गर्छ। उक्त परिमाणको सुन बराबरको मूल्य भन्सार विभागमार्फत सरकारको खातामा जम्मा गरेर सुन राष्ट्र बैंकले राख्ने गर्छ। आवश्यक परेको निकायलाई उपलब्ध गराउने गरेको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गतको टक्सार महाशाखामा प्रमुख थानेश्वर आचार्यका अनुसार केन्द्रीय बैंकले लिएको अवैध सुन वा चाँदी टक्सार महाशाखामा जान्छ। केन्द्रीय बैंकले जुनसुकै निकायवाट सुन प्राप्त गरे पनि उक्त सुन बराबरको रकम नेपाल सरकारको खातामा जम्मा गर्नुपर्ने हुन्छ।

विभिन्न समयमा बरामद वा जफत भएका अवैध सुन मुद्दाको क्रममा अदालतले अवैध वा भ्रष्टाचारको हो भन्ने पुष्टि गरेपछि मात्रै केन्द्रिय बैंकले उक्त सुनलाई आफ्नो सम्पत्तिको रूपमा प्रयोग गर्न पाउँछ। भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार सरकारको जुनसुकै निकायवाट सुन बरामद भए पनि नेपाल राष्ट्र बैंकमा जम्मा गरिन्छ। सुनको शुद्धता परीक्षणपश्चात् उक्त सुन राष्ट्र बैंकले नै प्रयोग गर्छ। यसबापत सुनको बजार मूल्य अनुसारको रकम सरकारी खातामा जम्मा गर्नुपर्ने हुन्छ।

सरकारलाई सुन चाहियो भने केन्द्रिय बैंकको टक्सार विभागमार्फत नै लिनुपर्ने हुन्छ। यस्ता घटनामा जफत भएका सुनको मुद्दा अदालतबाट फैसला नहुँदासम्म उक्त सुन सम्बन्धित निकायलाई धरौटी बुझाएर मात्रै राष्ट्र बैंकले राख्न पाउँछ। – अन्नपूर्णबाट