पुस २२, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले मालीमा शान्ति स्थापनाका लागि परिचालन गरेको शान्ति मिसन बन्द गरेको छ । अफ्रिकी मुलुक मालीमा पछिल्लो समय तनावको अवस्था बढ्दै गएको र त्यहाँको सङ्क्रमणकालीन सरकारको अपिलपछि संयुक्त राष्ट्रसङ्घले शान्ति मिसन बन्द गरेको हो । शान्ति मिसन बन्द भएसँगै त्यहाँ खटिएका नेपालसहित विभिन्न मुलुकका शान्ति सैनिकलाई फिर्ता बोलाइएको छ ।

मिनुस्मा मिसन नाम दिइएको मालीको शान्ति मिसनमा संयुक्त राष्ट्रसङ्घसहित विश्वका विभिन्न मुलुकका करिब १५ हजारभन्दा बढी शान्ति सैनिक तथा कर्मचारी खटिएका थिए ।

विद्रोही समूह र सरकार पक्षको लामो तनावपछि सन् २०१३ मा नयाँ सैनिक सरकारको गठन भएसँगै त्यहाँ शान्ति मिसनको अनुमति दिइएको थियो । १० वर्षको अवधिमा शान्ति सैनिकमा कार्यरत ३११ जनाले मालीमा ज्यान गुमाएका थिए भने अन्य सात सय जनाभन्दा बढी घाइते भएका थिए ।

पश्चिम अफ्रिकी भूपरिवेष्ठित मुलुक मालीका विभिन्न भेगमा द्वन्द्व रहँदारहँदै पनि शान्ति सैनिकले त्यहाँको नागरिकको जिउधनको रक्षासँगै स्थानीयलाई नेतृत्वदायी सिप विकास क्षमता बढाउन सघाएका थिए ।

मालीमा अहिलेसम्म गरेको काम सराहनीय रहेको र आवश्यक परेको खण्डमा फेरि तैनाथ गर्न सकिने संयुक्त राष्ट्रसङ्घले जनाएको छ । शान्ति सैनिक मिसन हटे पनि संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसले सञ्चालन गर्ने परियोजनाका कार्यालय र तिनका काम भने मालीमा कायम रहने जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिसन मालीमा सकिएपछि नेपाली सैनिक फिर्ता हुने क्रम जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार १८२ जनामध्ये अब १६ जना मात्र फर्कन बाँकी छन् ।

- यो समाचार गोरखापत्र दैनिकमा छ ।

Related News