भदौ ३, काठमाडौँ । सहकारी बचत अपचलनका लागि छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसअघि बोलाउने तयारी गरे पनि विभिन्न कारणले मिति सरेको समितिका एक सदस्यले जानकारी दिए । लामिछाने अघि अर्का एक व्यक्तिको बयान लिइने ती सदस्यले बताए ।

‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ । त्यसका लािग अर्को व्यक्तिको बयान हुनेछ,’ ती समिति सदस्यले भने, ‘भदौ ७ गतेतिर उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी छ, तलमाथि पनि हुन सक्छ । पहिले पनि सरेको हो ।’

समितिले आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिइसकेकाे छ । लामिछानेसँग जाेडिएका कुमार रम्तेल, रोशनी गुरुङलगायतसँग बयान लिइसकेकाे छ । यिनीहरूको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने तयारी गरेको छ ।

‘उहाँ (लामिछाने) को नाममा छानबिन गर्ने भन्ने त होइन । गोर्खा मिडियाको छानबिन गर्दा जिम्मेवार व्यक्ति भएकाले उहाँलाई बोलाउने तयारी गरेका छौं,’ ती सदस्यले भने । उनका अनुसार बयानका क्राममा विपिन आचार्यले कम्पनीको प्रबन्ध निर्देशक लामिछाने भएपछि उनकै हस्ताक्षर चल्ने हो भनेर बयान दिएका छन् ।

समितिले गोरखा मिडियाअन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको समितिका अर्का सदस्यले बताए । जोशीको आमाको निधन भएकाे र ६ भदाैसम्म किरियामा बस्नुपर्ने भएकाले समितिले जोशीसहित रविलाई ७ भदाैमा बोलाउने तयारी गरेको हो ।

रवि लामिछानेसँग भदाै ७ मा बयान लिने तयारी