अस्थायी होटेल संचालन भएसंगै उरै पदयात्री पनि बढे

Posted on: 12 Sep, 2017

मकरराज धामी/भदौ २७, बझाङ । उरै पदयात्रामा अस्थायि होटलहरु संचालन भए संगै पदयात्रीहरु पनि बढन थालेका छन् । 

यो क्षेत्र पर्यटकहरुको रोजाईमा पर्ने भए पनि क्याम्पिङ गरेर जाँदा भरिया संगै खाना खर्च पनि महंगो हुने भएका कारण पदयात्रीको संख्या कमै थियो । पछिल्लो समयमा उरै भञ्जाङ पदयात्रा आउने यात्रीहरुका लागी स्थानीयहरुले अस्थायी होटल सञ्चालन गर्ने क्रम बढे पछि आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बृद्धि भएको छ । 


विषेश गरी काडा गाउपालिकामा वसोवास गर्दै आएका भोटे जातीहरुले यार्सागुम्बाको सिजनलाई लक्षित गर्दै उरै क्षेत्रका विभिन्न ठाँउहरुमा त्रिपाल टाँसेर होटल व्यवसाय गर्दै आएका थिय । गत बर्षहरुको तुलनामा पदयात्रीको संख्या पनि बढदै गएकोले होटल व्यवसायिहरु पनि चैत देखि कात्तिक सम्म बस्ने गरेका छन् ।  

चैत्र देखि असार मसान्त सम्म यस क्षेत्रमा होटल व्यवसायि गर्दै आएका काडाका स्थानियहरु उरै पदमार्गमा यात्रीहरुको संख्या बढे संगै चैत देखि असोजसम्म अस्थायी होटलहरु संचालन गर्दे आई रहेका छने । बाहिरबाट हेर्दा सामान्य लागे पनि पर्यटकहरुलाई सन्तुष्टि दिनमा कुनै कसुर बाँकी राख्दैनन । कार्तिक पहिलो हप्ता तिर हिउँ पर्न सुरु हुने र बाटो कठिन हुने हुँदा पदयात्रामा यो बाटो भएर कमै जाने भएकाले होटेल संचालकहरु अस्थायी होटल बन्द गरेर बेंसी झर्ने गरेको नेपाल चीन व्यापार संघका सचिव जगत तामाङले बताए । उनले भने उरै क्षेत्रमा कात्र्तिकको पहिलो हप्ता बाट हिउपर्ने भएकाले पर्यटकहरुका लागी त्यति राम्रो समय मानिदैन उच्च हिमालि क्षेत्र भएकाले चीसो पनि अत्याधिक हुन्छ त्यसैले ६ महिना जति मात्र होटल संचालन हुन्छ । 

सदरमुकाम चैनपुर देखि करिब ६ दिन लाग्ने पदयात्रा पछि उरै पुगिन्छ । सदरमुकाम चैनपुरबाट २२ किलोमिटर जिपको यात्रापछि सुरु हुने पदयात्रा मार्गको तल्कोट, स्याडा, पनाल्त, कुवा र जाईलेकमा व्यवस्थित स्थायी होटल नै खोलिएका छन् । काडा गाउपालिकाका विभिन्न ठाँउहरुमा पनि स्थायि होटेलहरु भेटिन्छन् । 

काडा गाउपालिकाको धुली भन्दा माथि मानव बस्ती छैन । यद्यपि ठाउँठाउँमा खोलेका यहाँका अस्थायी होटलले दिने सुविधा र आतिथ्यताले पदयात्रीहरुलाई एक्लो महसुस गर्न दिएको छैन । त्रिपाल भित्र रहेका यी होटलहरुमा रात्रिको बास आरामदायी त हुन्छ नै तिब्बती र नेपाली परिकारहरुको स्वाद संगै सञ्चालकहरुको मिठो मुस्कान सहितको स्वागतले पर्यटकको मन लोभ्याउने गरेको छ । मधुरस पारखीहरुका लागि च्याङ्ग्राको सुकुटी र भोटे जनजातिले घरेलु प्रविधिबाट तयार पारेका विभिन्न थरीका मदिराको यस पदयात्रा मार्गमा पुग्नेहरुले प्रशंसा गर्ने गरेका छन् । 

क्याम्पिङ गरेर जाँदा पदयात्रामा निस्कदाँदा निकै खर्चिलो हुने गरेको छ । क्याम्पङिमा जाँदा त्रिपाल,सिलपिङ व्याग, खाद्यान्न तथा भाडाँकुडा लगायतका सामान बोक्दा भरिया खर्च दिनु पर्ने भएकाले यात्रा महंगो हुने गरेको थियो । अहिले सामान्य खर्च गरेर बस्ने हो भने उरै पदयात्राको लागी होटलमा बस्दा बिहानको नास्तादेखि साँझको खाना र आवास खर्च गरेर दैनिक १ हजार पाँच सय भए पर्याप्त हुने होटल सञ्चालक कलक रोकायाले बताए । 

धुपी सल्लाको दाउरामा पकाएको मिठो खानाले पदयात्रीहरुको थकान क्षण भरमै मेटाईदिन्छ । नेपाली परिकार दालभात, रोटी तरकारी देखि तिब्बतियन खाना बनाउन सिपालु यस क्षेत्रका होटल सञ्चालकहरु ग्राहकको सुन्तुष्टिको लागी पनि उत्तिकै ख्याल गर्ने गर्दछन् । 

यस्तो निर्जन ठाउँमा पनि राम्रो सेवा सुविधा दिएको छ एकदम राम्रो छ भनेर पदयात्रीहरुले प्रशंसा गर्ने गरेको अर्का होटल सञ्चालक महिमान तामाङले बताए । तिब्बतका ताक्लाकोटबाट ल्याइएका विभिन्न ब्रान्डको मदिरा र तिब्बती परिकार पदयात्रीको रोजाईमा पर्ने गरेको उनले बताए । दैनिक १० देखि १५ जना जति ग्राहक आइरहने भएका कारण होटल सञ्चालकका लागि पनि राम्रै फाइदा हुने गरेको उनको भनाई छ ।  

उनले भने ‘छ महिना पुरै बस्ने हो भने एक सिजनमा चार पाँच लाख जति कमाईन्छ । हिमाली जनजीवन, हिमालको दृश्यावलोकन, बाटोमा पर्ने विभिन्न ताल र झरनाको अवलोकन तथा उच्च स्थानमा पाइने जैविक विविधता र यहाँको धार्मिकस्थलको अवलोकन का साथै नेपाल चिन व्यापारको बारेमा जानकारी लिन पनि पछिल्लो समय विभिन्न क्षेत्रका पर्यटकहरु उरै भञ्ज्याङ सम्म पुग्ने गरेका छन् । 

उरै पदयात्रामा बाटोमा संचालन अस्थायि होटेल । तस्विर: मकरराज धामी


यस बिषयमा तपाइको प्रतिक्रिया...!