मङ्सिर २७, विदुर । नुवाकोट सदरमुकाममा मङ्गलबार मध्यराति एक वृद्धामाथि बलात्कार गरी हत्या प्रयास भएको घटना सार्वजनिक भएको छ ।
विदुर नगरपालिका-३ की महिला बेलकोटगढीस्थित माइतीबाट फर्कँदै गरेको अवस्थामा गाउँकै एक पुरुषबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भीमलाल भट्टराईले जानकारी दिए ।
राति १० बजे छिमेकी ५० वर्षीय रामशरण नेपालीले जबर्जस्तीकरणीपछि हत्या प्रयास गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालयमा बुधबार उजुरी दर्ता भएको छ ।
प्रहरीका अनुसार ती पुरुषले बलात्कार गरेपछि घटना सार्वजनिक हुने डरले वृद्धाको हत्या प्रयास गरेका थिए । तर, वृद्धा प्रतिकारका लागि हारगुहार गरेपछि हत्या हुनबाट जोगिएकी थिइन् ।
हाल उनको काठमाडौँस्थित वीर अस्पतालको ट्रमा सेण्टरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
यता अभियुक्त नेपालीलाई बुधबार नै नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिहेको र जिल्ला अदालत नुवाकोटमा मुद्दा दर्ताको तयारी गरिएको प्रहरीले बताएको छ ।