६ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै

१० पुष २०८०, मंगलवार ०३:१३

पुस १०, भक्तपुर | मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।

‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ ।

यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ । यो पर्वलाई नेवार समुदायले नवअन्नप्राशनका रूपमा समेत मनाउने गरेको संस्कृतिविद् तेजेश्वरबाबु ग्वँग बताउछन् ।

आजको दिन धान, गणेश, कूलदेवता, गैडुदेवता, गोठदेवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पिठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

यःमरी पर्व विशेषगरी अन्नको राजा धानसँग सम्बन्धित रहेको संस्कृतकर्मी रामेश्वर बज्राचार्य बताउछन्। यःमरी पुन्हि सुरु हुनुअघि घर–घरमा भित्र्याइएको धानलाई पाँच–छ दिन छोपेर राखी, घाममा सुकाएर पूजा गरेपछि मात्र भकारीमा राखिन्छ । नयाँ धान वर्षभरिका लागि पूगोस् भनेर नेवार समुदायमा धानलाई पूजा गर्ने प्रचलन छ । आजको दिन धान राखिएको भकारी, ढुकुटी, घ्याम्पोलगायतका भाँडामा नयाँ चामलको पिठोबाट यःमरी बनाएर पाथीभरि यःमरी राखेर धानलाई अन्नपूर्ण देवताका रूपमा पूजा गर्ने परम्परा रहेको उनी बताउछन् ।

यःमरी पुन्हिका दिन गृहणीहरु शुद्ध भएर चामलको पिठो मुछेर रोटीको माथिल्लो भाग गजुरजस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा चाकु, तिल, मास, गुदपाक, खुवा राखी क्रिकोण आकारमा बनाई पानीको बाफमा पकाउने गरिन्छ ।

परम्पराअनुसार यःमरी पकाएको चार दिन, छ दिन र बाह्र दिनसम्म धानको भकारीमा यःमरी पूजा गर्ने र छोरीचेली तथा आफन्तलाई बोलाएर भोज खुवाउने प्रचलन छ । यःमरीलाई कुवेर र गणेशका प्रतीकका रूपमा समेत लिइने उहाँ बताउछन् ।  

यःमरीको मायोँ (केटी) र वायोँ (केटा) बनाएर धानलाई पूजा गरिन्छ । धानको संरक्षण महिला र पुरुष दुवैले गर्ने हुँदा मायोँ र वायोँको पूजाले महिला र पुरुषबीचको समानतालाई देखाउने संस्कृति पहिलादेखि नै रहँदै आएको उनी बताउछन् । 

तिहारमा देउसीभैलो खेलेझैँ धान्यपूर्णिमाका दिन साँझ टोलटोलका घरघरमा गएर युवायुुवतीले गीत गाउँदै यःमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । आजको दिन साँझ घरघरमा गएर देउसीभैलो खेलेजस्तै गरी यःमरी माग्ने प्रचलन अहिले लोपोन्मुख अवस्थामा पुगेको छ । योमरी माग्ने क्रममा घरघरमा गएर यो गीत गाउँने प्रचलन छ । 

‘ट्यो सिं ट्यो, बकसिं ट्यो

लटापाटा कुलिचाँ जुसिंट्या ।।

ब्यु मह ल्यासे, म्ह ब्यु म्ह बूढीकुटी चा ।।

छिमनचुकी जिमनचुकी, बिगोसा याकन्ब्युँ ।।

अर्थात् 

‘जुनसुकै भाँडाबाट भए पनि झिकेर देऊ

माना–पाथी जेबाट जति दिए पनि देऊ ।

दिने मान्छे राम्रो, नदिने मान्छे नराम्रो ।

तिम्रो पनि जाडो, हाम्रो पनि जाडो

दिने भए छिटो देऊ’ 

यस्ता गीत गाउँदै यःमरी पुन्हिमा घरघरमा गएर यमरी, दान, दक्षिणा, धान, चामल पनि माग्ने प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ । नेवार समुदायमा दान गरेर चाडपर्व मनाउने परम्परा अझै छ । आफ्नासँग नभए अरुसँग मागेर भए पनि खानुपर्छ भन्ने मान्यताअनुसार नै यःमरी टोलका सबैले बाँडेर खानुपर्छ भन्ने मान्यता रहेको संस्कृतकर्मी बज्राचार्य बताउछन् ।

संस्कृतिकर्मी बज्राचार्यले मल्लकालीन अन्तिम अवस्थामा नेपाल भाषा उच्च स्थानमा रहेकाले यःमरी माग्ने गीत त्यही समयदेखि प्रचलनमा आएको हुनसक्ने बताउँदै यःमरी माग्ने गीतमा नेवार समुदायमा हुने एकतर्फी प्रेमको झल्कोसमेत पाइने बताए । यो प्रचलनलाई अहिलेका पुस्ताले छाड्दै गएपछि ऐतिहासिक परम्परा लोप हुन लागेको उनको भनाइ थियो ।

यःमरी पूर्णिमाको दिन आज यहाँका नेवार समुदायले समय सूचक चाड एवं दान पर्वका रूपमा यःमरी पुन्हि मनाउने गर्छन् । धार्मिक विश्वासअनुसार आजको दिनदेखि दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिने गरिन्छ । धान्यपूर्णिमा अर्थात् यःमरी पुन्हिका अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन रहेको छ । 

किंवदन्तीअनुसार पाञ्चाल देश (हालको पनौती)मा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महर्जन बस्दथे । उनका दम्पती भगवान् विष्णुका परमभक्त थिए । उनीहरूको दयालु स्वभावको जाँच गर्न एक दिन धनपति कुवेर गरिब ब्राह्मणको वेशमा भिक्षा माग्न सुचन्द्रका घरमा पुगेका थिए । सुचन्द्रका श्रीमतीले ब्राह्मणरुपी कुवेरलाई श्रदापूर्वक आफूले तयार पारी राखेको यःमरी खुवाएका थिए । उनको सत्कारदेखि प्रशन्न भई कुबेरले आफ्नो असली रुप देखाई यःमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी यःमरी चढाउने विधि बताएर गए । सोहीअनुरुप सुचन्द्र दम्पतीले यःमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादका रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति वृद्धि भयो र यःमरी खाएका कारण शरीरसमेत हृष्टपुस्ट हुन थाल्यो । त्यही बेलादेखि नेवार समुदायमा यःमरी पूर्णिमा मनाउने  संस्कृति विकास भएको मानिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए हेटौँडा सिमेन्ट उद्योग ६ महिनापछि पुनः सञ्चालनमा