बैशाख १०, कालिकोट । बदालकोट गाविसको वडा नं. १ बरातु सामुदायिक बनमा आगलागी हुदा करोडौंको जडिबुटी जन्य बस्तु तथा खोटो जले नष्ट भएको छ । बुधवार देखि लागेको आगोले सामुदायिक बनमा रहेको पाखन बेद, जटामसी, बनचुते, चिराइतो, गुर्जो, जस्ता विभिन्न जडिबुटी नस्ट भएको हो भने बागेश्वरी खोटो कम्पनीले संकलन गरेको लाखौं मुल्य बरावरको खोटो जलेर नष्ट भएको हो ।
आगलागीका कारण बरातु सामुदायिक बनहुदै ल्याएको पिउने पानी तथा सिचाई पानीको पाईप जलेर नष्ट भएर गएको छ । पाईप जलेर नस्ट हुदा पिउने पानी र तरकारी खेतीमा सिचाई गर्ने पानीको समस्या आएको बरातु सामुदायिक बनका अध्यक्ष मिन बहादुर रोकायाले बताउनु भएको छ ।
चुलिमालिका सामुदायिक बन मान्मको सल्लीबारी बाट बरातु सामुदायिक बनमा लाग्दा सबै सामुदायिक बन आगलागीबाट सखाप भएको रोकायाले बताउनु भएको छ । चेत्र बैशाखको खडेरीका कारण खुख्खा बनजंगल भएको र बुधबार रातीको समय बनमा आगो प्रबेश गरेका कारण आगो नियन्त्रण गर्न नसकी पुरै बन सखाप भएको रोकायाले बताउनु भयो ।
आगलागीका कारण बेमौसमी तरकारी तथा फलफुल उत्पादनमा जिल्लाकै एक प्रमुख श्रोतको रुपमा लिइने बरातु गाउमा सिचाई पानीको अभाव हुदा तरकारी तथा फलफुल खेती सिचाइमा समस्या रहेको स्थानीय अगुवा कृषक तारा गिरीले बताउनु भएको छ ।