साउन १४, काठमाडौँ | पोखरामा स्कुल बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने चालक, सहचालकसहित २४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा बिरौटास्थित एलपी देवकोटा मेमोरियल इंग्लिस बोर्डिङ स्कुलकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका ६ वर्षिय छोरा प्रिन्स विकको मृत्यु भएको हो।
आरती सोही विद्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत थिइन् ।
सोमबार बिहान ८:५५ बजेतिर पोखरा महानगरपालिका- २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरातर्फ आउँदै गरेको ग १ क ६२१९ नम्बरको स्कुल बस दुर्घटना भएको हो।विद्यार्थी बोकेर एलपी देवकोटा विद्यालय जाँदै गरेको स्कूल बस थुन्कु भन्ने ठाउँमा दुर्घटनामा परेको थियो ।
उक्त बस सडकबाट ५० मिटर तल खसेको थियो। घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ।