२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरका थारू बस्तीमा सखिया नृत्यको रौनकता

२०७४, ५ आश्विन बिहीबार ०८:४७

राजेन्द्रप्रसाद पनेरु। असोज ५, कञ्चनपुर। सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत सखिया नृत्यको रौनकता अहिले कञ्चनपुरका थारू बस्ती छाएको छ ।

श्री कृष्ण जन्माष्टमीका दिनदेखि शुरुवात गरेर दशैँसम्म गरिने यो नृत्यलाई थारू समुदायले हिजोआज गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी आयोजना गर्ने गरिन्छ । 

पहिला पहिला कम्तीमा एक महिनासम्म आयोजना गरिँदै आएको सखिया नृत्यलाई हाल छोट्याएर दशदेखि पन्ध दिनसम्म सिमित राखिएको पिपलाडीका थारू वडघर नरेन्द्रप्रसाद चौधरीले बताउनुभयो । 

“थारू गाउँका भलादमी, बडघर, गुरुवा, केसौको बैठक बसेर आजदेखि सखिया नृत्यकोे व्यवस्थापनको चाँजोपाँजो मिलाएका छौँ”, उहाँले भन्नुभयो । गुरुवा (झाँक्री)ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवायुवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरी यस नाचको प्रारम्भ गरिएको उहाँले बताउनुभयो । 

सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीच–बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बडघर चौधरीले बताउनुभयो । नृत्यमा गीत गाउने महिलाको अगुवाइ गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहिया र पछगोहिया भन्ने गरिन्छ । 

नृत्यमा मादलको तालसँगै विभिन्न मुन्द्रामा युवतीले नृत्य पस्कने गर्दछन् । जसलाई थारू भाषामा खोट (पैँया) भन्ने गरिएको थारू राजनीतिकर्मी दानसिंह दहितले बताउनुभयो । “पैँया २२ प्रकारका हुने गरेको भए पनि हाल मदारीले आफैँ सृजना गरेर पैँयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ”, उहाँले भन्नुभयो । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुन्द्रामा पेश गर्नुपर्ने हुन्छ । 

यस पौराणिक मनमोहित गर्ने नृत्यलाई हेर्नेको समेत थारू गाउँमा निकै भीड लाग्ने गरेको छ । दशैँको सप्तमीको दिनसम्म रातिको समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभरि आयोजना गरिन्छ । अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगेर्ना भन्ने गरिएको उल्लेख गर्दै थारू संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो, “यस दिन थारू समुदायले कुभिण्डोको भेडा बनाई बलि दिने परम्परागत चलने छ ।” 

पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रङ्गबिरङ्गी ऐना जडान गरेका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउने समेत गर्दछन् । अष्टमीको दिनपछि रातिमा नाचिँदै आएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ । दिउँसो पख् नाचिने सखिया नृत्यमा थारू युवतीले कृष्णको लीलालाई आफ्नै भाषमा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् । 

गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंश बध गरिएको प्रसङ्ग उल्लेख गरी परम्परागत तरिकाले आफ्नै लयमा गाइने गरिन्छ । यस नाचलाई दशैँका दिन धनी, गरिब, गाउँका मान्यजन सबैका घर–घरमा गएर देखाउने भएकाले विगतका रिसराग बिर्सी सबैले हेर्ने गर्दछन् । 

बडघरसँग टीका थाप्न जाँदासमेत सखिया लगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा छ । दशैँपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो । जसलाई थारू भाषमा ‘ख्यारा’ खाने भन्ने गरिएको उहाँले बताउनुभयो । 

यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दा बीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने चौधरीले बताउनुभयो । धार्मिक मान्यताअनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगब्याधी हट्ने र वर्षभरिका लागि अन्न खानपुग्ने विश्वास थारू समुदायमा छ । यसलाई अर्को शब्दमा थारू समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् । सखिया नृत्यको आयोजना गरेमा धर्ती जागेपछि प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा छ । 

थारू समुदायका पौराणिक धार्मिक मान्यता बोकेका गीत र नृत्य संरक्षणप्रति युवाले जागरुकता देखाउन थालेपछि संरक्षणमा टेवा पुगेको थारू सामाजिक कार्यकर्ता रेवन चौधरी बताउनुहुन्छ । 

उहाँले भन्नुभयो, “हराउँदै गएको संस्कृति जोगाउनका युवा पिँढी अगाडि सर्न थालेपछि थारू समुदायको पहिचान जोगिएको छ ।” सामूहिक रुपमा सबैका घर–घरमा गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पुर्याएको छ । धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै नृत्यको आरम्भ र अन्त्य गरिने भएकाले यस नृत्यमा थारू समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।    रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा