काठमाडौँ | इजरायलमा रहेका नेपाली विपिन जोशी हमासको कब्जामा परेको १५ महिना बितिसकेको छ। ७ अक्टुबरमा अपहरण भएपछि विपिनको फोनको अन्तिम लोकेसन गाजामा देखिएको थियो । त्यसयता विपिनको अवस्था वा उनी कहाँ छन् भन्नेबारे अहिलेसम्म कुनै ठोस जानकारी छैन ।
हाल इजरायल र हमासबीचको पछिल्लो युद्धविरामसँगै बन्धकहरूको रिहाइ प्रक्रिया सुरु समेत भइसकेको छ। आम रूपमा युद्धविराम र बन्दी रिहाइको प्रक्रिया अघि बढेसँगै विपिन जोशीको अवस्थाबारे ‘के विपिन सुरक्षित छन् त ? पछिल्लो समय उनी सुरक्षित रहेको खबर कहाँबाट, के आधारमा कसले ल्यायो त ? यसमा कति सत्यता छ ‘ जस्ता धेरै प्रश्नहरू छन्।
विपिन जोशी जीवित रहेका तीन प्रमाण
विपिनबारे राजदूत वाससँग हालै मात्र परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि जानकारी लिएकी थिइन् । मन्त्री देउवालाई उनले त्यही खबर सुनाएका छन्, जुन उनले अरबी देशबाट पाएका थिए । २९ पुसमा देउवाले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुगेर विपिन सुरक्षित रहेको र रिहाइको पहल भइरहेको बताएकी थिइन् ।
परिवारमा अहिले विपिन सकुशल रहेको आशा बलियो भएको छ। युद्धविरामको खबरले परिवारमा आशाको सञ्चार त गरेको छ, तर कुनै पक्षको कमजोरीले यो प्रक्रिया फेरि विफल हुने डर पनि उनीहरूलाई सताइरहेको छ। विपिनकी आमा पद्मा छोराको फोन कुर्दै छिन्। छोराले “आमा, म छुटेंँ, अब छिट्टै गाउँ आउँछु” भन्ने खबर दिने प्रतीक्षामा उनले समय बिताइरहेकी छिन्। १८ वर्षीया पुष्पा पनि दाजुको सकुशल रिहाइमा ढुक्क देखिन्छिन्।
कतार, इजिप्ट, अमेरिका लगायत देशहरूको मध्यस्थतामा १९ जनवरीदेखि लागू भएको युद्धविराम सम्झौताअन्तर्गत तीन जना इजरायली महिलालाई हमासले उपहारसहित रिहा गरिसकेको छ। पहिलो चरणमा ४२ दिनभित्र ३३ जनालाई रिहा गर्ने योजना छ। इजरायलले यसको बदलामा प्यालेस्टाइनी कैदीहरूलाई छोड्नेछ।
युद्धविरामको दोस्रो र तेस्रो चरणबारे भने अझै छलफल गर्न बाँकी छ। सहमतिअनुसार पहिलो चरणमा महिला, ज्येष्ठ नागरिक र बालबालिकालाई प्राथमिकता दिइनेछ। हमासले आफ्नो कब्जामा रहेका ९४ मध्ये ५९ जना जीवित रहेको पुष्टि गरेको छ, जसमा विपिनसहित ९ जना विदेशी छन्। उनीहरूको सुरक्षित रिहाइका लागि सबै पक्षले युद्धविराम सम्झौतामा पालना गर्नुपर्ने हमासले चेतावनी दिएको छ।
विपिनको रिहाइ प्रतीक्षा केवल परिवारको मात्र होइन, सिङ्गो देशको हो। इजरायली अधिकारीहरूको भनाइअनुसार विपिन सकुशल रहेको अनुमान गर्न सकिन्छ। तर, उनी नेपाल फर्कन अझै केही समय लाग्ने देखिन्छ।