भदौ ४, काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको दुईवटै समितिले काम गरिरहेका छन् । गत साउन ३१ मा ट्रकले स्कुटरलाई ठक्कर दिएको घटनाबारे छानबिन गर्न प्रहरी र प्रशासनले गठन गरेका समितिले काम गरिरहेका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसी नेतृत्वको समितिले छानबिन सकेर आज प्रतिवेदन बुझाउने तयारी गरेको छ । समितिले ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ । सो क्रममा उनले स्कुटर नदेखेको बयान दिएका छन् । ‘म आफ्नै गतिमा गाडी हाँकी रहेका थिएँ,’ उनले बयानमा भनेका छन्, ‘मैले स्कुटर देखिनँ, ठोक्किएको जस्तो लागेपछि हेर्दा दुर्घटना भएको रहेछ ।’

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको समितिले पनि दुर्घटनास्थलको सीसीटीभीको फुटेज जाँच गरेर ट्रक चालकसँग बयान लिएको छ । समितिसँग चालकले ‘मान्छे किचेको थाहै नपाएको, गाडी बम्पिङ भएपछि लुकिङ ग्लासमा हेर्दा दुर्घटना भएको देखेको’ बताएका छन् । दुर्घटना ‘भवितव्य’ भएको दुवै छानबिन समितिको प्रारम्भिक निष्कर्ष छ ।

त्यसअघि प्रहरीसँगको बयानमा पनि चालक श्रेष्ठले स्कुटर नदेखेको बयान दिएका थिए । चालकको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी वेद विष्टले भने, ‘मैले स्कुटर मेरो अगाडि आएकै देखिनँ । म आफ्नै गतिमा थिए । मैले गल्ती चलाए जस्तो लाग्दैन । चक्काभित्र छिरेको नै थाहा नहुँदा घिस्रिन पुग्यो । स्कुटर चालकले दायाँ साइडबाट बायाँ च्याप्दा ‘स्लो’ चलाउँदा चक्काभित्र छिरेजस्तो लाग्छ ।’

दुर्घटनामा परेर ओखलढुङ्गाको चिसंखुगढी गाउँपालिका-४ घर भइ हाल काठमाडौंको कपन बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाले ज्यान गुमाएका थिए । बा.४९ प ८९४४ नम्बरको स्कुटरलाई ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको हो ।