गणेश सिर्पाली/वैशाख–८, रुकुम । हँसिया प्रहार गरी सासुको हत्या गर्ने बुहारीलाई रुकुम प्रहरीले पक्राउ गरेको छ । सासु ७२ बर्षिय बिष्णु कुमारी खत्रीको हत्या गर्ने रुकुम मग्मा ५ की १८ वर्षिय सुनिता खत्रीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
माईत जान्छु भन्दा सासुले गाली गर्दै फलामको चिम्टाले हानेको र सोही रिसको झोकमा हँसियाले २ पटक टाउकोमा हान्दा घाईते भई छटपटाई रहेको अवस्थामा सासुको घाटी थिचि हत्या गरेको बयान दिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक रुपेश खड्काले जानकारी दिनुभयो । सुनिताले आफुले नै हत्या गरेको स्विकार गरिसकेको पनि डिएसपी खड्काले बताउनुभयो । सासुको हत्या गरी छिमेकी जेठाजु नाता पर्ने लाल बहादुर खत्रीलाई मेरो सासुलाई कसैले मारेको छ भन्दै झुठा खवर फैलाउने सुनितालाई पक्राउ गरी सुक्ष्म अनुसन्धान गरिएको प्रहरीको भनाई छ । सुनिताले हत्या गरेको स्विकारेको र घटनास्थलबाट बरामद भएको सबुदका आधारमा उनले नै हत्या गरेकाले जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भैरहेको समेत प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै घटनामा प्रयोग भएको हँसिया सुनिताले आफ्नो कोठामा लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेको छ । सुनिताले गत बैशाख ५ गते राती ८ बजेको समयमा सासु बिष्णु कुमारीको हत्या गरेको बताईएको छ ।