माघ १०, इलाम । नसर्ने तथा कडा रोगीको सङ्ख्या बढ्दै गइरहेको अवस्थामा आयुर्वेद उपचार क्लिनिकले गाउँ–गाउँमा सञ्चालन गरेको आयुर्वेदिक उपचार प्रभावकारी बन्दै गएको छ ।

अञ्चल आयुर्वेद कार्यालय आइतबारे र जिल्लास्थित अन्य आयुर्वेद औषधालयले साँखेजुङस्थित नेपालटार र गोदक–४ मा दुई वर्षदेखि नियमित रूपमा गाउँघर क्लिनिक सञ्चालन गर्दै आएका छन् । प्रत्येक १५ दिनमा हुने क्लिनिकमा आसपासमा ७० जनाभन्दा बढीले नियमित सेवा लिइरहेको मेची अञ्चल आयुर्वेद कार्यालय आइतबारेका आयुर्वेद सहायक नवीनकुमार झाले जानकारी दिनुभयो । “नसर्ने रोग लागेका ६०÷७० जना नियमित आउने गरेका छन्” उहाँले भन्नुभयो “त्यस्तै सामान्य बिरामी परेका र अन्य पनि थुपै्र आउँछन् ।”

क्लिनिकमा दम, रक्तचाप, बाथ, मधुमेह, क्यान्सर र मुटुरोगीको स्वास्थ्य परीक्षण गरेर औषधि दिइन्छ । क्लिनिकमा दीर्घरोगीलाई १५ दिनका लागि औषधि दिइने गरेको झाले बताउनुभयो । यस्ता किसिमका कडा रोगीले नियमित औषधि सेवन गर्नुपर्छ । आयुर्वेदिक औषधिको एलोपेथिक औषधिको जस्तो ‘साइड इफेक्ट’ नहुने भएकाले आयुर्वेद क्लिनिकमा दीर्घरोगी आकर्षित हुन् थालेका छन् । त्यसमा औषधि समेत निःशुल्क हुने भएकाले बिरामीलाई सहज भएको छ ।

क्लिनिकमा चिकित्सकले स्थानीय जडीबुटीको प्रयोगका बारेमा समेत जानकारी दिने भएकाले ज्येष्ठ नागरिक क्लिनिकमा उत्सुकताका साथ उपस्थित हुन्छन् । “जडीबुटी कसरी प्रयोग गर्ने भन्ने जान्न पनि स्थानीय भेला हुन्छन्” झा भन्नुहुन्छ “रोग अनुसार जडीबुटीको प्रयोग गर्न सिकाउँछौँ ।”

दुई स्थानमा थालिएको क्लिनिक प्रभावकारी भएपछि धेरै विषादीको प्रयोग हुने अर्को क्षेत्र सूर्योदय नगरपालिकाको कन्याममा पनि गाउँघर क्लिनिक चलाइने भएको छ । क्लिनिकका लागि नगरपालिकाले औषधिमा सहयोग गर्ने जनाएको छ ।

खानपान, खाद्यबालीमा भइरहेको विषादी प्रयोगका कारण कडा किसिमका दीर्घरोगीको सङ्ख्या बढ्दै गए पनि किनेर औषधि खानुपर्ने भएकाले धेरै दीर्घरोगीले औषधि खाँदैनन् । गाउँघर क्लिनिकमा आएका बिरामीलाई ‘फुल फेज’ का लागि औषधि दिइने भएकाले क्लिनिक प्रभावकारी बनेको हो । तर, सरकारले पर्याप्त बजेट व्यवस्था नगर्दा आयुर्वेदिक औषधिको अभाव हुने गरेको छ । एक पटकमा १२० दिनको लागि औषधि खरिद गरिन्छ । तर, त्यो औषधि समयअघि नै सकिने गरेको झाले बताउनुभयो ।

आइतबारेको अञ्चल आयुर्वेद कार्यालयसहित फाकफोक, जमुना, एकतप्पा र इलाम नगरपालिकामा औषधालय छन् । ती औषधालयमा समेत औषधि अभाव हुने गरेको छ । आइतबारेको कार्यालयमा मात्रै दिनको २५÷३० बिरामी आउने गरेका छन् । अन्य औषधालयमा पनि पछिल्लो पटक सेवाग्राहीको उपस्थिति बाक्लै छ । रासस

January 23, 2017
इलाम - ILM, समाज
दीर्घरोगीका लागि आयुर्वेदिक उपचार प्रभावकारी बन्दै
By kit
5 मिनेट पढाइ