साउन १४, सुर्खेत, १३ साउन । बढ्दो सवारी चापले कर्णालीको राजधानीमा वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । कर्णाली प्रदेशको स्थायी राजधानी सुर्खेत तोकिएसंगै बढेको जनघनत्व, सवारी चापअनुसार पार्किङस्थलको अभाव र बसपार्क निर्माणमा ढिलाईले ट्राफिक व्यवस्थापन चुनौती बनेको हो ।
राजधानीको व्यस्त मंगलगढी चोकमा अवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । राजधानीका सडकहरुमा निर्वाध रुपमा सवारी गुडाउन आफुखुशी स्पिड ब्रेकरहरु राखिएको, चौकमा अव्यवस्थित पार्किङ, अटोरिक्साहरुको मनोमानी पार्किङ, सडकमा अवस्थित निर्माण सामग्री राख्नु, ट्राफिक संकेतको अभाव र अधिकार सम्पन्न यातायात कार्यालय नहुनुले पनि वीरेन्द्रनगरमा ट्राफिक व्यवस्थापन चुनौती बनेको जिल्ला ट्राफिक कार्यालय सुर्खेतको एक अध्ययनले देखाएको छ ।
कर्णालीको प्रदेश राजधानी घोषणा भएसंगै वीरेन्द्रनगरमा गुड्ने सवारी साधनको संख्या २० हजार नाघेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगरमा मोटरसाइकिलको संख्या धेरै छ । वीरेन्द्र्रनगरमा १७ हजार ३ सय ५८ मोटरसाईकल रहेको तथ्याङ्क ट्राफिकसंग छ । वीरेन्द्रनगरमा १ सय ९४ कार र जीपको संख्या छ भने ३ सय ३२ वटा ट्रक र टिपरहरु वीरेन्द्रनगरमा छन् ।
त्यस्तै १ सय ६५ वटा पावल टेलर, २३ वटा जेसिवी, बस र मिनी बसको संख्या ५ सय २८, ट्याक्टर ४ सय ७४ र १ हजार १ सय अटोरिक्सा वीरेन्द्रनगरमा रहेको तथ्याङ्क छ ।
सुर्खेतमा तीन खाले सडक छन् । जिल्लाको कुल ४ सय ८५ किलोमिटर सडकमध्ये ३ सय ३५ किलोमिटर पक्की, ६७ किलोमिटर सडक ग्राभेल र ७३ कलिोमिटर सडक कच्ची छ । जिल्लाका सबै सडकहरुमा मौसमअनुसार सवारी साधनहरु गुड्ने गरेका छन् ।
कर्णालीको राजधानी घोषणा भएसंगै वीरेन्द्रनगरको सडकको स्तरोन्नतीको अपेक्षा गरिए पनि यहाँका सडकहरु भने झन्झन नाजुक बन्दै गएका छन् । ‘वीरेन्द्रनगरमा दिनदिनै सवारी साधनको चाप बढ्दो छ’ जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रमुख हरीबहादुर विसीले भने, ‘यहाँको ट्राफिक व्यवस्थापनलाई दिर्घकालिन रुपमै सम्बोन्धन गर्न सबै पक्ष समयमै सचेत हुन जरुरी छ ।’
सिमित स्रोत साधनले सबै ठाउँमा ट्राफिक पुग्न नसक्नुले दुर्घटना न्युनिकरणको प्रयासले सार्थकता पाउन नसकेको ट्राफिक प्रमुख बिसीले बताए । प्रदेश राजधानी रहेको सुर्खेतमा ट्राफिक प्रहरी कार्यालयसहित ८ स्थानमा मात्र अस्थायी ट्राफिक पोष्ट छन् । २३ जनाको दरबन्दी रहेको सुर्खेत ट्राफिक कार्यालयमा हाल ३३ जना पु¥याइएको भए पनि ट्राफिक प्रहरीको सामान्य दुर्घटना पनि रोकिन नसकेको विसीले बताए । ‘जिल्लामा हुने सवारी दुर्घटनालाई न्युनिकरण गर्न यातायात समिति र सवारी चालकहरुसंग छलफल गर्दै आएका छौं’ उनले भने ।
यसैबीच, कार्यालयको पछिल्ला तीन आर्थिक वर्षको दुर्घटनाको तथ्याङ्क केलाउने हो भने सवारी साधन दुर्घटनाको दर बढ्दो क्रममा छ । तीन वर्षको अवधीमा १ सय ७१ सवारी दुर्घटनामा ७६ जनाको मत्यु भएको छ भने १ सय ६८ जना शक्त र ४ सय २९ सामान्य घाइते भएको ट्राफिकको तथ्याङ्क छ ।
आर्थिक वर्ष ०७२/०७३ मा ४२ दुर्घटनामा २४ जना, आर्थिक वर्ष २०७३/०७४ मा ५१ सवारी दुर्घटनामा १७ जनाले ज्यान गुमाएका छन् भने आर्थिक वर्ष २०७४/०७५ मा भएका ७८ सवारी दुर्घटनामा ३५ जना शक्त घाइते र २ सय ६० जना सामान्य घाइते भएका छन् । ट्राफिक कार्यालयले तीन वर्षमा ४५ हजार ९ सय ६४ सवारी साधनलाई कार्वाही गरेर १ करोड ८१ लाख ६ हजार राजश्व संकलन गरेको जनाएको छ ।