पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>फागुन २३, लम्की (रासस) | </b>चितुवाको आक्रमणबाट कैलालीको टीकापुरमा आज प्रहरी जवानसहित तीन जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान देविभक्त धिताल, १५ वर्षीय सम्राट शाह र ८० वर्षीय शेरबहादुर विक घाइते भएका हुन् । <br></p><p>टीकापुर–१ खड्ग मेमोरियल बोर्डिङ स्कूल नजिक चितुवाले उनीहरुलाई आक्रमण गरेको हो । घाइते तीनै जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । धितालको घाँटी, हात र ढाडमा घाउ रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो । शाहको निधार र टाउकोमा तथा विकको घुंडामा घाउ छ । </p><p>चितुवा नियन्त्रणको प्रयास जारी छ । प्रहरीले चितुवालाई चारैतिरबाट घेरा हालेको छ । </p>

