२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुबईमा राजदुत प्रस्तावित गरिएकी लामाको नागरिकता शंकास्पद

२०७३, १६ फाल्गुन सोमबार ०३:२३

फागुन १६, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई) का लागि प्रस्तावित राजदूत आशा लामाको नागरिकताका विवरणहरू शंकास्पद देखिएका छन्। २०४८ असोज १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकता र त्यसको प्रतिलिपिमा उल्लिखित जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर नै बेग्लाबेग्लै छन्। 

पहिलोमा नागरिकता नम्बर २८८९ छ तर प्रतिलिपिमा भने २४२२ नम्बर छ। जन्मस्थान पहिलोमा विराटनगर १५, मोरङ उल्लेख छ भने प्रतिलिपिमा काठमाडौं लेखिएको छ। पहिलोमा जन्ममिति २०२१ कात्तिक १६ गते र बाबुको ठेगाना ओखलढुंगा उल्लेख छ, प्रतिलिपिमा भने जन्ममिति २०२१ वैशाख १ गते र बाबुको ठेगाना काठमाडौं लेखिएको छ। ‘प्रतिलिपि बनाउँदा कुनै पनि विवरण फरक पर्नु हुँदैन। सक्कलबमोजिम नक्कल ठीक हुनैपर्छ,’ जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले भने, ‘यो नागरिकताका विवरणहरू शंकास्पद देखिन्छ। आफूलाई सुविधा हुने गरी ठेगाना फेर्न पाइँदैन।’ उनले ठेगाना फेर्ने कार्यमा बदनियत देखिएकाले छानबिन आवश्यक देखिएको बताए। ‘असल नियत नै रहेछ भने पनि परिणाम खराब निस्कन्छ,’ उनले भने

वैदेशिक रोजगार व्यवसाय (म्यानपावर कम्पनी) सञ्चालन गर्दै आएकी लामा नेपाली कांग्रेसको कोटामा राजदूतका लागि सिफारिस भएकी हुन्। उनले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ४ बाट जनमोर्चा नेपालबाट प्रत्यक्षतर्फ चुनाव लडेकी थिइन्। उनले जम्मा १४ मत पाएकी थिइन्। लामाको १५ हजार कित्ता सेयर रहेको ‘जब ट्रयाक रिक्रुटिङ’ कम्पनीले सम्झौताअनुसार काम, सेवा र सुविधा नदिएको भन्दै वैदेशिक रोजगार विभागमा २३ वटा उजुरी दर्ता भएका छन्। पीडितले आफूहरू ठगिएको भन्दै म्यानापावरलाई कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन माग गर्दै उजुरी दिएका हुन्। यी उजुरीहरूमाथि छानबिन भइरहेको विभागले जनाएको छ। साउदीस्थित नेपाली दूतावासले पनि उक्त म्यानपावर कम्पनीलाई कारबाही गर्न भन्दै विभागलाई पत्राचार गरेको थियो। 

कोइराला पनि विवादित

सत्तारूढ कांग्रेसबाटै कतारको राजदूतमा सिफारिस गरिएका रमेश कोइराला पनि विवादित छन्। उनी पूर्वश्रममन्त्री टेकबहादुर गुरुङका अत्यन्त निकट र विश्वासिला हुन्। गुरुङको व्यवसायमा पनि कोइराला जोडिएका उनी निकटस्थहरू बताउँछन्। गुरुङ आफैं हिमाल म्यानपावर इम्प्लोइमेन्ट सर्भिस (लाइसेन्स नम्बर १०७/०५४/०५५) का सञ्चालक हुन्। यो म्यानपावर कम्पनीले पोर्चुगलको कृषि क्षेत्रमा जाने कामदारसँग चरम आर्थिक शोषण गरेको पीडितको गुनासो छ। पोर्चुगल हेर्ने फ्रान्सस्थित नेपाली दूतावासले गुरुङको म्यानपावर कम्पनीबाट पोर्चुगलका लागि पाएको मागपत्र छानबिनमा राखेको थियो। त्यो फाइल स्वीकृत गराउन गुरुङ कोइरालालाई लिएर फ्रान्सस्थित नेपाली दूतावासमै पुगेका थिए। गुरुङ राज्यमन्त्री भएका बेला कोइराला उनका सल्लाहकार नियुक्त भएका थिए। गुरुङका दाइ पाल्तेन गुरुङ श्रममन्त्री भएका बेला पनि कोइराला नै सल्लाहकार थिए। 

कतारको आकर्षक कम्पनीको भिसा (कामदारको मागपत्र) हात पार्न गुरुङको सक्रियतामा कोइरालालाई राजदूत बनाएर पठाउन लागेको भन्दै कांग्रेसभित्रै असन्तुष्टि बढेको छ। ‘कोइराला जानु भनेको गुरुङ गएसरह हो,’ उनीहरूका कामलाई निकै नजिकबाट नियालेका एक व्यवसायीले कान्तिपुरलाई भने, ‘श्रममन्त्रीको सल्लाहकारको हैसियतमा कोइरालाले हामीसँगै डिल गर्थे। अंग्रेजी राम्रो भएकाले देश बाहिरका एजेन्टसँगको डिलमा उनै बस्थे।’ वैदेशिक रोजगार व्यवसायीहरूका अनुसार कतार फाउन्डेसनको व्यापार हात पार्न उनलाई पठाउन लागिएको हो। ‘गुरुङले कतार फाउन्डेसनमा आफ्नो म्यानपावर कम्पनीबाट मात्रै पठाउने नीति बनाउँदै थिए। त्यसमा कोइरालाले नै भूमिका खेलिरहेका थिए,’ ती व्यवसायीले भने, ‘राज्यमन्त्रीबाट हटेपछि त्यो खेल रोकियो।’ त्यतिखेर कतार फाउन्डेसनसँग भएको पत्राचारको फाइल श्रम मन्त्रालयमै छैन। – कान्तिपुरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा