फागुन १३, काठमाडौँ | भारतको कलकत्ता उच्च अदालत अन्तरगतको जलपाइगुडी सर्किट इजलासले त्यहाँस्थित चिडियाखानामा रहेका एकजोडी सिंहको नाम फेर्न आदेश दिएको छ ।

एक रिटमा फैसला सुनाउँदै उच्च अदालतले चिडियाखानामा रहेका भाले र पोथी सिंहको नाम परिवर्तन गर्न भनेको हो । यस विषयमा बीबीसीले लेखक तथा संविधानविद् अनुज भुवानियासँग कुराकानी गरेको थियो ।

भुवानियाका अनुसार यो मामिलामा न त कुनै अधिकारको उल्लंघन भएको छ, न त यससँग सम्बन्धित कुनै कानून नै छ । तरपनि रिट दायर गरियो । अदालतलाई यो महसूस हुँदैन कि यस्ता मामिलामा के कानूनी हस्तक्षेपको पनि आवश्यकता हुन्छ ?

उनका अनुसार अदालतले यस्ता रिटलाई जरिवाना सहित खारेज गरिदिनु पर्दथ्यो वा रिट फिर्ता लिन निवेदकलाई भन्नु पर्दथ्यो । तर अदालतले त उल्टै रिट निवेदनकर्ताको माग बमोजिम नै सिंहको नाम परिवर्तन गर्न आदेश दियो ।

कसले र किन दायर गर्यो रिट निवेदन ?

समाचार अनुसार यहीँ फेब्रुअरी १२ मा एक जोडी सिंहलाई त्रिपुराबाट ल्याएर सिलिगुडीस्थित सफारी पार्क चिडियाखानामा राखिएको थियो । ती सिंहमध्ये भालेको नाम अकबर थियो भने पोथीको सिता ।

इस्तो नामकरणले हिन्दुहरुको धार्मिक भावनामा चोट पुगेको भन्दै विश्व हिन्दु परिषदले कलकत्ता उच्च अदालतमा रिट दायर गरेको थियो ।

उक्त मुद्दामा सुनुवाई गर्दै उच्च अदालतका न्यायाधीश सौगात भट्टाचार्यले केही रोचक टिप्पणीहरु पनि गरे । साथै उनले आफ्नो अन्तरआत्मासँग सोधेर विवादबाट बँच्नका लागि सरकारी वकिललाई सुझाव दिए ।

उनले भनेका थिए– पश्चिम बंगाल पहिलेदेखि नै विभिन्न विवादसँग जुधिरहेको छ । यस्तोमा भाले र पोथी सिंहको नाममाथि हुने विवादबाट बँच्न सकिन्थ्यो । कुनैपनि पशुको नाम कुनै यस्तो व्यक्तिको नामबाट राख्नु हुँदैन जो आम मानिसहरुका लागि आदरणीय होस् ।

साथै अदालतले राज्य सरकारका वकिल देवज्योति चौधरीसँग प्रश्न गरेको छ कि के उनले आफ्नो घरपालुवा जनावरको नाम कुनै हिन्दु देवीदेवता वा मुस्लिम पैगम्बरको नामबाट राख्न सक्छन् ?

देशको एउटा ठूलो तप्काले सिताको पुजा गर्ने र अकबर एक धर्मनिरपेक्ष मुगल सम्राट रहेको भन्दै भन्दै ती न्यायाधीशले प्रश्न गरेका छन्– के कुनै जनावरको नाम रबिन्द्रनाथ टेगोरको नामबाट राख्न सकिन्छ ?

नाम बदल्ने सरकारको आश्वासन

सुनुवाइका क्रममा राज्य सरकारका वकिलहरुले ती सिंहको नाम त्रिपुरामै सन् २०१६ र २०१८ मा राखिएको जिकिर गरे ।

तर ती सिंहलाई सिलिगुडी ल्याउँदा बित्तिकैबाट विवाद सुरु भएको थियो ।

तर अदालतको आदेशपछि ती सिंहको नाम परिवर्तन गरिने प्रतिबद्धता उनले जनाएका छन्। बीबीसी

February 25, 2024
पत्रपत्रिकाबाट
चिडियाखानामा रहेका दुईवटा सिंहको नाम फेर्न भारतको उच्च अदालतको आदेश !
By साझासवाल
6 मिनेट पढाइ