असोज २६, काठमाडौं । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदमा कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको छ ।

सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । दरखास्त फारम बुझाउने म्याद २०७९ कात्तिक २९ गतेसम्म छ ।

आर्थिक योजना तथा तथ्यांक सेवा, विविध सेवा र संघीय संसद सेवातर्फ सहसचिवमा विज्ञापन खुलेको छैन । तर उपसचिव पदमा भने क्रमशः ३, ६ र ११ पदमा विज्ञापन खुलाइएको छ ।

यसैगरी इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी भर्ना गरिने छ ।

यस्तै कृषि सेवातर्फ २ सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिवको लागि भर्ना खुलेको लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ सहसचिवमा २ र उपसचिवमा २२, स्वास्थ्य सेवातर्फ सहसचिवमा ४३ र उपसचिवमा ५९, राष्ट्रिय मानव अधिकार सेवातर्फ सहसचिवमा ४ र उपसचिवमा ८ जनाका लागि लोक सेवा आयोगले भर्ना खुलाएको छ ।

Related News