2026-07-27 05:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भैँसीले उल्टै बाघलाई कसरी मार्‍यो?

भदौ ६, काठमाडौं । सामान्यतया बाघले मानिस तथा अन्य जनावरलाई आक्रमण गरेर मार्छ।

तर मकवानपुरमा भैँसीले बाघ मार्‍यो। धेरैलाई खुलदुली लागिरहेको हुनुपर्छ। यो कसरी सम्भव भयो? 

मकवानपुरको मनहरि गाउँपालिका-६, प्रतापपुरस्थित गोठमा रहेको दुहुना भैँसी बिहीबार बिहानै अत्तालिएर कराएपछि भैँसीधनी बलबहादुर राईको निद्रा खुल्यो। 

‘बिहान यस्तै ३ बजेतिर भैँसी अत्तालिएर बेस्सरी करायो,’ राईले भने, ‘भैँसी ब्याएको १ महिना भयो। अस्ति ५ दिनअघि मात्रै पाडो मरेको थियो। त्यसयता बच्चा खोजेर होला प्रायः कराइरहेकै हुन्थ्यो। तर एक्कासि आत्तिएर दाम्लै चुँडालौँलाझैँ गरी कराउन थालेपछि गोठमा हेर्न जाँदा बाघ पो लम्पसार परेको देखेँ।’

केही दिनदेखि सोही गाउँवरपर डुलिरहेको बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्जको टोलीले निकै प्रयास गरेको थियो। दुईवटा हात्ती र प्राविधिकसहितको टोलीले फेला पार्न नसकेको त्यही बाघ बलबहादुर राईको भैँसीगोठमा पसेको रहेछ।

बलबहादुर भन्छन्, ‘पाडोको शोकमा रहेको भैँसीले त्यही तोडमा बाघलाई मारेको हुनसक्छ। हामीलाई पनि लात्ता हान्ने, दूध दुहुन नदिने, नौलो मान्छे गोठ वरपरआए दाम्लै छिनालेर हानौँलाझैँ गर्ने भएको थियो।’

बलबहादुर गोठमा पुग्दा भैँसीको गर्धनबाट रगत बगिरहेको थियो। पाटेबाघ भने हल न चलको अवस्थामा ढलिरहेको थियो।

यो देखेपछि उनले हत्तपत्त वडाध्यक्ष युवराज थपलियालाई खबर गरे। वडाध्यक्ष थपलिया टोलीसहित तुरुन्तै घटनास्थल आइपुगे। थपलियाले निकुञ्जमा खबर गरिदिए। निकुञ्जको टोली पनि केही बेरमै घटनास्थल आइपुग्यो। 

‘अचेत अवस्थामा रहेको बाघ मरिसेकेको रहेछ। हामीले त बेहोस भएको होला भनेर हेर्नै डराइरहेका थियौँ’, वडाध्यक्ष थपलियाले भने, ‘बाघ बूढो रहेछ। केही दिनदेखि गाउँवरपर नै घुमिरहेको थाहा थियो। गाउँका सबै त्रसित थिए। रातमा सिकार गर्न आएको बाघ नै पो मरेछ।’

चितवन राष्ट्रिय निकुञ्जको टोलीले घटनास्थलको अवलोकन गर्दा बाघ बूढो भएकाले भैँसीले हान्दा मरेको अनुमान गरेको छ। घरपालुवा जनावरलाई बाघले मारेका घटना थुप्रै हुने गरे पनि घरपालुवा जनावरले बाघ मारेको घटना भने पहिलोपटक थाहा पाइएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख वरिष्ठ संरक्षण अधिकृत डिल बहादुर पुर्जा पुन बताउँछन्।

‘भैँसीले नै बाघ मारेको घटना त यसअघि घटेको थिएन’, पुनले भने, ‘बाघ निकै दुब्लो रहेछ। सिकार गर्न नसक्ने अवस्थामा पुगेको उक्त बाघ बिरामीसमेत रहेको पाइयो। घाँटीभन्दा तल गर्धनमा दुईवटा घाउ रहेछन्। त्यसमा कीरा परिसकेको रहेछ। बाघ आफैँ कमजोर अवस्थामा रहेका कारण भैँसीकै आक्रमणबाट मरेको होला।’

निकुञ्जअन्तर्गतको सेक्टर सौराह ब्यारेकबाट आएको नेपाली सेनाको टोलीले मरेको बाघलाई निकुञ्जको कार्यलयमा ल्याइदिएको निकुञ्ज प्रमुख पुनले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल