नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापनाले सुरक्षा मजबुत

Posted on: 27 Nov, 2018

मङ्सिर ११, बेत्रावती | नुवाकोटका सबै स्थानीय तहमा प्रहरी एकाइ स्थापना भएपछि जिल्लामा आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सहज भएको छ । 

केन्द्रमा स्थापित कार्यालय र बढ्दो बजारीकरणसँगै एकाइको स्थापनाले सुरक्षा व्यवस्था मजबुत बनाउन सफलता मिलेको जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । 

स्थानीय तहअनुसार सुरक्षा रणनीति बनाएको प्रहरीले पछिल्लो समय जिल्लाको बेलकोटगढी नगरपालिकाको बाघखोर, तार्केश्वर गाँउपालिकाको दाङसिंह, शिवपुरी गाउँपालिकाको शेराबगर र पञ्चकन्या गाउँपालिकाको लाकुरीभञ्याङ्मा नयाँ एकाइ स्थापना गरेको छ । काठमाडौँसँगैको सीमालाई दृष्टिगत गरी गुज्रेभञ्याङ्मा पनि नयाँ एकाइ स्थापना भएकोे छ । 

लाकुरीभञ्याङ्मा ‘क’ वर्गको इलाका प्रहरी कार्यालय र अन्य स्थानमा अस्थायी प्रहरी चौकी स्थापना भएका हुन् । प्रहरी प्रमुख कुँवरका अनुसार नयाँ स्थानमा स्थापना भएका एकाइले तोकिएको कार्यक्षेत्रभित्र सुरक्षा व्यवस्था चुस्त बनाउन पहल गर्दै आएको छ । 

नेपाल प्रहरीले सञ्चालन गरेको ‘समुदाय–प्रहरी साझेदारी अभियान’, ‘टोलटोलमा प्रहरी, प्रहरी मेरो साथी’लगायत कार्यक्रमलाई बस्ती तथा टोलसम्म पु¥याएर जनतासँग प्रहरीलाई नजिक बनाउन समेत अवसर मिलेको छ । नयाँ स्थानमा स्थापित एकाइ भने टहरा र भाडाको घरमा कठिनाइका साथ काम गर्दै आएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!