सन्दीपले सफाइ पाउने सम्भावना बलियो: किशोरीको तीन वटा जन्म मिति फेला !

Posted on: 27 Dec, 2022

पुस १२, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीको उमेर विवाद यतिबेला सर्वाधिक चासोको विषय बनेको छ । पीडित किशोरीको तीन वटा जन्म मिति प्रकाशमा आएसँगै कुन मितिलाई आधिकारिक मानिएला भन्नेबारे चासो बढेको हो । स्रोतबाट प्राप्त कागजातमा सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवादका सम्बन्धमा निरुपण गर्नका लागि काठमाडौं जिल्ला अदालतले माग गरेको कागजातमा किशोरीको जन्म मिति सरकारी अभिलेखमा २०६१ असार १८ गते उल्लेख रहेको पाइएको छ ।


यसअघि किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको प्रतिवादी सन्दीप लामिछाने पक्षका वकिलहरुले दावी गरेका थिए । यता वादी अर्थात् नेपाल सरकारको पक्षबाट बहस गरिरहेका अधिवक्ता र सरकारी वकिलहरुले भने किशोरीको जन्म मिति २०६२ जेठ १८ गते नै रहेको र वारदात भएको भनिएको समयमा उनी नाबालिग नै रहेको दावी गरिरहेका छन् । किशोरीको जन्म मिति खुल्ने विद्यालयको सर्टिफिकेट, उनले लिएको जन्मदर्ताको प्रतिलिपि र नागरिकतामा उनको जन्म मिति २०६२ साल जेठ १८ गते उल्लेख छ । यसरी तीन वटा जन्म मिति प्रकाशमा आएपछि आधिकारिक कुनलाई मान्ने भन्नेबारे प्रश्न उठेको छ ।

जन्म मिति २०६२ जेठ १८ गते मान्ने हो भने वारदात भएको भनिएको मिति २०७९ भदौ ५ गते राति र भदौ ६ गतेको बिहानसम्मको समयमा उनको उमेर १७ वर्ष मात्रै पूरा भएको हुन्छ । सन्दीपविरुद्ध जाहेरी दिने किशोरीले आफूमाथि २०७९ भदौ ५ गतेको रातिदेखि भदौ ६ गतेको बिहानसम्म दुईपटक जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

क्रिकेटर लामिछाने गत भदौ ६ गते साँझ केन्याविरुद्ध एकदिवसीय क्रिकेट खेल्न नौरोबी गएका थिए । त्यसको १५ दिनपछि अर्थात् २०७९ भदौ २१ गते किशोरीले महानगरीय प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएकी थिइन् । त्यसपछि लामिछाने असोज २० गते आत्मसर्मपण गर्दै नेपाल आएका थिए ।

प्रहरीको हिरासतमा रहेका लामिछानेलाई कात्तिक १४ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेर बुझाइएको थियो । काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसपछि कात्तिक १८ गते न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यसपछि लामिछाने थुनामै छन् ।

जबरजस्ती करणीको कसुरमा जाहेरी र पीडित भनिएकी किशोरी नाबालिग रहेको कारण लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ले १८ वर्ष नपुगेकी किशोरीसँग आपसी सहमतिमै शारीरिक सम्पर्क राखे पनि त्यसलाई जबरजस्ती करणी मानिने व्यवस्था छ । संहिताको दफा २१९ को उपदफा २ मा मञ्जुरी लिएर करणी लेनदेन गरेमा पनि बालिकाको उमेर १८ वर्षभन्दा कम भएमा त्यसलाई जबरजस्ती करणी मानिने उल्लेख छ । सोही कानुनको आधारमा सन्दीपमाथि बालिका बलात्कारको अभियोग लगाएर १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गरिएको छ ।

जाहेरीवाली किशोरीको तर्फबाट सरकार वादी भएर दर्ता गरिएको कागजातमा किशोरीको उमेर १७ वर्ष ३ महिना रहेको उल्लेख छ । उमेर खुल्ने नागरिकताको फोटोकपी, शैक्षिक प्रमाणपत्रको फोटोकपी आदि पनि समावेश गरेर वादी नेपाल सरकारले लामिछानेविरुद्ध मुद्दा दायर गरेको थियो ।

तर प्रतिवादी सन्दीप लामिछानेतर्फका वकिलहरुलाई किशोरीको उमेरमा शंका लागेपछि खोजबिन गर्दा किशोरीको जन्म मितिमा विवाद देखिएको पाइएको हो र हाल विभिन्न स्थानमा पेस गरेको कागजातमा किशोरीको उमेर फरकफरक रहेको पाइएको छ ।

तीनवटा पाइयो किशोरीको जन्ममिति

किशोरीको उमेरका सम्बन्धमा सरकार वादी भएर दायर भएको मुद्दामा वादी पक्षले किशोरीको जन्म मिति २०६२ जेठ १८ गते रहेको कागजात पेश गरेका छन् । किशोरीको जन्म मिति खुल्ने कागजातमा उनको नागरिकताको फोटोकपी र शैक्षिक प्रमाणपत्रको फोटोकपी पेस गरिएको छ । यो मितिले गणना गर्दा वारदात भएको भनिएको समय २०७९ भदौ ६ गते उनको उमेर १७ वर्ष ३ महिना मात्रै पुगेको हुन्छ । यस्तो अवस्थामा आपसी सहमतिमै करणी लेनदेन भएपनि त्यसलाई अपराध र बलात्कार मानिने कानुनी व्यवस्था छ ।

तर किशोरीले आफू पढेको कास्कीस्थित विद्यालयमा पेस गरेको कागजात र विद्यालयको दर्ता किताबमा किशोरीको जन्म मिति २०६१ जेठ १८ गते उल्लेख छ । किशोरी आफैले भरेको फारममा उनले आफ्नो जन्म मिति २०६१ जेठ १८ गते उल्लेख गरेकी छन् । यसलाई जन्म मितिका रुपमा मान्ने हो भने वारदात भएको भनिएको समयमा किशोरीको उमेर १८ वर्ष ३ महिना पूरा भएको हुन्छ र यसलाई सहमतिको यौनसम्बन्धका लागि पुगेको उमेर मानिन्छ ।

तर सबैभन्दा महत्वपूर्ण र प्रमाणका रुपमा लिन मिल्ने स्थानीय तहमा रहेको जन्मदर्तामा किशोरीको जन्ममिति २०६१ असार १८ गते रहेको पाइएको छ । नुवाकोटको एक स्थानीय तहले काठमाडौैं जिल्ला अदालतमा पठाएको उमेर खुल्ने कागजात र त्यससँग सम्बन्धित प्रमाणमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

काठमाडौं जिल्ला अदालतले कागजात माग गरेपछि उनको स्थायी ठेगाना रहेको नुवाकोटको एक स्थानीय तहले करिब १५ दिन पहिले नै जन्मदर्ता खुल्ने दर्ता किताब (ढड्डा) सहितको कागजात काठमाडौं जिल्ला अदालतलाई पठाएको थियो । उक्त दर्ता किताबमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको उल्लेख छ ।

किशोरीको परिवार अन्यत्र स्थानबाट नुवाकोटमा बसाईसराई गरी लिएको कागजात र प्रमाणपत्रमा किशोरीको जन्म मिति २०६१ असार १८ नै उल्लेख छ । स्मरणीय के छ भने सरकारी तथ्यांकमा दर्ता भएको किशोरीको उमेर खुल्ने पहिलो दर्ता २०७३ साल असोज ११ गते भएको थियो । सरकारको आधिकारिक निकायमा भएको पहिलो दर्तामा उनको जन्म मिति २०६१ असार १८ गते उल्लेख छ ।

बसाईसराईको फारम भर्दा र अन्यत्रबाट बसाईसराई गरी उक्त स्थानमा जाँदा भरेको अनुसूची फारम र उमेर खुल्ने कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको देखिन्छ ।

तर सोही स्थानीय तहबाट किशोरीले लिएको जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपिमा भने उनको जन्म मिति २०६२ जेठ १८ गते राखिएको छ । २०७५ साल वैशाख १८ गते लिइएको जन्मदर्ताको प्रतिलिपिमा उनको जन्म मिति २०६२ जेठ १८ गते उल्लेख छ । सोही स्थानीय तहले आफ्नो तथ्यांक नहेरी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि दिएको पाइएको छ ।

किशोरीको उमेरमा विवाद देखिएपछि काठमाडौं जिल्ला अदालतले किशोरीको स्थायी ठेगाना रहेको नुवाकोटको स्थानीय तहका नाममा आदेश गर्दै जन्म मिति खुल्ने कागजातको सक्कल प्रति नै माग गरेको थियो । उक्त कागजातमा किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको भन्दै पत्र पठाइएको छ भने जन्म मिति खुल्ने अन्य सक्कल कागजात समेत अदालतमा पठाइएको छ ।

सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिने किशोरीको उमेर १८ वर्ष पुगिसकेको प्रमाणित भएमा उक्त मुद्दामा व्यापक परिवर्तन हुन सक्नेछ । किशोरी होटलको कोठामा जाँदा हाँसीखुसी गएको र रिसेप्सनबाट आफैले साँचो लिएर गएको सीसीटीभी फुटेजमा देख्न सकिन्छ । भोलिपल्ट होटलबाट बाहिर निस्कँदा पनि किशोरी सन्दीपको हात समात्दै निस्किएको देखिएको छ । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएमा र त्यहाँ जबरजस्ती भएको कुनै चिन्ह वा प्रमाण नदेखिएको अवस्थामा न्यायालयले यसलाई ‘सहमति’ समेत मान्न सक्ने हुन्छ । यदि किशोरीको उमेर १८ वर्ष पुगेको प्रमाणित भएको अवस्थामा भने सन्दीपले सफाइ पाउने सम्भावना समेत बलियो बन्नेछ ।

उच्च अदालतका न्यायाधीश भन्छन्– पहिलो मितिमा दर्ता भएको तथ्यांकलाई प्रमाण मानिन्छ

लामो समय न्यायक्षेत्रमा बिताएका उच्च अदालतका एक न्यायाधीशका अनुसार उमेरको विवाद आउँदा सरकारी निकायमा दर्ता भएको कागजातलाई प्रमाणका रुपमा लिने गरिन्छ । सरकारी कागजात र दर्तामा पनि फरकफरक मिति देखियो भने पहिले भएको दर्तालाई प्रमाणका रुपमा लिने गरिन्छ । उमेर विवादमा आएको अवस्थामा अभियुक्तले शंकाको सुविधा समेत पाउन सक्ने भएको कारण पहिलेको मितिमा सरकारी निकायमा दर्ता भएको जन्ममितिलाई प्रमाणका रुपमा लिन सकिने हुन्छ ।

सरकारी निकायमा पहिले दर्ता भएको जन्म मिति भन्नाले किशोरीको उमेर खुल्ने पहिलो दर्ता २०७३ साल असोज ११ गते भएको थियो । सरकारको आधिकारिक निकायमा भएको पहिलो दर्तामा उनको जन्ममिति २०६१ असार १८ गते उल्लेख छ । बसाईसराईको फारम भर्दा र अन्यत्रबाट बसाईसराई गरी उक्त स्थानमा जाँदा भरेको अनुसूची फारम र उमेर खुल्ने कागजातमा उनको जन्म मिति २०६१ असार १८ गते रहेको कारण अदालतले यसैलाई प्रमाणका रुपमा लिन सक्ने सम्भावना प्रबल रहने ती न्यायाधीश बताउँछन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!