डा. खगेन्द्र घोडासैनी
दसैँ नेपालीहरुको महान चाड पर्व हो । यसका आध्यात्मिक, धार्मिक, ऐतिहासिक वा पौराणिक र नेपाली समाज सापेक्ष्य समाजिक अर्थहरुलाई निम्न लिखित रुपमा प्रस्तुत गरिएको छ – आध्यात्मिक अर्थमा दसैँ – मानिसले नौ ओटा इन्द्रियहरु (दुई नाक, दुई कान, दुई आँखा तथा प्रजनन र गुदा) का अधिनमा रहेर विभिन्न नराम्रा काम गरि रहेको हुन्छ ।
यिनै नौ ओटा इन्द्रियहरुलाई वशमा राखी काम, क्रोध, लोभ, मोह र अहङ्कार जस्ता गुणहरु त्यागेर इच्छा वा तृष्णा रहित भई दसौँ इन्द्रिय रुपी ज्ञानलाई प्राप्त गरेर दशमीका दिन मनाउने पर्व नै आध्यात्मिक रुपमा दसैँ भनेर चिनिन्छ । धार्मिर अर्थमा दसैँ – शक्तिको प्रतीक मानिएकी महाकाली, महालक्ष्मी र महासरस्वती देवीको पूजा र आराधना गरी उनीहरुलाई प्रसन्न गराएर आफ्ना सांसारिक इच्छा र मनोकामनाहरु पुरा भएको उत्सवको रुपमा दसैँ मानिन्छ । ऐतिहासिक वा पौराणिक रुपमा दसैँ – भगवान रामले रावणको वध गर्न शक्ति स्वरुपा देवीको आराधना गरेर दशमीका दिन विजय प्राप्त गरेको प्रसङ्गका कारण दसैको ऐतिहासिक वा पौराणिक अर्थमा विजयको अर्थ लाग्छ ।
नेपाली समाज सापेक्ष्य सामाजिक अर्थमा दसैँ – नेपाली समाजमा दसैँ भनेको आध्यात्मिकता, धार्मिकता, ऐतिहासिकता वा पौराणिकता केही पनि देखिँदैन । नेपाली समाजमा दसैको अर्थ राम्रो लगाउने, मिठो खाने, घुम्ने, पूर्ण भौतिकवादी र भोगवादी चिन्तन हावी भएको देखिन्छ । अघि पछि बाघ, गैँडा, हात्तीको संरक्षणको नारा दिने नेपालीहरु दसैँमा असंख्या जीवहरुको हत्या गरेर आफूहरुले धर्म गरेको भगवती खुसी भएको स्वाङ्ग पारेर पाखण्डी धर्म गरि रहेका देखिन्छन् । नेपालको सरकारले पनि यसमा लाल मोहर लगाएर काठमाडौको बसन्तपुरमा दसै घर बनाई सरकारी रकमबाट बली दिने गरेको छ । जबकि यो धार्मिक रुपमा, आध्यात्मिक रुपमा दसै मनाउने नागरिकहरुका विरुद्ध छ ।
त्यसैले नेपाली समाज समापेक्ष्य दसैँ आपसी भेटघाट र जीवहत्या गरी मोजमजा गर्ने पर्वका रुपमा देखिन्छ । त्यसैले दसैँ जीव हत्या गरेर होइन जीव कल्याण र आत्मकल्याणका लागि मनाइनु पर्दछ र सरकारले पनि जीव हत्या गर्ने कार्य बन्द गर्नु पर्दछ ।