२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

भेरी करिडोर निर्माणसँगै त्रिदेशीय नाका खुल्ने

५ असार २०७५, मंगलवार १०:५७

हेमन्त केसी/असार ५, जाजरकोट | दुई किलोमिटर सडक निर्माण कार्य पूरा गर्ने बित्तीकै डोल्पा सदरमुकाम दुनैमा यातायातका साधन पुग्ने छन् । 

जाजरकोट–डोल्पा सडक निर्माण शुरुवात गर्दा दुई वर्ष जाजरकोट भएर डोल्पा जोड्ने कि रुकुम भूभाग भएर जोड्ने भन्ने रेखाङ्कन विवाद भएको थियो । यही विवादका कारण निर्माण अवरुद्ध भएर २०६६ देखिमात्र पुनः रेखाङ्कन निर्धारण भई सडक निर्माण कार्य शुरु गरिएको थियो । 

भेरी करिडोरअन्तर्गत रहेको यस सडकखण्डको ११७.५ किलोमिटर सडकमध्ये ११५.७ किलोमिटर निर्माण पूरा भएको छ । जाजरकोट–डोल्पा सडक निर्माण २०६५ सालदेखि शुरु भएको थियो । 

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको ११७ दशमलव ५ किलोमिटर लम्बाइ रहेको निर्माणाधीन जाजरकोट डोल्पाको सडकमध्ये हालसम्म ११५.७ किलोमिटर सडकको मार्ग खोल्ने काम सम्पन्न भई हलुका सवारीसाधन जिप र ट्र्याक्टर सञ्चालनमा आइसकेका छन् । 

यातायात सञ्चालनमा ल्याइएसँगै वर्र्षौंदेखिको सडक सञ्जालमा जोडिने डोल्पालीको सपना विस्तारै पूरा हुँदै गइरहेको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, ६ र १ मा पर्ने सिउडेनी चिप्लेभिरदेखि धाउन्ने चुगाडसम्मको दुई किलोमिटर सडक मार्ग खोल्न कडा चट्टान छिचोल्दै सडक निर्माण कार्यलाई नेपाली सेनाले तीव्रता दिएको छ । 

डोल्पालीले यातायात नहुँदा खेप्नुपरेको समस्यालाई मध्यनजर राख्दै त्रिवेणी करोपगाड हुँदै खदाङको हरियापानीसम्मको सडकखण्डमा जिप ट्र्याक्टरलगायत हल्का सवारीसाधन र खदाङदेखि चिप्लेभिरसम्मको सडकखण्डमा ट्र्याक्टर सञ्चालनमा ल्याइएको नेपाली सेनाका जाजरकोट–डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताउनुभयो । 

डोल्पा भूभागमा पर्ने त्रिवेणी करोपगाड हुँदै खदाङसम्मको १५ किलोमिटर सडकमा यातायात सञ्चालनमा ल्याइएसँगै नेपालगञ्ज–डोल्पाको यात्रासमेत छोटिएको छ । निर्माणाधीन जाजरकोट–डोल्पा सडकको चिप्लेभिरदेखि धाउन्ने चुगाँडसम्मको बाँकी दुई किलोमिटर चट्टाने भिर खोल्ने कार्य भदौ महिनाभित्रमा सम्पन्न गरी असोजको पहिलो सातामा सडक सम्पन्न गरेर २०७५ को दशैँ र तिहारमा त्रिपुरासुन्दरी नगरपालिका हुँदै सदरमुकाम दुनैसम्मलाई राष्ट्रिय सडक सञ्जालमा जोडिने नेपाली सेनाले जनाएको छ । जाजरकोट–डोल्पा निर्माणाधीन सडक राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको छ । 

भारतको रुपैडिहा जमुना नाका हुँदै उत्तरी चीन सीमा नाका डोल्पाको धोमोरिम्लासम्मको सडकलाई भेरी करिडोर नामकरण गरेर राष्ट्रिय प्राथमिकतामा राखिएमा त्रिदेशीय पारवहन सेवामा समेत सजिलो हुने भएकाले पनि छिन्चु–जाजरकोट–डोल्पा सडक त्रिदेशीय महत्वको सडकका रुपमा रहेको छ । 

जडीबुटीको भण्डारका रुपमा रहेको डोल्पा सडक सन्जालसँग जोडिएमा जडीबुटी निर्यातमा सहज भई डोल्पाली आर्थिक समृद्धितर्फ लम्किने कर्णाली प्रदेशका सभासद् वदमीक्वारा बुढाको भनाइ छ । प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि प्रचारप्रसार र यातायातको अभावमा आझेलमा परेको शे–फोक्सुण्डो ताल भारतीय राजदूतावासको सहयोगमा निर्माण गरिएको त्रिपुरासुन्दरी नगरपालिकामा रहेको श्रीवाला त्रिपुरासुन्दरी भगवतीको मन्दिरसमेत रहेकाले सडक सञ्जाल पुगेपछि भारतीय तथा तिब्बती पर्यटक डोल्पा पुग्ने विश्वास स्थानीयवासीको छ । 

पाँचवटा ठूला र पाँचवटा साना मोटरेबल पुल नबनेसम्म सडक निर्माण सम्पन्न हुने अवस्था नरहेको डोल्पाका पत्रकार विष्णुलाल बुढाले बताउनुभयो । 

चीन र भारतलाई भेरी करिडोरले जोड्ने 

भारतको रोपैडिया जमुनाहदेखि शुरु भएको सो सडक डोल्पाको धो मरिम्ला चीनको सिमानासम्म पुग्नेछ । सो सडकको त्रिदेशीय महत्व छ । कर्णाली प्रदेशको सबभन्दा महत्वपूर्ण सडकका रुपमा रहेको उक्त सडक एक वर्षभित्र दुनै पुग्ने विश्वास डोल्पाकी सांसद सत्या पहाडीको छ । बजेट न्यून रहेका कारण डोल्पाको विकास हुन नसकेको उहाँको भनाइ छ । भौगोलिकरुपमा टाढा र सामग्रीको मूल्यभन्दा ढुवानीको मूल्य बढी पर्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य