पढ्न करिब 1 मिनेट लाग्छ

चैत ३०, गौशाला । दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी प्रहरीले जिल्लाको एक ७२ वर्षीय वृद्धमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार जिल्लाको पिपरा गाउँपालिका–२ बस्ने ७२ वर्षीय मुनीजी भन्ने कुमार पाण्डेले स्थानीय १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको हो ।

स्थानीय आदर्श इङ्गलिस बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत एक छात्रा स्कुल सकेपछि घर गइरहेका क्रममा गत चैत १७ गतेका दिन वृद्ध पाण्डेले सो बालिकालाई उनको घरभित्र लगेर बलात्कार गरेको आरोपमा मङ्गलबार उनीमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक पोखरेलले बताउनुभयो ।

पीडित बालिकासहित उनका बुबा, आमासहित स्थानीय ५० बढी व्यक्ति विभिन्न नारा जुलुस लगाउँदै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेपछि प्रहरीले आरोपी पाण्डेमाथि मुद्दा दर्ता गरेको छ भने फरार रहेका उनलाई पक्राउ गर्न प्रहरी प्रमुख परिचालन गरिएको पोखरेलले बताउनुभयो । रासस